Play

सहकारी ठगि प्रकरणमा ६०० बढीलाई कारबाही, झन्डै ६०० जेलमा, लामिछानेको म्याद थप्ने तयारी

रास्वपा र रबिका कार्यकर्ताले धम्क्याउन थालेको भन्दै सहकारी पिडितहरु आन्दोलित


गुरुकुल खबर


काठमाडौँ,  सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा हालसम्म ६ सय भन्दा बढीलाई कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमा रहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जानकारी अनुसार सहकारी ठगीमा हालसम्म ६ सय जनाभन्दा बढीलाई कानुनी कारबाही गरिसकिएको छ भने पाँच सय ७५ जनाभन्दा बढी अहिले पनि जेलमै रहेका छन। सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु गरेको प्रम ओलीको भनाई छ।

ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हालसम्म ६ सय जनाभन्दा धेरैलाई कानुनी कारबाही गरिएको छ र ५ सय ७५ बढी जेलमा छन। सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको पनि बताउंदै भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभई कानुनलाई गुरू मानेको बताए। उनले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताए।

‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं,’ प्रम ओलीले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका तथा जेलमा रहेका हरुको संख्या १ हजार भन्दा बढी रहेपनि रास्वपा सभापति लामिछाने पक्राउ परेपछि सर्बसाधारणलाई सडकमा उतार्ने कोशिस भैरहेको प्रति प्रम ओलीले असन्तुष्टी प्रकट गरेका थिए

लामिछानेमाथिको अनुसन्धान जारी, दोश्रो पटक म्याद थपको तयारी 

यसैबीच सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गर्ने क्रम जारी छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पुरा भएपछि म्याद थप गर्न पुन अदालत लैजाने तयारी प्रहरीले गरेको बुझिएको छ।

बिहीबार उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराउने तयारीमा कास्की प्रहरी रहेको छ  कास्कीका प्रहरी प्रमुख तथा एसपी श्यामबावु ओलियाका अनुसार  बिहिबार  दोस्रोपटक म्याद थप गर्न अदालतको अनुमति लिईने छ भने अन्य अनुसन्धानको प्रक्रिया चलिरहेको छ ।

रास्वपा सभापति लामिछाने कार्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको बयान पोखरामा मात्र नभएर रुपन्देहीमा समेत लिईएको छ जोशीलाई रुपन्देहीबाट पोखरा ल्याईने भएको प्रहरीले जनाएको छ भने लामिछाने लाई थप बयानको लागि रुपन्देही समेत लगिने बताईएको छ

सहकारी पिडितलाई रास्वपा कार्यकर्ताको धम्की ?

सहकारीको रकम ठगि गरेको अभियोगमा पक्राउ परेका रबि लामिछानेका समर्थक र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराका सहकारी पीडितलाई धम्क्याउन थालेको छन्। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा नेता तथा कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्रलोभनमा पार्ने र भड्काउने जस्ता गतिविधी गरेको आरोप लगाएका हुन्।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि रास्वपा कार्यकर्ताले पोखरामा दिनहुँ आन्दोलन पनि गर्दै आएका छन्। उनीहरुले आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुले बताएका छन्।

‘अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम पोखरामा दिनहुँ जसो भइरहेका छन्, पार्टीका कार्यकर्ताद्धारा पीडित लखेटिएका छन्, पिटिएका छन, बिगत २ बर्षदेखि यो पार्टी सरकारमा हुँदा र नहुँदा पार्टीका नेताहरुलाई हारगुहार गर्दा, कैयन् पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ति बिसाउँदा पनि कहिल्यै कुनै सहयोग भएन। अहिलेपार्टी सभापति लामिछाने अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकेर आएको र फिर्ता दिने जस्तो गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा सहकारी पीडितका पक्षमा रहेका बौद्धिक जगत, व्यवसायी, राजनीतिक दल, नागरिक समाज सबैलाई आफुहरुको आन्दोलनमा साथ दिन पनि आग्रह गरिएको छ। रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्ने उदेश्यले रास्वपाले प्रदर्शन जारी राखेकाले आफुहरुले खबरदारी सभा गर्न लागेको सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। ‘हामीले बिहिबार विशाल खबरदारी सभा आयोजना गरेका छौं, सबै पोखरेली न्यायप्रेमी सभामा आउनुहुनेछ,’ उनले भने, ‘सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाओस् र पीडितले न्याय पाओस् भन्ने मात्र हाम्रो माग छ।’

७ कार्तिक २०८१, बुधबार १६:२६ मा प्रकाशित
Nabintech