Play

जयश्री फूड्स प्रालिको डिलर्स मिट, ग्राहक र डिलरको हित अनुसार उत्पादन र बजारीकरण गरिने

जय श्री ग्रुप अन्तर्गत जय श्री च्यारिटी मार्फत विभिन्न सामाजिक काम गरिंदै, निशुल्क आँखा अस्पताल बनाउने लक्ष


गुरुकुल खबर


पोखरा,  सर्बसाधारणको दैनिक उपभोग्य बस्तुको रुपमा रहेका चामल, चिउरा , मैदा, आटा, मस्यौरा लगायतका बस्तुहरुको उत्पादक जय श्री फूड्स प्रालिले आफ्ना आधिकारिक बितरकहरुलाई पोखरामा भेला गराएर आफ्नो नयाँ उत्पादनको बारेमा जानकारी गराउनुको साथै बितरकहरुलाई थप उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।

गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका -९ मा करिब १३ बर्ष अगाडी स्थापना भएको जय श्री फूड्स प्रालि अन्तर्गत संचालित राइस मिल, चिउरा मिल लगायतका उद्योगहरुबाट मङ्गलम, माइतीघर, भान्साघर नाममा विभिन्न गुणस्तरको चामल, चिउरा, आटा, सुजी, चक्की आटा लगायतका उपभोग्य सामानको उत्पादन हुँदै आएको छ।

कम्पनिका महाप्रबन्धक अमित अग्रवालका अनुसार पुर्बी नेपालको बिराटनगरबाट ब्यबसायिक गतिविधि शुरु गरेका ब्यबसायी पवन अग्रवालले त्यस पछि झन्डै साढे दुई दशक  काठमाडौँ र पछिल्लो समय गैंडाकोटलाई नै आफ्नो मुख्य कर्मस्थल बनाएर जय श्री फूड्स प्रालिको स्थापना गरि संचालनमा ल्याएका हुन ।

देशको विभिन्न शहरमा जय श्री फूड्सको उत्पादनको बिक्रि वितरण गर्दै आएका  करिब पांच सय ब्यबसायीहरुलाई ‘ दशौँ डिलर्स मिट’ कार्यक्रमको नाममा कम्पनिले आफ्नो खर्चमा पोखरा बोलाएर दुईदिन सम्म बिशेष कार्यक्रम गरेको हो। ब्यबसायीहरु बीच सौहार्दता कायम गर्ने, कम्पनीका उत्पादनको प्रबर्दन गर्ने, समस्याहरुको पहिचान गरि समाधानमा केन्द्रित हुने साथै विभिन्न स्थानबाट पोखरा आएका ब्यबसायीहरुलाई मनोरन्जनात्मक कार्यक्रम सहित प्राकृतिक सुन्दरताको दृश्याबलोकन समेत गराइएको थियो।

कम्पनीले प्रत्येक वर्ष डिलर्स मिट कार्यक्रम गर्दै आएको भएपनि हाल सम्म ८ वटा कार्यक्रम पोखरामा नै सम्पन्न भएको र अरु दुईवटा कार्यक्रम चितवनको सौराहामा गरिएको बताइएको छ। देशभरका अधिकांश व्यवसायीको रोजाईको स्थान पोखरा हुने भएकोले व्यवसायीको चाहना अनुरुप नै पर्यटकीय शहर पोखरामा कार्यक्रम गरिएको महाप्रबन्धक अग्रवालले जानकारी दिए।

(पोखरामा आयोजित जय श्री डिलर्स मिट -२०२४ मा सहभागी ब्यबसायी एबम अतिथिहरु) 

पुर्बी नेपालका विभिन्न शहरसहित लुम्बिनी प्रदेशको बुटवल, भैरहवा सम्म्मका डिलरहरुलाई पोखरामा आमन्त्रण गरि कम्पनीको विभिन्न उत्पादनहरुको बारेमा हालको अबस्था र आगामी दिनमा कम्पनीले  गर्ने नयाँ उत्पादनको बारेमा समेत कार्यक्रममा जानकारी गराइएको थियो। जय श्री ग्रुप अन्तर्गतको जय श्री फूड्स प्रालिको दशौँ डिलर्स मिट कार्यक्रम अन्तर्गत पोखराको ग्रान्ड होटलमा सम्पन्न उक्त कार्यक्रममा पोखरा बाहिरबाट मात्र चार सय भन्दा बढी ब्यबसायी सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै जय श्री ग्रुपका अध्यक्ष तथा निर्देशक पवन अग्रवालले उपभोक्ताको हित अनुसार गुणस्तर कायम गरेर कम्पनीले विभिन्न उपभोग्य बस्तुहरुको उत्पादन गर्दै आएको र आगामी दिनमा पनि गुणस्तर कायम गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले आम उपभोक्ता समक्ष सुपथ मुल्यमा सहज ढंगले कम्पनीको उत्पादन पुर्याउन सक्नु नै कम्पनीको सफलता हुने भन्दै त्यसको लागि देशभरका डिलर ब्यबसायी साथीहरुको रचानात्मक सुझाब र सहयोग आबश्यक पर्ने कुरामा जोड दिए। “ग्राहकको सन्तुष्टि र डिलर साथीहरुको हितमात्र नभएर गुणस्तरीय उत्पादन लाई हामीले सदैब प्राथमिकतामा राख्दै आएका छौं” अग्रवालले भने।

कार्यक्रममा सहभागीको तर्फबाट मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका कृष्ण अग्रवाल, त्रिशुलीबाट आएका ब्यबसायी पुरुषोत्तम कार्की, राष्ट्रिय महिला आयोगका सदस्य बिजय गुप्ता र नेपाल प्रहरीका पुर्व डीआइजी मिक्मार लामा लगायतले जय श्री फूड्सका उत्पादन आम नेपालीहरु माझ लोकप्रिय रहेको भन्दै आम सर्बसाधारणलाइ लक्षित गरि थप उत्पादन बजारमा ल्याउन शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न क्लस्टर छुट्याएर लक्की ड्र मार्फत सहभागी ब्यबसायी तथा डिलरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएकोल बताउंदै सोहि कार्यक्रममा सहभागी साल्ट ट्रेडिगको प्रधान कार्यालयका अधिकृत प्रज्वलमान प्रधानले कम्पनीले आफ्ना डिलर र उपभोक्ताको सन्तुष्टिको लागि राम्रा काम गर्दै आएको बताए।

जय श्री च्यारिटी मार्फत बिबिध सामाजिक कार्य, निशुल्क आँखा अस्पताल बनाउने अग्रवालको लक्ष 

जय श्री फूड्स प्रालिका निर्देशक तथा संचालक पवन अग्रवाल पछिल्लो समय आफैं दृष्टि बिहिन बनेका छन। बाल्य- कालमा उनको आँखाको दृष्टि राम्रो रहेपनि बिस्तारै उनको दृष्टि क्षमता कमजोर बन्दै गएको हो। उमेरले सात दशक पार गरेका पवन अग्रवालको दृष्टि कमजोर हुँदै गएपनि उनि आफ्नो काम र ब्यबसाय प्रति लगनशील अनि अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाबाट भने सदैब प्रेरित छन।

उनको दृष्टि क्षमता कमजोर हुँदै जानुको पछाडी बंशानुगत अबस्था रहेको अनुमान कतिपयको छ। उद्योगी पवनको ब्यबसायमा लामो समय काम गरेर हाल जय श्री फूड्स प्रालिको फेक्ट्री इन्चार्ज रहेका प्रकाश घिमिरेका अनुसार अग्रवालका छ जना दाजुभाई र छ जना दिदि बहिनि मध्ये तिन जना दाजुभाई र तिन जना दिदि बहिनीको दृष्टि उमेरसंगै घट्दै गएर गुमेको छ। “केहि वर्ष अगाडी अग्रवाल आफैले मोटर साइकल चलाएर यात्रा गर्न सक्थे, तर अहिले सामान्य हिडडुल गर्न पनि सहयोगीको खाँचो पर्छ। तर कुनै मानिससंग एकपटक कुराकानी भएको छ भने त्यसलाई सम्झिन सक्ने क्षमता अग्रवालसंग अत्यन्त धेरै छ।” घिमिरेले गुरुकुल खबर संग भने।

(उद्योगी पवन अग्रवाल बिचमा, साथमा साल्ट ट्रेडिंग कर्पोरेसनमा कार्यरत प्रज्वलमान प्रधान र गुरुकुल खबरका अध्यक्ष/ प्रधान सम्पादक गंगाधर पराजुली सहित अन्य )

अग्रवालको दृष्टि क्षमता गुम्दै गएपछि उनले आफ्नी धर्मपत्नी र परिवारसंग सल्लाह गरेर केहि वर्ष अगाडी ‘जय श्री च्यारिटी’ संस्थाको स्थापना गरेको छन। कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत अग्रवालले जय श्री च्यारिटी स्थापना गरिएको भएपनि स्थापनको छोटो समयमा नै उक्त संस्थाले विभिन्न सामाजिक र रचानात्माक काम गर्दै आएको छ।

करिब चार वर्ष अगाडी कोभिड – १९ को महामारी फैलिएको समयमा अप्ठेरोमा परेका सर्बसाधारणको सहयोगको लागि उक्त जय श्री च्यारिटी स्थापना गरिएको थियो। देशको विभिन्न स्थानमा रहेका बिपन्न, असहाय र अशक्तहरुलाई तथा दैबी बिपत्तिमा परेकाहरुलाई आर्थिक तथा भौतिक र शैक्षिक सहयोग उपलब्ध गराउने उद्धेश्यले स्थापना गरिएको बुझिएको छ। कोभिडको समयमा संस्थाले बिपन्न र रोजगारी गुमाएका परिवारको लागि निशुल्क भोजन औषधि उपचार समेत उपलब्ध गराएको संस्थाले जनाएको छ।

उक्त संस्थाले हरेक वर्ष काठमाडौँ र नवलपुरको गैंडाकोटमा गरि दुई पटक रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यस अगाडी गैंडाकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागिता जुटेको संस्थाले जनाएको छ। यसबाहेक संस्थाले गत बर्ष देशको विभिन्न भागमा आएको बाढीको कारण पिडित बनेकोहरुलाई विभिन्न सहयोग उपलब्ध गराएको थियो।

जय श्री फूड्स प्रालिको फेक्ट्री इन्चार्ज घिमिरेका अनुसार अग्रवालले नेपालको काठमाडौँ वा कुनै ठाउँमा निशुल्क आँखा अस्पतालको स्थापना गर्ने आफ्नो प्रमुख लक्ष रहेको बताउने गरेको छन। “बिपन्न र असहाय सर्बसाधारणहरु जसले आजिबन आँखा देख्न पाएको छैनन वा विभिन्न कारणले आँखा गुमाएका छन, उनीहरुको सुबिधाको लागि एउटा आँखा अस्पताल बनाउने लक्ष अग्रवालले राख्नुभएको छ। हामीसंग बेला बेलामा उहाँले जय श्री च्यारिटी संस्था मार्फत नै एउटा सुबिधा सम्पन्न निशुल्क आँखा अस्पताल बनाउने आफ्नो लक्ष रहेको बताउंदै आउनुभएको छ। घिमिरेले गुरुकुल खबरसंग भने।

७ पुष २०८१, आईतवार १२:५४ मा प्रकाशित
Nabintech