काठमाडौं । मुलुकमा आर्थिक मन्दी र राजस्व चुहावट र छलिका घटना बढेर सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकिरहेको छैन । अहिले आयातकर्ताहरूले भन्सार नाकाबाटै कर्मचारीहरूको मिलेमतोमा राजस्व चुहावट गर्दै आएको आरोप लागिरहेको छ । आन्तरिक राजस्व कार्यालयबाट पनि लक्ष्य अनुसार आयकर, भ्याट र अन्तशुल्क उठ्न नसकेको स्थिति छ । आन्तरिक राजस्व विभागले पछि रिअडिट गराएर पनि चुहावट भएको राजस्व उठाउन सकिरहेको छैन ।
राजस्व कम संकलन हुँदा २०८० पुस मसान्तसम्म सरकार ७३ अर्ब भन्दा बढी सरकार घाटामा छ । आन्तरिक ऋण लिएर सरकारले खर्च धान्दै आएको छ । राजस्व कम उठेकाले विकास निर्माणका योजना अगाडि बढाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चितता नदिंदा प्राथमिकता प्राप्त दर्जनौं आयोजनाहरू थाती रहन पुगेका छन् । सरकारले लक्ष्य अनुसार राजस्व उठाउन नसक्दा कर्मचारीको तलव भत्ता, कार्यालयको स्टेशनरी तथा मसलन्द, इन्धन खर्च, मर्मत–सम्भार, पूर्व कर्मचारीहरूको पेन्सन, सामाजिक सुरक्षा भत्ता वितरणमा दबाब परेको छ । राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न पनि धौःधौ परेको स्थिति छ ।
मुलुकको यो अवस्थामा राजस्व चुहावट र छलि हुन नदिन महानिर्देशक नवराज ढुंगाना नेतृत्वको राजस्व अनुसन्धान विभाग भने सकृय हुन सकेको छैन । विभागले दक्ष जनशक्ति, स्रोत साधन, पर्याप्त बजेटको अभाव र राजस्व चुहावट सुराकी नपाउँदा प्रभावकारी रूपमा राजस्व चुहावट नियन्त्रण गर्न नसकिरहेको स्रोतको दावी छ ।
चालु आर्थिक वर्ष २०८० को साउन १ गतेदेखि माघ १२ गतेसम्म विभागले राजस्व चुहावटतर्फ २५ वटा मुद्दामा ४५ जना अभियुक्तविरूद्व १ अर्ब ६२ करोड रूपैयाँ बराबरको बिगो तथा सजाय माग दावी गरि मुद्दा चलाएको छ । विभागले गत वर्ष सोही अवधिमा ३४ वटा राजस्व चुहावटका मुद्दामा ५९ जना अभियुक्तलाई विपक्षी बनाई १ अर्ब ४५ करोड रूपैयाँ बराबरको बिगो तथा सजाय माग दावी गरेको थियो ।
यसैगरि विभागले विदेशी विनिमय अपचलनतर्फ सोही अवधिमा ४० वटा अभियोगमा ८६ जनाविरूद्व ३६ करोड ६५ लाख रूपैयाँको बिगो कायम गरि १ अर्ब ९ करोड ९५ लाख रूपैयाँ बराबरको सजाय माग दावी गरि विदेशी विनिमय अपचलन मुद्दा दायर गरेको बताइएको छ । सोही अवधिमा गत वर्ष विभागले यस्ता ४३ वटा उजुरीमा छानविन गरि ६९ जनाविरूद्व २४ करोड ४ लाख रूपैयाँको मात्र विदेशी विनिमय अपचलन मुद्दा दायर गरेको थियो । गत वर्ष सजाय माग दावी गरिएको थिएन ।
यस्तै विभाग स्रोतका अनुसार, चालुु आर्थिक वर्षको २०८० माघ १२ गतेसम्म १३ करोड ४५ लाख रूपैयाँ बराबरको धरौटी रकम राजस्व संकलन गरिएको छ । गत वर्ष सोही अवधिमा १३ करोड रूपैयाँ धरौटी रकम राजस्व संकलन गरिएको थियो । यसैगरि विभागले भिसिटिएसतर्फ ६ सय ९३ सवारीसाधनबाट २ करोड ७६ लाख ६० हजार रूपैयाँ जरिवाना रकम उठाएको छ ।
जबकि गत वर्ष सोही अवधिमा ४२७ सवारीसाधनबाट रु. २ करोड ५४ लाख रकममात्र भिसिटिएसबाट उठेको थियो । राजस्व चुहावट तथा छलि हुने क्षेत्रमा विभाग र मातहतका चार वटा राजस्व कार्यालयहरूले २०८० माघ १२ गतेसम्म ९ सय १९ वटा गस्ती परिचालन गरेको छ । गत वर्ष सोही अवधिमा ७ सय ४२ वटामात्र गस्ती परिचालन भएको विभागका सूचना अधिकारीले बताएका छन् ।