Play

तपाईं अब नेपाली काँग्रेसलाई कस्तो देख्न चाहानुहुन्छ ?

गुरुकुल खबर


धर्मराज अधिकारी   –

अहिले बारम्बार नेपाली कांग्रेसको बिभिन्न तहका नेता कार्यकर्ताहरु माझ प्रश्न उठ्ने गर्छ,  पार्टीको आगामी महाधिबेशन बाट वा आसन्न २०८४ को आमचुनाबको लागि कस्तो कांग्रेस देख्न चाहानुहुन्छ ? यसै प्रसङ्गमा ढिलै भएपनि कास्कीका सहित विभिन्न जिल्लाका कांग्रेस साथीभाइहरु समक्ष छोटो र आधारभूत परिकल्पना प्रस्तुत गर्ने जमर्को गरेकोछु। यो प्रश्न ज्यादै गम्भीर हुनुका साथै रोमान्चकारी पनि छ।

यस सम्बन्धमा पार्टीको विभिन्न तहमा काम गरेका साथीहरुबाट पक्कै पनि बिभिन्न प्रकारका परिकल्पनाहरु प्रस्तुत भैरहेका छन । विभिन्न साथीहरुबाट प्रस्तुत विचार र परिकल्पनाले नै कांग्रेस पार्टीलाई नयाँ जीवन दिनसक्ने छ र बि पी कोइरालाले परिकल्पना गरेको नेपाली कांग्रेस अर्थात् नेपाली जनताले आसा भरोसा गर्न सक्ने कांग्रेस पार्टीको रुपमा विकसित हुनेछ भन्ने बिश्वास पनि छ।

नेपाली  कांग्रेस पार्टीको हिजोको तस्विर कस्तो थियो ? आज कस्तो तस्विर देखिएको छ ? भन्ने कुरा तपाई हामी सबैको मन मस्तिष्कमा भएकै कुरा हो। अब भोलिको तस्विर कस्तो बन्ने हो भन्ने प्रश्न ज्यादै गम्भीर प्रश्न बनेको छ। यो प्रश्न किन पनि गंभिर छ भने तस्बिर आफै बन्दैन, बनाउनु पर्छ। हिजो हाम्रा अग्रजहरुले देश र जनताको मुक्ति र समुन्नतीका लागि विकास गरेका विचार, सिद्धान्त र त्यसको प्राप्तिका लागि गरिएका  कठोर संघर्ष, बलिदान र त्यागले कांग्रेस पार्टी जन्मेको अनि संगठित हुँदै गएको थियो।

२०४६ पछिको परिवर्तन पछि हामीले प्रस्तुत गरेका विचार व्यवहार र क्रियाकलापले आजको कांग्रेसको तस्विर बनेको छ। हिजोको तस्विर र आजको तस्विरमा के फरक छ वा छैन भन्ने कुरा पनि हामीले हेर्नु पर्ने हुन्छ। कुनै मौलिक परिवर्तनहरु छन् कि छैनन्। तस्विरमा हात खुट्टाहरु, कस्ता भएका छन्।  हात खुट्टा सुकेका पेट मात्र फुकेका छन् कि ? हेर्ने आँखा, सुन्ने कान र सुघ्ने नाकको क्षमतामा कमि आएको छ कि छैन भनेर पनि हेर्नु पर्यो। पार्टी जीवनमा सुगर, प्रेसर, कोलेस्टोरल आदिको अवस्था कस्तो छ।समग्रमा पार्टिको शाररिक, मानसिक र आध्यात्मिक अबस्था कस्तो छ ? आदि सबै कुराहरुको राम्रोसंग चेकजांच गर्नुका साथै केही समस्या देखिएमा त्यसको वेलैमा उपचारको वन्दोवस्त गरेर भोलिको तस्बिर अझ राम्रो बन्न र बनाउन सकिन्छ। यसकालागी कांग्रेसका सबै तह तप्काका नेता कार्यकर्ताहरुले पार्टीको हिजो र आजलाई आत्मसमीक्षा गरि भोलिको स्वस्थ र जनप्रिय कांग्रेसको परिकल्पना गर्दै रचनात्मक विचार र ब्यबहार गर्नु हामी सबैको दायित्व बनेको छ।

मुलुकमा प्रजातन्त्र र राष्ट्रियता माथि नै कालो बादल मडारिरहेको बेला, व्यवस्थाका सबै अवयवहरूमा जनताले प्रश्न उठिरहेको बेला,सुशासन हराएको बेला, मुलुक भ्रस्टाचार र तस्करीमा चुर्लुम्म डुबेको बेला, मुलुकका सबै नेता र पार्टी प्रति जनताको आसा, भरोसा डगमगाएको बेला  र विभिन्न कारणले सिंगो काँग्रेस पार्टीको साख र लोकप्रियता घटेको वेलामा एउटा जिल्लाको कांग्रेसको संगठनलाई मात्र विकसित र लोकप्रिय स्वरुप वनाउने भन्ने कुरा ज्यादै जटिल कुरा हो। तथापी जिल्लातहमा कांग्रेसको सुद्धिकरण र सुदृधिकरणका लागि कुनै न कुनै अभियानहरू शुरू भएभने निश्चित रुपमा यस्ले राष्ट्रिय स्तरमा नै वलियो प्रभाव र सकारात्मक सन्देश दिनसक्छ भन्ने आसा गर्न सकिन्छ। यस्तो प्रतिकूलताका बावजूद पनि आशाका किरणहरू खोज्ने र संभावनाका मार्गहरू पहिल्याउन्दै अगाडी बढ्नुपर्ने भन्नेमा कसैको बिमति रहंदैन।

हामी जस्ता थुप्रै साथीहरू ने. वि. संघ हुदै कांग्रेस भैरहदा हाम्रा मन मष्तिस्कमा  तत्कालिन राजनीतिक अवस्थामा प्रतिवन्धित तरूण पत्रिका र विपीका लेख,अन्तवार्ताहरू, अग्रजको कुराकानी र प्रेरणावाट हाम्रो राजनितिक सोचाई बिकास हुनपुगेको हो।  काँग्रेस भनेको जनताकोलागी काम गर्ने पार्टी, गरीव किसान मजदुरको हित गर्ने पार्टी, जनतालाई मुक्ति दिलाउने पार्टी हो र यसका लागि जीवन बलिदान दिन पनि पछि पर्नुहुदैन भन्ने प्रेरणाले हामीहरु कांग्रेस भएका थियौं। त्यस्तै नेविसंघका नेता कार्यकर्ता, कांग्रेसका नेता कार्यकर्ताको सादगीपूर्ण जीवन उच्च विचार, सहयोगी भावना,नेता कार्यकर्तामा हार्दिकता र प्रेम, गाँउमा जांदा पनि ह्रदय देखिको माया, प्रेम र प्रेरणा पाईन्थो।संगठनको काममा गाउँमा जाँदा  परिवारकै सदस्य आएजस्तो गर्थे गाउँका कांग्रेस नेता कार्यकर्ताले। त्यसैले गौरव लाग्थ्यो कांग्रेस नेबिसंघको कार्यकर्ता  हुँदा पनि ।  पुलिसको पिटाई अनि हिरासत जेलजीवन पनि गौरवका साथ मुकाविला गरिन्थ्यो। त्यस्तै अखिल र मण्डलेहरुले गर्ने भौतिक आक्रमणका साथै  राज्यले लगाउने झुट्टा मुद्धाको मुकाबिला आदि यी र यस्ता हज्जारौं संघर्ष र बलिदानका कुराहरूवाट झन देश र जनताका लागि समर्पित हुने ताकत र उर्जा मिल्थ्यो।

यीनै कुराहरूले गर्दा जनताले पनि कांग्रेसवाट धेरै नै आशा भरोसा र बिश्वास गरेका थिए। तर दुर्भाग्य स्वरसम्राटले भने जस्तो  “उडायो सपना सवै हुरीले “ जस्तै अहिले भैरहेको छ। किन यस्तो परिस्थितिको विकास भयो ? यसको ज़िम्मेवारी कस्ले लिने हो?  के यस्तो परिस्थिति आउनमा नेताहरूको मात्रै हात छ की पार्टिका अन्य सदस्य अर्थात कार्यकर्ताहरूको पनि दोष छ? हामी सबैले गंभिर भएर सोच्नुपर्ने भएको छ ।

जननेता बि पी, बीर गणेशमान, सन्त नेता कृष्ण प्रसाद, क्रान्तिकारी नेता गिरिजा प्रसाद  र लाखौं कार्यकर्ताको संघर्ष र बलिदानले निर्माण गरेको कांग्रेसको त्यो बिरासत र इज्जतलाईसंरक्ष्ण गर्दैजनताको बिश्वास र भरोसाको पार्टी बनाउने ज़िम्मेवारी अहिलेका कांग्रेसका सबै नेता र कार्यकर्ताको काँधमा आइपरेको छ। जसका लागि पार्टीका सम्पुर्ण नेता कार्यकर्ताको  विचार र ब्यवहारमा परिवर्तन र एउटा कठोर  संकल्प गर्नुपर्ने खाँचो छ।

लामो समयको सत्ता र शक्तिको उदमादले कतिपय हाम्रा नेता कार्यकर्तालाई कांग्रेसको मौलिक चरित्रवाट विमुख बनाएको गुनासो सर्वत्र सुनिन्छ। कांग्रेसमा विचार, सिद्धान्त, आदर्श, मान्यता, मुल्य भन्ने विषय हराउदै गयो। कांग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न सकेन। मुलुकमा ब्याप्त  भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न सकेन, सुशासन दिन सकेन, पार्टीको आन्तरिक जिबनमा पनि अन्तरकलह, गुटवन्दी र अन्तरघात बढ्यो भन्ने चिन्ता कांग्रेसका आम कार्यकर्ताहरुमा बढेको देखिन्छ।

कांग्रेसका विभिन्न संगठनिक तथा शासकीय  कम्जोरीको उपजमा नै माओवादी हिंसाले स्थान पायो र अन्तत्वगत्वा कम्यनिष्टहरू लोकप्रिय देखिन पुगे। अधिनायकवादी विचार भएका कम्युनिष्टहरुलाई प्रजातन्त्रको ब्यबहार सिकाउनुपर्ने कांग्रेसका नेताहरु नै कम्युनिस्टको चक्रब्युहमा फसेर उनीहरूकै मुद्दालाई बोक्ने र प्रजातांत्रिक पद्धतिलाई अपागं पार्ने अनि आमजनताको भावना विपरितका मान्यता र मुल्यहरूलाई संविधानमा समावेश गरी मुलुकमा नियमित अस्थिरता र षड्यंत्रमुलक सत्ता आरोह-अवरोह गर्ने जस्तो चक्रब्युहमा (vicious circle)  मुलुक फसेको महसुस आज सर्वत्र गरिएको छ।त्यसैले कांग्रेस पार्टिले यो चक्रब्युह लाई तोडेर मुलुकलाई स्थिरता, सुशासन समुन्नतिमा लैजानको लागि आफ्नै खुट्टामा उभिएर कोर्ष करेक्शन गर्ने आंट, साहस र क्षमता देखाउनपर्ने ऐतिहासिक दायित्व बनेको छ।

त्यसैले ५ वर्ष पछि कस्तो कांग्रेस देख्न चाहानुहन्छ भन्ने  प्रश्न अत्यन्तै समसामयिक छ तर प्रश्नको उत्तर सजिलो छैन किन भने अहिलेको धरातलिय यथार्थता विलकुल प्रतिकुल छ। तर पनि प्रयास गर्नु सवै ईमानदार नेता कार्यकर्ताको धर्म हो ।त्यसैले यस महत्वपूर्ण विषयका सम्बन्धमा केही वुदाँहरू राख्न चाहन्छु।

हरेक वुंदाको व्याख्या हुन सक्छ। तर सामान्य सुत्र अनुसार यो भन्न सकिन्छ कि ” देशलाई सुधार्न कांग्रेस चाहिन्छ, कांग्रेसलाई सुधार्न नेता कार्यकर्तामा चिन्तन, चरित्र, विवेक र संकल्प चाहिन्छ”। ठुला कुरा गरेर पार्टी बन्दैन,देश पनि बन्दैन। तर आज हाम्रा लागि सामान्य कुरा पनि असामान्य लागिरहेको देखिन्छ। बिग्रेको बाटो मर्मत गर्नुपर्छ। गलत कार्य वेलामा नै सच्याउन आँट गर्नुपर्छ। त्यसैले मैले अबका बर्षमा देख्न चाहेको कांग्रेसको बाहिरी आवरणको क्यामराको फोटो होईन की एउटा सिद्धहस्त चित्रकारले कोरेको चित्र, जसमा नेपाली  कांग्रेसको सुवास र चरित्र प्रतिविम्वित भएको हुन्छ यस सम्बन्धमा केही आधारभूत विषयवस्तुमा छोटो Brainstorming मात्र प्रस्तुत गर्ने कोशिस गरिएको छ। ।

१) समग्र पार्टी, नेता कार्यकर्ता एउटा निश्चित विचार सिध्दान्त, मान्यता र मुल्यवाट संचालित भएका हुनेछन। यसैगरि पार्टीको संचालन पु्र्णरूमा विधान अनुसार भएको हुनेछ। विधान सवैका लागी मान्य र समान हुनेछ। विधान विपरित कसैलाई पनि काम गर्ने अधिकार हुनेछैन, तर सबै नेता कार्यकर्ताहरु देश,जनता र पार्टीको बृहत्तर हितको लागि विचार र बहसमा स्वतन्त्र रहेका हुनेछन । जसले पार्टीलाई विचार र बौद्धिकताले  पक्षपोषण गरिरहेको हुनेछ ।

२) नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताले सुसंस्कृत राजनीतिको अभ्यास गरेका हुने छन। पार्टीका नेता कार्यकर्ताको सादगी जीवन नैतिक चरित्र, उच्च विचार, अध्यनशिल र उधमशिल व्यवहारका हुनेछन।। सवै तहका नेताहरूमा देश समाज र आफनो पार्टीको भुमिका र जिम्मेवारी विषयमा सफा चित्र वा भिजन बोकेका हुनेछन। पार्टीका सबै तहका नेता कार्यकर्तामा कुनै पनि सामन्ती संस्कार र ब्यबहार भएको हुनेछैन। पार्टीका  नेता कार्यकर्तामा दासता, गुलामी र चाकडीको सस्कार पटक्कै देखिने छैन। सबै नेता कार्यकर्ताहरुमा सम्यक दृष्टिकोण र  सकारात्मक सोच हुनेछ। पार्टीका नेता कार्यकर्ता विच अत्यन्तै आदर, प्रेम, सदभाव, भाईचारा, पारस्परिक सहयोगको वातावरण भएको हुनेछ भने विरोधी दलका नेता कार्यकर्ताहरूसंग पनि अत्यन्तै शिष्टाचार व्यवहार र वोलीवचन भएका हुनेछन। विरोधीलाई अनावस्यक रूपमा चिढाउने काम गर्नेछैनन र विकास निर्माणका काममा सकभर साथ लिएर हिडने कोशिस गरेका हुनेछन।राजनीतिको प्रतिस्पर्धा विचारमा भएको हुनेछ। देश र जनताका मुद्धामा केन्द्रित भएको हुनेछ। जनताको सेवा र विकास निर्माणमा कस्को विचार राम्रो ? कस्को कार्यक्रम राम्रो ? भन्ने विषयमा केन्द्रित भएको हुनेछ। समाजमा यी सबै कुराको पहिलो उद्धरण कांग्रेस पार्टी र यसका नेता कार्यकर्ता भएका हुनेछन ।

३) पार्टीले विभिन्न गुट उपगुटहरुलाई पनि विना भदभाव योग्यता र क्षमता अनुसार काम र अवसरको वितरण भएको हुनेछ।गुट उपगुटमा रहेका नेता कार्यकर्ताले पनि विधान र पार्टी निर्णयलाई पुर्णरूमा पालना गरेका हुनेछन।पार्टीका गुट उपगुटमा रहेका पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो विचार र ब्यबहारमा पूर्वाग्रही रहेका हुनेछैनन्।पार्टीमा अनेकतामा एकता ( unity in diversity )भावना कायम रहेको हुनेछ।साथै पार्टी भित्र दुख गरेका सबै नेता कार्यकर्ताको  काम, योग्यता र  क्षमता अनुसार मुल्यांकन गरिने पद्दतिको विकास गरिएको हुनेछ।

४) पार्टी नेताको आर्थिक व्यवहार पारदर्शी हुनेछ र राज्य सत्तामा सहभागी भएमा जांदा र आउदा आफनो सम्पति सरकारी निकायवाट जांच गराएका हुनेछन र उनिहरूमा कुनै आर्थिक हिनामिनाको आरोप लागेको हुनेछैन। साथै गंभिर फौजदारी अभियोग तथा आर्थिक हिनामिनाको आरोप प्रमाणित भएका कुनै पनि नेता कार्यकर्तालाई पार्टीको कुनै पनि स्थानमा राखिएको हुनेछैन।

५) पार्टीको सवै तहका कमिटिको आर्थिक कारोवार पारदर्शी भएको हुनेछ र वार्षिक रूपमा स्वतन्त्र अडिट गरि राखिएको हुनेछ। पार्टिका सबै तहका पार्टी सदस्यहरूले आफ्नो परिस्थिति अनुसार पार्टीलाई विभिन्न किसिमबाट सक्दो योगदान दिईएको हुनेछ। पार्टि सदस्यहरू नामक शुभ चिन्तकहरू बाट प्राप्त योगदानको यथोचित रूपमा सदुपयोग गरिएको हुनेछ ।

६) भातृ संस्थाहरुको संचालन पनि विधान अनुरूप गरिएको हुनेछ। सबै संगठनहरूको अधिवेशन विधान अनुरूप निर्धारित समयमा नै गरिएको हुनेछ। पार्टीले सवै भातृ सस्थालाई सक्रिय वनाउन विभिन्न कार्यक्रमहरु संचालन गरेको हुनेछ। भातृ संस्थाहरू राजनिति भन्दा व्यवसायीक विकासमा केन्द्रीत भएर आआफनो क्षेत्रका कार्यकर्ता र जनतालाई सक्षम वनाउन दिलो ज्यान दिएर काम गरेका हुनेछन। युवावर्गलाई आकर्षित गर्ने र उनिहरूलाई रचनात्मक  र उत्पादनशिल बनाउन विभिन्न क्षमता विकास वा नेतृत्व विकासका नविनतम कार्यक्रमहरू नेविसंघ तथा तरूण दलले गरिरहेका हुनेछन भने कृषकहरूलाई आधुनिक कृषी प्रविधी र वजार व्यवस्थापनका लागी सम्वन्धित निकायको ध्यान आकर्षित गर्ने र किसानहरूलाई विभिन्न अवसरहरूको उपलव्धता भएको हुनेछ भने महिला संघले महिला दिदि वहिनीहरूको शिप, उध्धम तथा रोजगारी, विकास, स्वास्थ, प्रजनन, शिशुस्याहार तथा  विकास लगाएतका विषयमा क्रियाशिल रहेका  हुनेछन।

७)  पार्टि तथा भातृ संगठनहरूमा नेतृत्व विकासका कार्यक्रमहरू व्यापक रूपमा संचालन गरिएको हुनेछ। जसले गर्दा एक से एक जेहन्दार अध्ययनशिल, चरित्रवान, कर्मठ र प्रभावकारी यूवा नेताहरूको विकास भएको पाईनेछ।

८) पार्टीमा नयाँ प्रवेश गर्ने योग्यता र क्षमता भएका प्रभावकारी व्यक्तित्वहरुलाई उपयुक्त स्थान र जिम्वेवारी दिइएको हुनेछ भने पार्टीमा लामो समय संघर्ष र त्याग तपस्या गरेका पार्टीका धरोहर मानिएका श्रद्धेय ब्यक्तित्वहरुलाई पनि उचित मान सम्मान र जिम्मेवारी दिएको अवस्था र व्यवस्था विकास गरिएको हुनेछ। नेपाली कांग्रेस पार्टी नेपालको सबै पुरानो पार्टी भएकोले यसका नेता कार्यकर्ताहरुको पनि बिबिध चरित्र पाईन्छ। कोहि नेता कार्यकर्ताहरु २००७ सालको आन्दोलन देखेका, कोहि ३० बर्षको राजाको तानाशाहीसंग संघर्ष गरेका, कोहि माओवादीको हिंशा र आतंकका बिरुद्ध जुधेका, कोहि राजा ज्ञानेन्द्रको तानाशाही बिरुद्ध लडेका प्रजातन्त्रका सेनानीहरु छन् भने कोहि त्यसपछि मुलुकमा प्रजातन्त्र आएपछि देश र जनताका लागि सुशासन र विकासको सपना देखेर प्रजातान्त्रिक मान्यता र मूल्यप्रति समर्पित भई गौरवशाली कांग्रेस पार्टीको सदस्य भई समाजलाई नेतृत्व गर्छु भन्ने सपना बोकेका युवाहरुको ठुलो जमात पनि कांग्रेस भित्र देखिन्छ। तसर्थ यी सबै तहतप्का र अवस्थाबाट नेपाली कांग्रेसमा जोडिएका सबै नेता कार्यकर्ताहरुलाई संयोजन गरेर एउटा जीवन्त पार्टी संचालन गर्ने  क्षमता, गतिशिलता र दुरदर्शिता भएको पार्टी नेतृत्वको बिकास सबै तहमा भएको हुनेछ।

९) पार्टीका हरेक तहमा मासिक, त्रैमासिक, अर्धबार्षिक र वार्षिक कार्यतालिका निर्धारण भएको हुनेछ र यसको पुर्ण पालना भैरहेको हुनेछ। यी कार्यहरुको सुपरिवेक्षण र मुल्यांकनको काम पनि माथिल्लो निकायवाट नियमित रूपमा भैरहेको हुनेछ।

१०) पार्टीका जिल्ला प्रदेश र केन्द्रमा अद्धयन,अनुशन्धान तथा मुल्याकन बिभाग बनाएको हुनेछ। पार्टीका हरेक तहमा कार्यकर्ताको क्षमता,लगनसशिलता, क्रियाशलताको मुल्यंकन पार्टीको कुनै निस्पक्ष निकाय ले गर्ने छ । पार्टीले निर्वाचन तथा अन्य कुनै जिम्वेवारी दिदा यस बिभाग मुल्याकनलाई आधार वनाएको हुनेछ।यसले पार्टिका कार्यक्रमहरू एबं नेता कार्यकर्ताहरूको कामको मुल्यंकन गर्ने,दस्ताबेज राख्ने तथा समसामयिक राजनीतिक घटनाक्रमको विवेचना र अनुसंधान गरी आवस्यकताअनुसार पार्टि नेतृत्व तथा पार्टी संगठनलाई प्रशिक्षित गराएको हुनेछ।

११ ) पार्टीका सबै तहमा प्रशिक्षण बिभाग क्रियाशील भएका हुनेछन। सबै तहमा प्रशिक्षणको नियमित कार्यक्रम संचालन भैरहेको हुनेछ, जसमा कार्यकर्तालाई पार्टीको वैचारिक पक्ष, विरोधीका कुरा अथवा विराधीले कांग्रेसलाई लगाऊने आरोपको खण्डनको कुरा मात्र होईनकी नेपाली कांग्रेस पार्टीको जन्म को मूल धेय के थियो? यसको सिद्धान्त मान्यता मुल्य के हो ? नेपाल इतिहास, विश्वको  इतिहास , केहि बिश्वबिख्यात क्रान्तिहरु, दार्शनिक वा चिन्तकहरुको परिचय पनि प्रशिक्षण को बिषयबस्तुमा राख्नुपर्ने हुन्छ। यसैगरि मुल रुपमा स्थानीय तहमा रहेका भुइँ मानिसहरुको सुखदुखमा कसरी साथ दिने? जनताले मन पराउने,माया गर्ने पात्र कसरी वन्ने, विकास निर्माणका काममा कसरी सहयोगी वन्ने,अन्याय अत्याचार एवं भ्रस्टाचारको विरोध र जनचेतना कसरी वढाउने भन्ने विषयमा छलफलहरू प्रशिक्षणका विषयवस्तु भएका हुनेछन।

१२) पार्टिका सबै तहका नेता कार्यकर्ताहरू उध्यमशिल भएका हुनेछन।सबैको धेरै थोर कमाई आफनै व्यापार व्यवसायवाट भएका हुनेछ।आर्थिक रूपमा आत्मनिर्भर भएका हुनेछन। पार्टीका कार्यकर्तालाई मात्र उधमशील बन्ने बनाउने होइन कि आम जनतालाई पनि उधमशील बन्न प्रेरणा दिने र आवस्यक  सहयोग तथा वातावरण निर्माण भएको हुनेछ।

१३) नेपाली कांग्रेसको राजनिति गर्न कसैलाई पनि आर्थिक दवाव भएको हुने छैन । पार्टिका कुनै पनि तहका उमेदवार हुन पार्टि संगठनमा गरेको योगदानका साथै उसको योग्यता क्षमता र लोकप्रियतालाई मुल्यानकनको आधार मानिएको हुनेछ।

१४) पार्टीका हरेक तहका कार्य समितिहरूले आफ्नो तहका सरकारी निकाय वा निर्वाचित निकायको कार्यसम्पादनको नियमित सुपरिवेक्षण र आवस्यकता अनुसार सचेत गराउनेछन र माथिल्लो पार्टि नेतृत्व वा निकायलाई रिपोर्टिंग नियमित रूपमा गरेका हुनेछन ।

१५) पार्टीका सबै तहमा right man in right station को सिद्धान्त अनुरूप योग्यता र क्षमताको उच्च कदर गरिएको हुनेछ। पार्टिकाअवसरहरूको वितरणमा कुनै पक्षपात र अपारदर्शी व्यवहारहरू सुन्न पाईनेछैन र कसैले यस्तो अनैतिक र पार्टि विधान विपरीत कार्य गर्ने हर्कत गरेमा पर्टि कार्यकर्ताहरूले कड़ा रूपमा त्यसको प्रतिवाद, प्रतिरोध गरेका हुनेछन। पार्टिका सबै तहका नेता र कार्यकर्ताहरु उच्च स्तरको नैतिक चरित्र र आलोचनात्मक चेतनाले सम्पन्न भएका हुनेछन ।

१६) २१सौं शताव्दीको प्रजातान्त्रीक पार्टि भएकोले यस्तो संगठन विधि र प्रक्रियामा आधुनिक संचार प्रविध हरूको उच्चतम प्रयोग भएको हुनेछ।पार्टीका सबै तथ्यांकहरू डिजिटलाईज गरि सुरक्षित गरिएको हुनेछ। सूचना र संचार प्रविधिको असल र प्रभावकारी प्रयोगबाट जनतामा नेपाली कांग्रेसको गतिविधि तथा कार्यक्रमहरूको नियमित संप्रेषण भैरहेको हुनेछ।

१७) सवै तहका पार्टी कमिटीहरूले मासिक रुपमा सूचना र कार्यक्रम सम्वंधी सानो सूचनामुलक पर्चा वा पुस्तिका प्रकाशित गरेको हुनेछन र यसलाई विभिन्न सा्र्वजनिक ठाउँमा रहेका सूचनापार्टीहरूमा टाँस गर्नुका साथै स्थानिय पर्त्रिकामा र सामाजिक संजालमा समेत राखिएको हुनेछ। जसले गर्दा पार्टीका सवै तहका नेता कार्यकर्तालाई र आम जनतालाई पार्टीका सवै गतिविधिहरूको वेलामा नै जानकारी भैरहेको हुनेछ।

१८) नेपालमा बहुसाँस्कृत , बहुभाषिक र बहुजातीय समाज रहेकोले नेपाली कांग्रेस पार्टीमा सबै जातजातिका,वर्ग ब्यबसाय धर्म संकृति प्रति समान र सम्मानजनक व्यवहार प्रकट गरेको हुनेछ साथै आम नेपालीहरु हिन्दु सनातन धर्म सस्कृतिका अनुयायी रहेको हुनाले संबिधानमा रहेको धर्म निरपेक्ष भन्ने शब्द हटाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य नेपाल घोषणा गर्न नेतृत्वदायी भूमिका खेलको हुनेछ।

१९) २०४६ साल पछि सरकारी ओहदामा गएका उच्चपदस्त नेता तथा कर्मचारी र तिनका नातापाता समेतको सम्पति छानविन गर्ने उच्चस्तरीय अधिकार सम्पन्न आयोगले कडाई साथ छानविन गरिरहेको हुनेछ र यस अभियानको नेतृत्व  र निगरानी कांग्रेस पार्टीले गरिरहेको हुनेछ। साथै कांग्रेसकै पहलकदमीमा ०४६ साल पछिका सबै भ्रष्टाचारका फाईलहरू खोलिएका हुनेछन यसमा दोषीहरुले कडा सजाय भोगिरहेका हुनेछन। कांग्रेस पार्टीका सबै सत्तामा गएका नेताहरु पनी आफ्नो सम्पतिको जाँच गराई जनतालाई आफुले कुनै अनिमितता नागरेको कुरा प्रम़ाणित गरेर उच्च नैतिक चरित्र भएका नेताहरुको रुपमा नेपाली जनताले बिश्वास गरेका हुनेछन।

२०) पार्टिले २०७२ को संविधानमा जनआवाज़ र जनमतको पर्याप्त अध्ययन नगरि प्रजातन्त्रलाई कमजोर अवस्थामा राख्ने कम्युनिस्टहरूको दवाव र षड्यन्त्रको जालमा परि समावेश गरेका धर्म निरपेक्षता, संघियताको प्रदेश सरकार संवन्धी व्यवस्था, प्रतिनिधि सभामा राखिएको समानुपातिक निर्वाचन व्यवस्था र यसको प्रयोग, संबिधानमा अस्पष्ट रुपमा उल्लेख गरिएको‘समाजवाद उन्मुख राज्यको अवधारणालाई परिभाषित गर्ने आदि विषयमा आम जनताको भावना अनुसार संविधान संशोधन गर्न कांग्रेसका नेताकार्यकर्ताहरूको एउटै दृष्टिकोण र विचार बन्दै गएको हुनेछ र यो मार्ग सुधार        (course correction )को एतिहासिक जिम्मेवारी पनि नेपाली कांग्रेसको नेतृत्वले सम्पन्न गरेको हुनेछ।

२१) काँग्रेस पार्टी मुलुककै सबैभन्दा पुरानो माउ पार्टी, सबै भन्दा ठुलो पार्टी मात्र होइन कि आज सम्मका सबै क्रान्ति र आन्दोलनको लागि कठोर संघर्ष र बलिदान गरी नेपालीलाई सार्बभौम शक्ति र जनाधिकार सपन्न जनता बनाउन सफल पार्टी हो ,  कांग्रेसले यो मुलुकका जनताको सुख शान्ति,समृद्धि र समुन्नती प्राप्ति गर्ने आकांक्षालाई पुरा गर्नेका लागि एकल बहुमतका सरकार बनाउन दरो संगठन र गतिशील नेतृत्व  निर्माण गर्ने अभियान संचालन भएको हुनेछ।

अन्तमा,  नेपाली काग्रेस पार्टिले पुनर्जागरण र पुनर्निर्माणको गतिलाई तिव्रताका साथ अगाडि बडाएको हुनेछ। पार्टिका हरेक निकायमा योग्यता र क्षमताको कदर र प्रतिस्पर्धा भएको हुनेछ। हरेक तहमा योग्यता,अनुभव र स्वच्छ चरित्र भएका गतिशिल नेतृत्व निर्माण भएको हुनेछ। पार्टीभित्र व्यापक रूपमा एकता र समझदारीको वातावरण विकास भएको हुनेछ। कांग्रेसको मान्यता मुल्य र सिद्धान्तको जगर्ने हुनेगरी नेता कार्यकर्ताले जनताले भरोसा गर्न सक्ने पार्टिको रूपमा पुर्नजागृत कांग्रेस भएको हुनेछ। कांग्रेसको निरन्तरको खवरदारीले सरकारका सबै तहमा विकास निर्माण र सुशासनमा कतै पनि कोही पनि चुकेका हुने छैनन।

सिंगापुरका निर्माणकर्ता ली कुवान यु ले भनेका थिए कि “राष्ट्र निर्माणमा राजनैतिक दलहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। राजनैतिक दलको अनुशासित, योग्य र गुण युक्त नेतृत्वले मात्र मुलुकको आर्थिक विकास र सामाजिक एकतालाई हाँकन सक्छ”। नेलसन मण्डेलाको विश्वास थियो कि ” राजनैतिक पार्टीसंग बिबिधतामा रहेको जनतामा सामाजिक एकता र आर्थिक विकास गर्ने तागत रहेको हुन्छ”

त्यसैगरी जननायक बिपी कोइराला ले भन्नुभएको थियो कि “नेपालको भबिष्य समावेशी शासन,सामाजिक न्याय र आर्थिक बिकासमा निर्भर छ। यसका लागि प्रजातात्रिक मूल्य र मान्यताहरु जस्तो सहिष्णुता, बहुलवाद र मानव अधिकारको सम्मान गर्ने जीवन्त र जवाफदेही राजनैतिक प्रणालीआबश्यक छ।” जसका लागि कांग्रेसका तल्लो तह देखि पार्टी को सर्वोच्च तहमा रहेका सबै नेता कार्यकर्ताहरुले जुन साहस बलिदान र संघर्षबाट २००७ सालको, २०४६ सालको र ०६२/६३ सालको क्रान्ति र आन्दोलन गरेका थिए,  त्यहि भावना र चरित्र अनुसार नेपाली कांग्रेसक सबै तहका नेतृत्वले पार्टी संगठनको व्यवस्थापन र सरकार, सुशासन, कानुनी शासनको व्यवस्थापन साथै जनता र देशको समुन्नती एबम  सम्वृद्धिका लागि विकास निर्माणलाई राष्ट्रिय आन्दोलनका रुपमा हाक्ने उच्च मनोबल र आत्मविश्वास देखाएको हुनेछ।

                                                                                                                                                जय नेपाल

                                                                                                                               पोखरा ६, बैदाम (हाल -जापान ) 

                                                                              

५ जेष्ठ २०८१, शनिबार २०:५४ मा प्रकाशित
Nabintech