Play

पोखराबाट अन्तराष्ट्रिय उडान गर्ने सरकारको पहलबाट पोखराका पर्यटन ब्यबसायी उत्साहित

अन्तराष्ट्रिय एअरलाइन्सलाई विभिन्न कर छुट सहित सरकारको नयाँ कार्यविधिका कारण पर्यटन ब्यबसायीमा खुशी


गुरुकुल खबर


पोखरा ,  सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल चलाउनेसम्बन्धी बनाएको कार्ययोजना मन्त्रिपरिषदले स्वीकृत गरेपछि पोखरेली पर्यटन व्यवसायीहरु खुशी देखिएका छन । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले पहल कदमी लिएको भन्दै पोखरेली पर्यटन व्यवसायीहरु खुशी भएको पोखरा पर्यटन परिषदले एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ।

पोखरामा लामो प्रयासपछि विमानस्थल बनेको भएपनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा पर्यटन व्यवसायीहरु निराश थिए। तर हालै बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा विभिन्न कर छुट सहित सहजीकरण गर्ने निर्णय गरेपछि ब्यबसायिहरु खुशी र उत्साहित बनेक छन। यसै सन्दर्भमा पोखरा पर्यटन परिषदले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रिपरिषद्ले गरेको निर्णयको स्वागत गर्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी प्रति आभार प्रकट गरेको छ।’

सरकारले कार्ययोजना स्वीकृतसँगै पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय पनि गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको छ । इन्धनमा सहुलियत दिने भएपछि पोखरमा अन्तर्राष्ट्रिय विमानस्थल आउने पर्यटन व्यवसायीको विश्वास छ । सरकारले विमानस्थललाई चलायमान बनाउन वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णयले पनि पर्यटन व्यवसायीहरु थप उत्साहित भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले पोखराबाटै वैदेशिक रोजगारीका प्रक्रिया पूरा हुनेभएपछि नियमति उडान पनि हुने व्यवसायीहरुको विश्वास रहेको बताए । वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको पहलमा पोखरा र भैरव विमानस्थलबाट काम सुरु हुने निर्णयले पर्यटन व्यवसायीले सरकारको खुलेर प्रशंसा गरेका हुन् । मन्त्रीपरिषद्मा भएको यो निर्णय छिटो भन्दा छिटो कार्यान्वयनको लागि सरकारसँग माग समेत गरिएको छ ।

परिषद्का अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालभरी पोखरालाई पर्यटनको हब बनाउन र पोखरामा पर्यटक भित्रयाउन आफूले हरदम प्रयास गरेको समेत त्यसअबसरमा बताए । श्रेष्ठका अनुसार परिषद्ले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न देशका राजदूतहरुलाई पोखरा बोलाएर विमानस्थलको बारेमा छलफल चलाएको थियो । अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमोट गर्न र भारतसँग सीधा उडान भर्न भारतीय टुर अपडेटर, फिल्म स्टार, राजनीतिज्ञ र पत्रकारलाई पोखरा बोलाएर सहजीकरण गरेको समेत उनले जानकारी दिए  चीन र भुटानबाट पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गर्न पहल गरेको पनि उनले बताए ।

पोखराबाट अन्तराष्ट्रिय उडान गर्ने सहित अन्य काम समेत परिषदले गरेको उनले बताए। परिषद्ले पोखरालाई पर्यटकको राजधानी बनाउन तीन तहका सरकारसँग समन्वयमा भूमिका निर्वाह गरेको भनाइ छ । ‘पोखरेलीहरुको वर्षौको चाहाना पूरा गर्ने कार्यक्रमलाई साकार बनाउन सफल भइयो । पोखरा मुग्लिन सडक खण्डको स्तरोन्नतिलाई छिट्टो गर्न विभिन्न छलफलसँगै सार्थक पहल गरियो । अर्थात् सरकारलाई एक प्रकारको दबाब दिइयो । त्यो केही हदसम्म सफल भएको छ,’ उनले भने ।

परिषद्ले घरदेश अनि परदेश सांगीतिक कार्यक्रम गरेर जनचेतना फैलाउन सफल भएको उनको भनाइ छ । यो बिचमा परिषद्ले पोखरामा गल्फ एण्ड बियोन्ड कार्यक्रममा सहयोग, व्यवसायीहरुको समस्यालाई समाधान गर्न विभिन्न कार्यक्रम गर्न सफल भएको अध्यक्ष श्रेष्ठले सुनाए । देशको समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल चलाएको उनले सुनाए । उनले यसबिचमा पाटा एडभेन्चर मार्ट पोखरामा आयोजना गर्न सफल भएकोमा पनि सबैलाई धन्यवाद दिए ।

४ भाद्र २०८१, मंगलवार १५:२३ मा प्रकाशित
Nabintech