Play

लघुवित्त पीडित महिलाको जम्बो टोलि आकस्मिक रूपमा संसद भवनमा, सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

संसद भवनमा यस्तो घटना कसरि भयो ?- गृह मन्त्री, आकस्मिक रूपमा महिलाको जम्बो टिम संसद् भवनमा पुगे- सुरक्षा प्रमुख


गुरुकुल खबर


काठमाडौँ । सोमबार लघुवित्त ऋणीहरूले संघीय संसद् भवनमा प्रवेश गरेपछि सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न चिह्न खडा भएको छ । निषेधित क्षेत्रभित्र रहेको नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितहरू प्रवेश गरेर प्रदर्शन गरेका हुन् ।

भित्र बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले संसद् भवनको दुई नम्बर गेटबाट प्रदर्शनकारी भित्र छिरेको सूचना प्राप्त भएको बताए । लघुवित्त पीडितहरू सिफलमा बस्दै आएका थिए । उनीहरूले केही दिनयता काठमाडौँमा आन्दोलन गर्दै आए पनि आजका लागि कुनै कार्यक्रम तय भएको थिएन ।

सुरक्षा स्रोतका अनुसार विरोध प्रदर्शनका कार्यक्रम तय नभएपछि प्रहरीले पनि विशेष सुरक्षा योजना केही बनाएको थिएन ।  तर, एकाएक उनीहरू रणनीतिक रूपमा आन्दोलनका लागि संसद् भवन आउँदा प्रहरी नै अलमलमा परेको बताइएको छ ।

एक प्रहरी अधिकारीका अनुसार संसद् भवनको दुई नम्बर गेटमा प्रहरीको सङ्ख्या न्यून थियो । सोही क्रममा बस चढेर आएका आन्दोलनकारी एकाएक भित्र छिर्न भ्याइहाले भने प्रहरीले नियन्त्रण गर्नै भ्याएन ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले भने गेटमा प्रहरी कम भएको बेला भित्र छिरेको हुनसक्ने बताए । ‘‘आन्दोलनकारीहरू मौका छोपेर भित्र प्रवेश गरेको जस्तो देखिन्छ’, थप बुझ्ने काम भइरहेको छ’, उनले भने ।

स्मरणीय त के छ भने संसद् भवनमा प्रहरीको स्पेसल टास्क फोर्स खटाइँदै आएको छ  । तर, पनि आजको घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको जानकारहरू बताउँछन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेको भन्दै प्रदर्शनकारी पैदल हिँडेरै काठमाडौँ आएका थिए । संसद् पसेपछि उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै सुतेर विरोध जनाएका थिए ।  यो क्रममा तीन दर्जन भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

दुई दर्जन प्रहरी कर्मचारी जिम्मेवारीबाट मुक्त 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका दुई दर्जन प्रहरीलाई फिर्ता बोलाइएको हो ।

उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । ‘अवधि पनि पुगेको थियो। अहिले यो घटना पनि हुन पुग्यो । दुई दर्जन जति प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भइसकेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।

लघुवित्तका ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा श्रेष्ठले आकस्मिक तीन वटै सुरक्षा निकायका प्रमुख र उपत्यकामा शान्ति सुरक्षा कायम गर्न खटिएका जिम्मेवार अधिकारीहरूसँग छलफल गरेका हुन् ।

आकस्मिक रूपमा महिलाको जम्बो टिम संसद् भवनमा पुगे- सुरक्षा प्रमुख

सुरक्षा प्रमुखहरूले सोमबार संसद् चलिरहँदा ‘आकस्मिक रूपमा महिलाको जम्बो टिम संसद् भवनमा पुगेको’ ब्रिफिङ गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘संसद् भवनमा यस्तो घटना किन भयो ?’ भनेर सुरक्षा प्रमुखहरूलाई प्रश्न गरेका छन् ।

छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत सहभागी थिए ।

सुरक्षा प्रमुखहरूले ४८ जना महिलाको टिम एकै पटक प्रवेश गरेपछि सङ्घीय संसद्को नम्बर–२ गेटमा सुरक्षार्थ खटिएका प्रहरीले रोक्न नसकेको ‘ब्रिफिङ’ गरेका छन् । गौशालास्थित सिफलमा बसिरहेका लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले आफ्नो औपचारिक कार्यक्रम नभएको बताएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको थिएन । तर, सिफल तथा अन्यत्र होटलमा बसेका आन्दोलनकारीहरू अचानक आएपछि स्थिति नियन्त्रण बाहिर गएको विश्लेषण गरिएको छ ।

प्रहरीले १ जना पुरुष र ४८ जना महिलालाई पक्राउ गरेको छ । ‘पहिले बसेको ठाउँ सिफलबाट वनकालीमा सर्नुपर्ने भनेर आन्दोलनकारीहरूले कार्यक्रम छैन भनेका थिए’ गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्–‘महिलाहरू अप्रत्याशित आए, गेटमा दुई जना पुरुष प्रहरी मात्रै हुँदा थेग्न सकेनन् ।’

बैठकमा सुरक्षा प्रमुखहरूले संसद् भवनमा भएको घटनामा कमजोरी भएको ‘महसुस’ गरेको छलफलमा सहभागी एक अधिकृत बताउँछन् । लघुवित्तका ऋणबाट पीडित महिला भनेर ‘सहँदा’ अप्रत्याशित घटना भएको विश्लेषण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद् भवनको बाहिरी घेरामा खटिएका दुई दर्जन बढी सुरक्षाकर्मीलाई फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षाका लागि त्यहाँ नयाँ टिम पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा ‘यस्ता गल्ती नगर्न’ निर्देशन दिएका छन् ।

रातो पाटीबाट

१४ फाल्गुन २०८०, सोमबार २२:०७ मा प्रकाशित
Nabintech