Play

दुःखबाट उठेर समाजसेवामा लागेकी भक्तिनी दिदी

गुरुकुल खबर


भक्ति अधिकारीलाई धेरैले भक्तिनी दिदीका रूपमा चिन्छन् । प्रायः उनी राधाकृष्ण मन्दिर लामेआहाल र अन्यत्र धार्मिक कार्यक्रममा भेटिन्छन् । ८८ वर्ष पुगे पनि निरोगी भक्ति दिदीको प्रतिष्ठा समाजमा एक दानवीरका रूपमा प्रसिद्ध छ । वि.सं. १९९३ जेठ १५ गते जन्मिएकी अधिकारी अहिले पनि सामाजिक, धार्मिक कार्यमा सेवारत छिन् ।

उनले वि.सं. २०१३ सालमा त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयको १ कोठे भवन शिलान्यास गरेकी थिइन् । उनी लगातार २०१३ साल देखि २०२६ सालसम्म विद्यालय व्यवस्थापन समितिको सदस्य थिइन् । अधिकारी ०७७ सालबाट पुन सदस्य पदमा रही शैक्षिक सेवामा जुटिरहेकी छन् । विद्यालयका पूर्व अध्यक्ष डिल्लीराम पौडेलका अनुसार समाजसेवी भक्तिले स्वर्ण महोत्सव मनाउँदा विद्यालयमा १० लाखको अक्षयकोष राखिदिईन् ।

उनले विद्यालय स्थापना कालदेखि जमिनको संरक्षण गर्ने, विद्यालयको कम्पाउन्ड लगाउने आदि कार्यमा पनि सहयोगको हात बढाउँदै आएकी छन् । भक्ति दिदीको जीवनयात्रा आरोह, अवरोहले भरिएको छ । जीवनमा जस्तोसुकै दुःख, पीडा, यातना भोग्नु परेता पनि धैर्य, संयमता, सन्तोष आदि दिव्य गुणले गर्दा उनी कत्ति पनि विचलित भईनन् । अहिले उनी नारी शाहसकी प्रतीक बनेर समाजमा स्थापित भएकी छिन् ।

जीवनमा सधैँ अँध्यारोमात्र हुँदैन, प्रकाश पनि हुन्छ भनी उनले सावित गरिदिइन् । एउटी बाल विधवा हुन् । जसले जीवनमा कति हन्डर खाईन्, कति तिरस्कार र अपमान सहनुपर्‍यो होला यी सबै विघ्नबाधा हटाउन भगवान्लाई साथमा लिएर जसरी अघि बढिन् । यो एउटा समाजका लागि बेग्लै पाठ हुन गएको छ ।

तत्कालीन पश्चिम ४, स्याङ्जा, भोटेपोखरी गाउँ पञ्चायत वडा नं. २, वरबोटे (हाल पोखरा ३३) मा टीकाराम पौडेल र विष्णुमायाको कोखबाट उनको जन्म भएको थियो । भक्तिको बाल्यकाल अत्यन्तै पीडादायी रह्यो । उनी ४ वर्षको र एक दाजु ६ वर्षको हुँदा जेठा दाजु होमनाथ १३ वर्षको उमेरमा अचानक बिरामी भई निधन भयो । छोराको देहान्तपछि छटपटाइरहेकी आमा विष्णुमायाले काजकिरियाको ५ दिनमा जुम्ल्याहा बच्चालाई जन्म दिइन् ।

दुई सन्तानलाई जन्म दिएर विष्णुमाया सन्तानसहित संसारबाट बिदा भइन् । २५ वर्षीया पत्नी र ३ छोराछोरी एकै पटक गमाउनुको पीडा टीकारामले सहनु पर्‍यो । तैपनि सम्हालिएर बाँकी दुई सन्तान भक्ति र वसन्त अधिकारीले दुःख पाउँलान् भनी उनले अर्को विवाह गरेनन् । भक्ति र उनका दाजु वसन्त ठूली आमा, सानी आमाहरुको माया ममता र संरक्षणमा हुर्कदै गए ।

११ वर्ष हुँदा आफन्तबाट खुदी निवासी टीकाराम अधिकारी र ललिता अधिकारीका छोरा गोविन्द अधिकारीसँग भक्तिको विहे भयो । सानै उमेरमा विवाह भएकाले सुरुको वर्ष माइती घरमै उनको दिन बत्यो । विवाह भएको ११ महिनामै २००५ माघ ९ गते घरबाट खबर आयो–नानीलाई तुरुन्त घरमा लिएर आउनू । उनलाई पुनः दुलही जस्तै सिँगारी घर पुर्‍याइयो । खबर आउनुको कारण थियो श्रीमान् सिकिस्त बिरामी हुनु ।

उनी पुगेको केही दिनमै श्रीमान्को स्वर्गारोहण भयो । घरमा कोही नभएकाले उनले खेती किसानी गरेर जीवन निर्वाह गर्न थालिन् । तत्पश्चात् उनका जीवनमा खुसी, जवानी, रहर सबै धर्म, संस्कृति परम्पराको नाममा समाजले कोरी दिएको घेराभित्र सेता लुगामा बेरिएर विधवाको जीवन अगाडि बढाउनुपर्ने बाध्यता भयो । आफ्ना चाहना, खुसी सबै एकातिर पन्छाएर समाजको चाहना अनुसार समय बित्दै थिए ।

५ वर्षपछि १६ वर्षको हुँदा उनले बुवालाई पनि गुमाउनु पर्‍यो । १६ वर्षको हुँदासम्म परिवारका प्रियजन सबै गुमाउँदै दाजु वसन्तको मात्र साथ रह्यो । त्यसपछि उनी परिवारबाट पाएको संस्कार ठूली आमा, सानी आमाको साथमा आध्यात्मिकतर्फ समर्पित भइन् ।

बाल्यावस्था, किशोरावस्था, पीडादायी भएर बित्दै जाँदा पारिवारिक संस्कार र गुरु महाजनको सामिप्यले आध्यात्मिक मार्गमा समर्पित भएर लाग्ने प्रेरणा मिल्यो । गुरु भगवतशरणको मार्गदर्शन र निर्देशनले लामेअहाल (हाल पोखरा ३२) मा राधाकृष्ण मन्दिर स्थापना गर्न पहलदेखि निर्माण कार्यमा पनि उनको ठूलो योगदान रह्यो ।

आफूलाई सत्मार्गमा हिँड्न प्रेरित गर्ने बाटो नै आध्यात्मिक ज्ञान भएकाले १५ लाखको कोष स्थापना गरी उनले भागवत पुरस्कार प्रदान गर्ने अवस्था उनले बनाएकी छन् । १ लाखको उक्त पुरस्कार कविवर मुकुन्दशरण उपाध्याय, प्राडा नारायणप्रसाद अधिकारी, जगत गुरु मोहनशरण देवाचार्य लगायतले पाएका छन् ।

उनले पोखरा बहुमुखी क्याम्पसको भवन बनाउन १ लाख चन्दा दिएकी थिइन् । सहयोग माग्न आउने जो कोहीलाई पनि रित्तो हात फर्काउदिनन् । भन्छिन्, जीवन भनेको अविरल बगिरहने नदी हो । परमात्माले मलाई जे दियो दियो, उसैलाई समर्पण गर्न पाऊँ यही नै मेरो जीवनको लक्ष्य हो ।
( रबिन्द्र माकाजु / समाधानबाट )

१८ जेष्ठ २०८१, शुक्रबार १०:५० मा प्रकाशित
Nabintech