Play

नयाँ प्रममा ओलीको नियुक्ति आज, शपथ सोमबार

गुरुकुल खबर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै छन् । नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ। नयाँ प्रमको शपथ भने सोमबार हुने सम्भावना छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अर्थात असार ३० गते आइतबार साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

राष्ट्रपतिले गरेको आह्वान अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । एमाले संसदीय दलका नेता केपी ओली र नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउबाले संयुक्त रुपमा हस्ताक्षर गरेर राष्ट्रपति समक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न निबेदन दिएका छन ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए।

३० असार २०८१, आईतवार ०८:०० मा प्रकाशित
Nabintech