Play

बृहत बामपन्थी एकताको पहल गर्ने र पार्टी शुद्धिकरणको अभियान चलाउने माओबादीको प्रस्ताब

गुरुकुल खबर


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने साथै पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउने भएको छ ।

माओबादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकमा माओबादी अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राख्ने क्रममा वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव गरेका थिए । उनले संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै  शुद्धीकरण अभियान चलाउनुपर्नेमा  समेत जोड दिएका पार्टी प्रवक्ता अग्नि सोपकोटाले गुरुकुल खबरलाई जानकारी दिए ।

अध्यक्ष प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिन, नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई सोहीअनुसार सुदृढीकरण गर्न र स्पष्ट नीति, योजना र नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएका प्रवक्ता सापकोटाले बताए ।

वामपन्थीलाई एकताबद्ध गर्न समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग छलफल भइरहेको र छिटै परिणाम निस्कने जानकारी गराउंदै प्रचण्डले देश र जनताको एजेण्डालाई सदन र सडक मार्फत प्रभावकारी ढंगबाट उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।

अध्यक्षले राखेको धारणाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेका प्रवक्ता सापकोटाले जानकारी दिए ।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित  संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए । बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए ।

पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।

२६ श्रावण २०८१, शनिबार २०:४४ मा प्रकाशित
Nabintech