पोखरा, निजि क्षेत्रका उद्योगी ब्यबसायीहरुको संस्था लेखनाथ उद्योग बाणिज्य संघले हरेक वर्ष गर्दै आएको महोत्सब यस वर्ष पुष १८ गते देखि माघ १ गते सम्म हुने भएको छ। लेखनाथ उद्योग बाणिज्य संघको स्थापना पछि विभिन्न कार्यक्रमहरु गर्ने क्रममा २०५९ सालमा सुन्तला प्रदर्शनी नाम दिएर पहिलो पटक आयोजना गरिएको कार्यक्रमको परिष्कृत रुप नै हालको लेखनाथ महोत्सब हो ।
त्यसपछि २०६० मा पनि सुन्तला प्रदर्शनी आयोजना गरेको लेखनाथ उद्योग बाणिज्य संघले २०६१ मा भने सुपथ मूल्य बजार, लेखनाथ महोत्सबको नामबाट कार्यक्रम गरेको थियो। त्यसयता हरेक वर्ष लेखनाथ महोत्सबको नाममा यो महोत्सब हुँदै आएकोमा यस पटक हुन लागेको महोत्सब २० औं लेखनाथ महोत्सब बन्न पुगेको छ ।
लेखनाथ क्षेत्रमा आर्थिक गतिबिधि बिस्तार गर्ने, लेखनाथ क्षेत्रको पर्यटन प्रबर्दन गर्ने र स्थानीय उत्पादनको बिक्रि एबम प्रबर्दनमा जोड दिई बाह्य शिप र उत्पादनलाई स्थानीयकरण गर्ने प्रमुख उद्धेश्यका साथ महोत्सब आयोजना गर्न लागिएको हो । पोखरा क्षेत्रमा पोखरा उद्योग बाणिज्य संघ. पोखरा युनाइटेड क्लब, रेबान, हान लगायतका संस्थाले विभिन्न नाममा मेला र महोत्सब गर्ने गरेको भएपनि लेखनाथ नगर क्षेत्रमा यस किसिमको मेला र महोत्सबको अभाव रहेको कुरालाई दृष्टिगत गरि लेखनाथ उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको कार्यकाल देखि महोत्सब गरिन थालेको हो।
लेखनाथ महोत्सब दर्शकको सहभागिता एबम ब्यबसायिक कारोबार र महोत्सबमा आयोजना गरिने कार्यक्रमको दृष्टिकोनले लेखनाथ महोत्सबलाई पोखरा लगायत यस क्षेत्रमा गरिंदै आएका अन्य महोत्सबको तुलनामा सफल महोत्सबको रुपमा समेत लिने गरिन्छ । संघले लेखनाथ महोत्सबलाई महोत्सबको पनि महोत्सबको रुपमा समेत दाबि गर्दै आएका छन।
आगामी पुष १८ गतेबाट पोखरा महानगरपालिका -२७ तालचोकमा हुने उक्त महोत्सबको लागि आबश्यक तयारी समेत शुरु गरिएको छ । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीको नाम दिएर आयोजना गरिएको कार्यक्रमलाई समयानुकुल परिष्कृत गर्दै २०६१ बाट लेखनाथ महोत्सबको नाममा कार्यक्रम हुँदै आएको हो।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास समृद्धि’ भन्ने नारासहित सञ्चालन हुन लागेको महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति उपसमिति गठन भएको छ । जसअन्तर्गत ९ सदस्सीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ वट उप समिति र ११७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ ।
लेखनाथ क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीहरुलाई परिचालन गरेर स्थानीय कृषि तथा औधोगिक उत्पादनको बिक्रि तथा प्रबर्दन, हस्तकलाका वस्तुहरुकोे बजार प्रबर्दन, लघु एबम घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तुहरुको बिक्रि वितरण, विभिन्न किसिमको ज्ञान, सिप र प्रविधिको हस्तान्तरण, उद्यमशिलता र सृजनशिलतामा जोड, देश भित्र वा विभिन्न मुलुकमा उत्पादित बस्तु र सेवाको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्यपर्यटक प्रबर्दन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना हुँदै आएको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा लेखनाथ उद्योग बाणिज्य संघका महासचिब एबम महोत्सव प्रचार प्रसार समितिका संयोजक जानुका पराजुलीले हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने सामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामानहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरुको बिक्रि वितरण एबम प्रदर्शनी महोत्सबमा हुने जानकारी दिईन
महोत्सबमा लेखनाथ क्षेत्रमा भैरहेका बिबिध गतिविधिहरुको बारेमा जानकारी दिनुको साथै फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाले प्रदान गर्ने सेवाको जानकारी, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरीको प्रर्दशनी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी समेत गरिने महासचिब पराजुलीले जानकारी दिईन।
महोत्सवमा पुग्ने दर्शक एबम ग्राहकको मनोरन्जन एबम आकर्षणको लागि एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुत गौतम बुद्धको प्रतिमा महोत्सब स्थलमा स्थापना गर्ने, नव प्रतिभा खोजि अन्तर्गत खुल्ला युगल जोडि नृत्य प्रतियोगिता हुँदै आएकोमा यस वर्ष पहिलो पटक महिलाहरुको क्षमताअभिबृद्धिका लागि महिला समुहहरुविचमा हाजिरी जवाफ प्रतियोगिता समेत गरिने भएको छ ।
महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी, महिलाविशेष कार्यक्रमअन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनी, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगिततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका कलाकारहरुवाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य कार्यक्रम, बालउद्यान, खाना महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिईएकोे आयोजकले जानकारी दिए।
महोत्सवमा स्टल राख्न चाहनेहरुको लागि मंसिर १७ गतेदेखि स्टल बुकिङ खुल्ला गरिएको महासचिब पराजुलीले बताइन् । उनका अनुसार स्टल बुकिङका लागि सदस्यहरुलाई विशेष प्राथमिकता दिईएको छ । अन्य व्यवसायीहरुका लागि मंसिर २४ गतेदेखि बुकिङ खुल्ला गरिने छ।
यसपटक महोत्सवमा ३ सय ३६ वटा स्टल रहने र त्यसमध्ये अटो प्रर्दशनीका ६, शैक्षिक/ ग्रामीण प्रविधि प्रदर्शनीका १२, कृषि प्रदर्शनीका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकला प्रदर्शनीका १६, गार्मेन्ट तथा रेडिमेटका १०८, जनरल २६, फुड एन्ड बेभरज प्रदर्शनीका १६, डेरी प्रदर्शनीका ९, नेपाली उत्पादन प्रदर्शनीका २२, खाना महोत्सवका १७ र बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गतका ३३ वटा स्टल रहने प्रचार संयोजक पराजुलीले बताइन् । सदस्यले स्टल राखेमा २० प्रतिशत छुट र ढुवानीका लागि थप २ हजार रुपैयाँ पनि उपलब्ध गराइने उनले बताईन।
महोत्सवबाट संकलित बचतवाट लेखनाथ क्षेत्रमा प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको पहल गर्ने, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई विकास गर्ने लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कामहरुमा खर्च गरिने संघले जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका कार्यवाहकअध्यक्ष रामप्रसाद तिमिल्सीनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गर्नुपर्ने र अहिलेको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सक्नुपर्ने बताए।
महोत्सवको मुख्य प्रायोजक रहेको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले सामाजिक उत्तरदायित्व बहन गर्न एबम स्थानिय मेला महोत्सवको प्रर्वद्धन गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले लेखनाथ उद्योग बाणिज्य संघसंग सहकार्य गरिएको बताए।
संघका बरिष्ठ उपाध्यक्ष एवंम महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले बिशेष चाडको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा जुटाएर विभिन्न बस्तु र सेवाको बिक्रि एबम प्रबर्दन गरिरहेको बताए । संघका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपमहसचिब भारत ओझाले गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशलाई राखिएको छ भने प्रबर्दकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्डलाई राखिएको छ ।