पोखरा, नेपाल पर्यटन बोर्ड (एनटिबी) का नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा पूर्वाधारभन्दा प्रवर्द्धन र डिजिटल बजारीकरणमा पर्यटन बोर्डले प्राथमिकता दिने बताएका छन् । बोर्डमा सदस्यहरुको पदबहाली भएपछि बसेको बोर्डको बैठक र भावी योजना बारेमा जानकारी दिन पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले अबको प्राथमिकता पर्यटनको प्रचारप्रसार र पर्यटकका लागि आवश्यक न्यूनतम सेवा सुविधाहरूको व्यवस्थापन गर्ने तर्फ रहने बताए ।
‘हिजोका दिनमा पूर्वाधार विकासमा बोर्डले पनि धेरै लगानी गर्यो तर अब बोर्डले आफ्नो स्रोत र साधनलाई प्रभावकारी बजारीकरणमा केन्द्रित गर्ने भएको छ।’ उनले भने हाल बोर्डमा बजेट पारित नभएका कारण धेरै कामहरू रोकिएको र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति पनि तत्कालै गर्नुपर्ने आवश्यकता रहेको बताए । आगामी साता बस्ने बैठकले यी सबै प्रशासनिक र नीतिगत अन्योललाई चिर्दै बोर्डलाई गति दिने बिश्वास उनले व्यक्त गरे ।
उनले १०–१५ वर्ष पुराना प्रचार सामग्रीहरूलाई विस्थापित गरी नयाँ र व्यावसायिक सामग्री निर्माणमा बोर्डले लगानी गर्ने योजना सुनाए । यसका लागि अन्तर्राष्ट्रियस्तरका ब्लगरहरू र विभिन्न देशका ट्राभल एजेन्टहरूलाई नेपाल आमन्त्रण गर्ने र उनीहरूमार्फत नै नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार गराउने रणनीति बोर्डले तय गरेको उनको भनाई थियो ।
पर्यटन मन्त्रीको चाहना अनुसार ‘वेलनेस’ र आध्यात्मिक पर्यटनलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको उनले बताए । पोखरा र यसको आसपासका क्षेत्रलाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न बोर्डले अध्ययन सुरु गर्ने र व्यवसायीका समस्यालाई मन्त्रालयसम्म पुर्याउने पुलको रूपमा आफूहरूले भूमिका खेल्ने पोखरेलको भनाई थियो ।















