Play

राष्ट्रिय शिक्षा दिवसमा पोखराका बिद्यालय, शिक्षक, कर्मचारी र बिद्यार्थी गरि ७ सय ६३ लाई सम्मान

गुरुकुल खबर


पोखरा, राष्ट्रिय शिक्षा दिवस अवसर पारेर पोखरामा पनि विभिन्न बिद्यालय, शिक्षक, कर्मचारी र बिद्यार्थीहरुलाई सम्मान गरिएको छ पोखरा महानगरपालिका शिक्षा महाशाखाले शिक्षा दिवसको अवसरमा बुधबार ७ सय ६३ जनालाई सम्मान गरेको हो । पोखरा सभागृहमा आयोजित समारोहमा शिक्षा महाशाखाले उनीहरलाई सामूहिक रुपमा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पेसामा लगनशील भई लाग्न शिक्षकलाई सुझाव दिँदै शिक्षा क्षेत्रका कमी–कमजोरी क्रमशः हटाउँदै जानुपर्ने बताए । उनले अन्य स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गए पनि पोखरा महानगरका विद्यालयमा बढ्दै गएको स्पष्ट पार्दै पछिल्लो शैक्षिक सत्रमा मात्रै ८ हजार विद्यार्थी थपिएको उल्लेख गरे ।

‘प्रधानाध्यापकका लागि केही सुविधा पनि थपेका छौं । ५५ बुँदे निर्देशात्मक सर्कुलर पनि जारी भएको छ,’ उनले भने, ‘देशभर विद्यालय पुरस्कृत हुँदा पोखरा क्षेत्रका धेरै पर्नु सुखद् हो ।’ उनका अनुसार पोखरामा फरक प्रकृतिका विद्यालय पनि सञ्चालित छन् । विगतको तुलनामा यस वर्ष एसइई नजिता राम्रो आएको छ र अब विद्यालय शिक्षातर्फ एग्रो टुरिजम तथा हस्पिटालिटी विषय पनि थप गर्ने उनले बताए ।

पोखरा महानगरपालिका – २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले शिक्षा निःशुल्क तथा सर्वसुलभ हुनुपर्ने मान्यता नारामा मात्रै सीमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सामुदायिक विद्यालयमा सरकारको निगरानी नपुगेको धारणा राखे । उनले आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने परिस्थिति आउनु नेपालीका लागि विडम्बना भएको बताउँदै १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउन नसकेकोतर्फ सचेत गराए ।

प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षाबिनाको समाज अधुरो हुने जनाउँदै गाउँशहर सबैतर्फ शिक्षाको ज्योति फैलाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

विन्ध्यावासिनी मावि, वरपाटनका प्रधानाध्यापक वसन्तराज पाण्डेले सामुदायिक विद्यालयमा शिक्षकले जागिरे मानसिकता राख्ने गरेको गुनासो आउने गरेकोतर्फ सचेत गराउँदै शिक्षकहरु इमानदारपूर्वक कर्तव्य पथमा लम्कनुपर्ने धारणा राखे ।

महाशाखाले सामुदायिकतर्फ विन्ध्यवासिनी मावि बाटुलेचौर, संस्थागततर्फ मदरल्याण्ड मावि मासबार र प्राविधिक धारतर्फ ब्रह्मरुपा मावि, जनताको चौतारा तथा गण्डकी बहुप्राविधिक शिक्षालयलाई उत्कृष्ट शिक्षालय रुपमा पुरस्कृत गरेको छ ।

त्यसैगरी, सामुदायिकतर्फ २५ वर्ष शिक्षण गर्ने कुल ३ सय ६० शिक्षक तथा संस्थागततर्फ २० वर्ष शिक्षण गर्ने १ सय २४ शिक्षक दीर्घसेवाद्वारा पुरस्कृत भए ।

त्यस्तै, एसइईमा ४ जिपिए ल्याउने तथा कार्यसञ्चालन आधारमा ६ वटा क्स्टरबाट उत्कृष्ट हासिल गर्ने विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरियो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर शिक्षा समिति सदस्य तारानाथ पौडेलले स्वागत र शिक्षा महाशाखाका नि.प्रमुख वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीले कार्यक्रम सञ्चालन गरे । त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

३ आश्विन २०८१, बिहीबार ०७:०२ मा प्रकाशित
Nabintech