Play

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश सचिव बिच शिष्टाचार भेट

द्विपक्षिय सम्बन्ध, आर्थिक सहायता र एअर कनेक्टिभिटी बढाउने सम्बन्धमा छलफल


गुरुकुल खबर


काठमाडौँ,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीको बिचमा सोमबार  शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको  भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको  बुझिएको छ ।

वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारतसँग कुरा उठाउनुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले गुरुकुल खंबरलाई जानकारी दिए ।

भेटका क्रममा मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापन सम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएको समेत पाठकले जानकारी दिए।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले कुरा उठाएपछि यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने भारतीय पक्षको भनाई थियो ।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटन सम्बन्धि प्रसङ्ग समेत उठाएको बुझिएको छ ।

सो शिष्टाचार भेटका क्रममा मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा कुरा उठाएको र जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिईन ।

२८ श्रावण २०८१, सोमबार १४:१५ मा प्रकाशित
Nabintech