पोखरा, वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा पोखरामा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा सुवर्ण शमशेर र गणेशमान सिंहको योगदानका बारेमा सहभागी र अतिथिहरुले चर्चा गरेका थिए
त्यस अबसरमा बोल्दै सभापति शर्माले सुवर्ण शमशेर र गणेशमान सिंहले नेपाली कांग्रेसको विरासतलाई वचाउन दिएको योगदान महत्वपुर्ण रहेको र पार्टीमा लागेका कार्यकर्ताहरुले सिको गर्न सकेमात्र पनि प्रजातन्त्रका लागि सहयोग पुग्ने बताए। स्थापनाकालिन आदर्शलाई व्यवस्थापनमा उतार्दै अगाडि बढेमा कांग्रेस कसैसँग झुक्नु नपर्ने र सधैं जनताको विश्वास जित्न सकिने शर्माले बताए ।
सभापति शर्माले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै प्रजातन्त्र नरहे सम्म देशको विकाश र स्थिरता नहुने स्पष्ट पारे । “प्रजातन्त्र नमान्नेहरु कुनैपनि समयमा बिस्थापित हुने र हिजोको समयमा पनि बिस्थापित हुँदै गएका छन्। हामी नेपालमा मात्रै नभई विश्वमा नै प्रजातन्त्र आवश्यक छ,” सभापति शर्माले भने ।
गण्डकी प्रदेशका नेपाली काँग्रेसका उपसभापति मेखलाल श्रेष्ठले सुवर्ण शमशेरले पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री त्याग गरेको कुराको चर्चा गर्दौ २०४७ सालको संबिधान आउनुमा समेत सिंहको योगदान उल्लेखनीय रहेको बताए ।
पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक होमनाथ पौडेलले नेपाली कांग्रेसको प्रजातान्त्रीक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्ण शमशेरको बारेमा जानकारी गराएका थिए भने प्रा.डा. वेदनाथ शर्माले नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंहको विषयमा जानकारी गराएका थिए ।
पुस्तकालय ब्यबस्थापन समितिका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु)ले स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका थिए। बास्तोलाले नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्ण शमशेरको ४३ औं स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी गरिएको जानकारी गराए ।
वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशका सदस्य कमल सापकोटाले सञ्चालन गरेको कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य शिरोमणी बरालले पनि कार्यक्रम र पुस्ताकलयाको बारेमा जानकारी गराएका थिए ।