Play

६ बर्षपछि फुटवलको लयमा फर्कदै आदर्श युवा क्लव, मङ्सिर २२ बाट आदर्श कप फुटबल हुने

गुरुकुल खबर


लेखनाथ (पोखरा), कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्षको अन्तरालपछि हुने भएको छ। हरेक वर्ष हुँदै आएको उक्त प्रतियोगिता कोभिड महामारीको समयबाट संचालन हुन् सकेको थिएन। यहि मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो ।

२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई अहिले क्लवले अन्तिम चरणमा पुर्याएको छ ।

प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन् । आयोजक आदर्श युवा क्लव, कास्की ११, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहितका विभागिय क्लव एवं तनहुँ, गोरखा र स्याङजाका एक/एक टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिताको लागि फुटवल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पुरा भएको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । खेल प्राविधिक र रेफ्रीको समूहको निगरानीमा खेल मैदानलाई मिलाउने कार्य भैरहेको उनले जानकारी दिए।

प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउनेक्रम जारी रहेको कलवका कोषाध्यक्ष विष्णु हमालले बताए । मोफसलमा स्तरिय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै हमालले सवैको साथ र सहयोगले हौसला थपेको बताए ।

मोफसलको खेल उत्सव हो, क्लवका अध्यक्ष पदम भन्छन्, सुस्ताएको स्तरिय खेललाई फेरी जिवन्तता दिने प्रयासमा छौं ।

मोफसलमा आरा रारा गोल्डकप पछि आदर्श युवा क्लवले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लवका पूर्व अध्यक्ष विजय गुरुङले बताए । उनले आफु अध्यक्ष हुँदा राष्ट्रिय स्तरको २२ औं र २३ औं संस्करण खेलाएको सम्झदै यस क्षेत्रमा खेलाडी उत्पादनमा समेत सहयोग पुर्याएको उल्लेख गरे ।

बार्षिक रुपमा प्रतियोगिता जारी राखेको भए अहिले ३५ औं श्रृंखलामा पुग्थ्यौं, पूर्व अध्यक्ष गुरुङले भने—विविध कारणले सकिएन, अहिले लयमा फर्किएको छ ।

प्रतियोगिताका लागि पोखरा महानगरको वडा नंं २९ को कार्यालयले संरकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको छ । त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

लेखनाथ रंगशालाको स्तरोन्नती, कभर्डहलको निर्माण, प्याराफिट र खेल विकासका लागि राज्यका निकायको ध्यान लेखनाथ क्षेत्रमा नपुगेको पनि अध्यक्ष गुरुङले बताए । पोखरा रंगशाला पछिको विकल्पका रुपमा लेखनाथ रंगशालालाई अगाडी बढाउन सकिन्थ्यो, तर राज्यको ध्यान जान सकेन अध्यक्ष गुरुङले भने—“रंगशालालाई हामीले संरक्षण गरेर जोगाएर राखेका छौं ।”

प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया र मेड प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।

१६ मंसिर २०८१, आईतवार १८:४३ मा प्रकाशित
Nabintech