पोखरा, ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबाससम्बन्धी विश्वव्यापी छलफल” कार्यक्रममा भाग लिन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेका छन् । एसियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम अन्तर्गत हुने उक्त कार्यक्रममा आचार्य बक्ताको रुपमा रहेको बताईएको छ।
नोभेम्बर ४ देखि ७ गते सम्म कायरोमा हुने उक्त कार्यक्रम “सबै कुरा घरबाट सुरु हुन्छ: दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप” भन्ने नाराका साथ हुन लागेको हो कार्यक्रममा १ सय ५० भन्दा बढि राष्ट्रहरुको सहभागीता रहने बुझिएको छ । भ्रमणका क्रममा जलवायु परिवर्तन, एशियाली विकास बैंकको लागत साझेदारीमा सञ्चालित बिभिन्न परियोजनाहरूको प्रगति, आगामी कार्यहरू, सम्भावित अवसरहरूको पहिचान तथा लगानी सुनिश्चितताको विषयमा पनि छलफल हुनेछ।
उक्त कार्यक्रम पोखराको दिगो विकास गर्न र ठुला परियोजनाहरू अगाडि बढाउन सहयोगी हुने विश्वास पोखरा महानगरपालिकाले लिएको छ । कार्यक्रमका दौरानमा विकास साझेदार संस्थाहरूको सहयोगमा पोखरामा संचालित तथा संचालनका लागि अगाडि बढेका २८ अर्बभन्दा बढीका परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागि दातृ निकायका प्रतिनिधि संग मेयर आचार्यको कुराकानी हुने भनिएको छ।