Play

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटबार्ता

गुरुकुल खबर


वर्लिन, (जर्मनी ) । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिन अवस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी पुगेका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आज भेटवार्ता भएको हो ।

सो भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताए ।

“दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलश्रोत तथा उर्जा क्षेत्रमा रहेको विशाल संभावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीब्र पार्नु, पर्यटनका संभावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभाव विरुद्ध लड्नु रहेको पौडेलले बताए । “ नेपालको आर्थिक विकासको लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, उनले भने ।

वर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै पौडेलले त्यसबेला स्थानीय विकास मन्त्रीको रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए । नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धहरुलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको छ भन्दै उनले गत महिना काठमाण्डौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे ।

जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताए। राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भिर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गरे । साथै उनले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसंघका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गरे ।

साथै उनले नेपाली हवाई एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताए । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार जर्मनले राष्ट्रपति पौडेललाई यस पटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

३ असार २०८१, सोमबार २०:५६ मा प्रकाशित
Nabintech