Play

रेवानले गर्ने सडक महोत्सबको तयारी शुरु, रेस्टुरेन्ट ब्यबसायीसंग छलफल

गुरुकुल खबर


पोखरा, ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने नारा सहित पोखराको लेकसाइडमा सडक महोत्सव गर्दै आएको रेवान पोखराले यस बर्ष पनि सडक महोत्सब गर्ने भएको छ। २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सवको लागि तयारी शुरु गर्ने क्रममा आयोजक रेवानले रेस्टुरेन्टका सञ्चालकहरूसँग छलफल गरि सुझाब समेत लिएको छ ।

रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको र सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित पारिनुपर्नेमा जोड दिएको बुझिएको छ ।

कार्यक्रममा बोल्दै महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले महोत्सब अबधिमा हुने कार्यक्रमका बारेमा जानकारी गराए । उनले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, विभिन्न स्थानहरूमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम यस वर्ष पनि संचालन गरिने जानकारी दिए।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट,हल्लनचोक, गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै चार किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताए । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मुख्य स्टेज बन्ने र त्त्यहाँ लाइभ ब्यान्ड सँगै विभिन्न स्टलहरू समेत राखिने उनले बताए ।

छलफल कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजकहरु गोर्खा बुअरी, वरुण बेभ्रेजको पेप्सी, खुकुरी रम लगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने अपेक्षा प्रकट गरे । सहयोगीलाई सहयोगले नै गुण तिर्नुपर्ने भट्टराईको भनाइ थियो ।

रेवानको सल्लाहकार समितिका संयोजक गणेशबहादुर भट्टराईले २६ औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरताका लागि व्यवसायिक एकता आवश्यक पर्ने बताए ।

रेवानका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्दै २६ औँ संस्करण सफल पार्न आमपोखरेलीहरुको समेत सहयोग आबश्यक रहेको भन्दै सरोकारवालाहरुसंग सहयोगको लागि आग्रह गरेका थिए ।

१९ मंसिर २०८१, बुधबार १९:५० मा प्रकाशित
Nabintech