लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन।
महोत्सबलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि नौ सदस्यीय निर्देशक समिति, चालिस सदस्यीय महोत्सव सल्लाहकार समिति र विभिन्न ४८ वटा उपसमिति, १ सय ५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । यस पटक महोत्सबमा ३ सय ३६ वटा स्टल रहने र दुई लाख पचास हजारभन्दा बढि दर्शकले महोत्सब अवलोकन गर्ने अनुमान गरिएको छ।
बिगतको लेखनाथ महोत्सबमा सहभागी दर्शकहरु
महोत्सबमा करिब नौ करोड रुपैयाको ब्यापारिक कारोबार हुने अनुमान गरिएको समेत आयोजकले जानकारी दिएका छन। महोत्सवबाट करिब ९० लाख रुपैया आम्दानी हुने भएपनि महोत्सव सम्पन्न गर्नका लागि नै ८० लाख रुपैया खर्च हुने अनुमान समेत लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीले गरेका छन।
महोत्सव स्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा, एक सय भन्दा बढि माछाका प्रजातीहरु, महिलाहरुको क्षमता अभिवृद्धिका हाजिरी जवाफ प्रतियोगिता समेत महोत्सवका क्रममा हुने छ। राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु महोत्सबमा पुग्ने दर्शकको लागि आकर्षण बन्ने आयोजक हरुको भनाई छ।
(बिगतको बालउद्यान पार्कमा रमाउंदै बालबालिका र अभिभावकहरु)
यसको साथै बिभिन्न जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु महोत्सबमा समेटिने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।
महोत्सव अन्तर्गत हुने विद्यालय स्तरीय कार्यक्रम अन्तर्गत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको र उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलमा विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ । महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकार तथा संचारकर्मीहरु
महोत्सवबाट आम्दानी भएको रकम प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती गर्नुको साथै औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग गर्ने, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको बिकासमा सहयोग गर्ने आयोजकको भनाई छ। यसैगरि बेगनासतालमा रहेको बराह मन्दिर संरक्षणमा सहयोग गर्ने, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रबर्द्दनका लागि कोसेली घरको निर्माण गर्ने, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण गर्ने लगायतका काममा कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा सहभागी गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए । उनले महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित बस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठ
यस्तै महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन, लेखनाथ क्षेत्रको पर्यटन प्रबर्दन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको प्रबर्दन गर्न, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्दन गर्न, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न, जातीय भेषभुषा, कला संस्कृति र रितिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षित गर्न महोत्सव सफल हुँदै आएको जानकारी दिईन ।
लेखनाथ उद्योग बाणिज्य संघका महासचिब जानुका पराजुली अधिकारी
यस्तै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रममा जोड दिएका थिए भने प्रायोजहरुको तर्फबाट सगरमाथा लुम्बिनि ईन्स्योरेन्स कम्पनीका लेखनाथ शाखा प्रमुख शंकरराज तिवारीले महोत्सवले आर्थीक उपार्जनको साथमा ब्यवसायिक ज्ञानका बारेमा पनि जानकारी गराउनु पर्नेमा जोड दिएका थिए।
महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको बताए। संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–महासचिव भरतराज ओझाले गरेक थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष माधव बराल र गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने वताउँदै संघले २० औ वर्ष देखि अगाडी सारेको नाराले न्याय भएको छ त ? भनेर प्रश्न गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रबर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
महोत्सबस्थलमा आयोजकहरु