पोखरा, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य सुनिता थापा अष्ट्रेलियास्थित अपाङ्गता तथा बहिरा अधिकार सम्बन्धी संस्था ‘डेफ भिक्टोरिया’ को निमन्त्रणामा अष्ट्रेलिया जाने भएकी छन। विश्वका बिभिन्न मुलुकमा रहेका थोरै बहिरा सांसदहरू मध्येकी एक थापाले यहि साउन १५ गतेदेखि साउन २६ गतेसम्म अष्ट्रेलियाको बिभिन्न स्थानमा सञ्चालन हुने विभिन्न कार्यक्रम र संवादमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले भिक्टोरिया संसद् भवनकोअवलोकन गरी त्यहाँका सांसदहरूसँग समावेशी लोकतन्त्र, अपाङ्गता अधिकार तथा संसदीय अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्ने, सन् १९८२ देखि भिक्टोरियामा बहिरा, दृष्टिविहीन तथा सुस्तश्रवण भएका व्यक्तिहरूको हक हितमा कार्यरत संस्था ‘डेफ भिक्टोरिया’का पदाधिकारी, बोर्ड सदस्य तथा प्रतिनिधिहरूसँग छलफल एवं अन्तरक्रिया गर्ने, नेपालमा बहिरा प्रदेश सभा सदस्यको रूपमा हासिल गरेको अनुभव, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी नीति निर्माण र नेतृत्व विकासबारे अष्ट्रेलियाली बहिरा समुदाय तथा अधिकारकर्मीहरूमाझ नेपालको तर्फबाट प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।
यसका साथै सन् १८६० मा स्थापना भएको ऐतिहासिक भिक्टोरियन कलेज फर द डेफ, डेफ चिल्ड्रेन अष्ट्रेलिया लगायतका संस्थाहरूको भ्रमण गरी त्यहाँ भइरहेका प्रविधि र पहुँचयुक्त शिक्षाका अभ्यासहरूको अवलोकन गर्ने, अष्ट्रेलियन डिसाबिलिटी एन्ड डेभलपमेन्ट कन्सोर्टियम लगायतका अन्तर्राष्ट्रियस्तरमा अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाहरू र प्रतिनिधिहरूसँग समावेशी विकासबारेमा छलफल हुने छ।
यसैबीच प्रदेश सांसद थापाले गुरुकुल खबरसंग कुरा गर्दै नेपालको बहिरा तथा अपाङ्गता अधिकार र समावेशी लोकतन्त्रको अभ्यासलाई अष्ट्रेलियामा प्रस्तुत गर्न पाउनु गर्वको विषय रहेको भन्दै भ्रमणबाट प्राप्त हुने ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समावेशी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा उपयोग गर्ने लक्ष्य राखेको बताइन ।
उनले यस अगाडी पनि बहिरासंग सम्बन्धित बिभिन्न अन्तराष्ट्रिय कार्यक्रममा पटक पटक सहभागिता जनाएकी छन ।















