Play

मर्दी हिमाल पदयात्रा गर्ने तरिका

रुपनारायण ढकाल


पोखरा, छोटो समयमा हिमालको फेदीसम्म पुग्न सकिने पदयात्रा हो मर्दी हिमाल पदयात्रा । गुराँसै गुराँसले भरिएको जंगलभित्र डाँडाको नाकनाकै यात्रा गर्दा रोमाञ्चक अनुभव हुन्छ । लहरै लहराले जेलिएका पुराना रुखहरुको समीप पुग्दा छुट्टै संसारमा पुगेको प्रतित हुन्छ । डेढ दशक अघिसम्म गोठमा रात काट्दै पदयात्रा गरिने यो क्षेत्रमा अहिले भने पाँच दर्जन होटल बनिसकेका छन् । यहाँ पदयात्रा गर्ने मध्ये ८० प्रतिशत भन्दा बढी आन्तरिक पर्यटक नै रहने गरेका छन् । चैत, बैशाख र असोज, कात्तिक जस्ता महिनामा यहाँको पदयात्रा उपयुक्त हुन्छ ।

उकालो यात्रामा बल गरेर हिंड्दा हाई अल्टिच्यूड सिकनेस अर्थात् लेक लाग्ने समस्या हुन सक्छ । त्यसकारण छोटो थकाई मार्दै विस्तारै र निरन्तर हिंडिरहनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । झोलिलो खानामा जोड गर्नुपर्छ । टेक्नका लागि लौरी, टर्च लाइट वा टाउकोमा बाँध्न मिल्ने हेड ल्याम्प, पावर बैंक, सानो थर्मस जस्ता सामग्री साथमा लानु बुद्धिमानी हुन्छ । उचाईसँगै चिसो बढ्दै जाने र मोवाइल वा क्यामेराको ब्याट्रिको चार्ज घट्दै जाने कुरालाई ख्याल गर्नुपर्छ । मर्दी पदयात्रामा विद्युत सेवा छैन, सोलार पावरको प्रयोग गरिएको छ । सामान ढुवानीका लागि घोडा र खच्चड अनि भरिया प्रयोग गर्ने गरिन्छ ।

यो पदयात्राको तल्लो भागमा एक हजार छ सय र माथिल्लो भेकमा दुई हजार रुपैयाँका प्याकेज स्थानीय होटलकर्मीले पर्यटकका लागि बनाएका छन् । प्याकेज अन्तर्गत बेलुकाको सादा खाना, कोठाको सुताई र विहानाको नास्ता समेटिएको छ । विहानको खानाका लागि अतिरिक्त रकम खर्च गर्नुपर्छ । सादा खानाको छ सय रुपैयाँदेखि सात सय रुपैयाँ पर्छ । आलु, ढकायो भनिने एक प्रकारको जंगली सागको गुन्द्रुक, सिजन अनुसार टुसा लगायतका स्थानीय खान्की पनि यहाँ चाख्न पाइन्छ । यहाँ पदयात्रा गरेवापत नेपाली पदयात्रीले कास्कीको माछापुच्छ«े गाउँपालिकालाई एक सय रुपैयाँ तिर्नुपर्छ । यो यात्रामा खानेकुराका लागि बढी नै मूल्य चुकाउनुपर्ने कारण स्याउ, केरा र चकलेट तथा ड्राई फ्रुट्स लिएर जाँदा राम्रो हुन्छ । एक जोर न्यानो कपडा र अन्य हल्का कपडा लानु राम्रो हुन्छ । कपडामा भन्दा खानेकुरामा जोड गरे यात्रा सहज र सस्तो पर्छ ।

पोखरा–बाग्लुङ जोड्ने भूपि शेरचन राजमार्ग अन्तर्गत पर्ने काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथना, पितम देउराली हुँदै यात्रा अगाडि बढाउन सकिन्छ । यसैगरी सोही राजमार्ग अन्तर्गत पर्ने फेदीबाट धम्पुस, पोथना हुँदै पनि पितम देउराली पुग्ने अर्को बाटो छ । मर्दी पदयात्राका लागि तेश्रो बाटो भने भूपि शेरचन राजमार्ग अन्तर्गत नै पर्ने हेम्जा मिलनचोकबाट सिदिङ सम्म जीप यात्रा गरी लो क्याम्पसम्म पुग्ने रहेको छ । चौंथो मार्गबाट मिलनचोक, कालिमाटी हुँदै फरेष्ट क्याम्प पुग्न सकिन्छ । फेदीबाट धम्पुस हुँदै पितम देउराली सम्म जीप सेवा पनि उपलब्ध छ । पितम देउरालीबाट देउराली, लभ्ली हिल, डुँड खर्क, मुसलबारी, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प हुँदै बादल डाँडा पुग्न सकिन्छ । बादल डाँडाबाट कुहिरो र बादल नजिकबाट महसुस गर्न सकिन्छ । यहाँभन्दा माथि जंगलको सट्टा उचाईका कारण साना खालका बुट्यान मात्र देख्न पाइन्छ । बादल डाँडाबाट हाइक्याम्प पुग्न सकिन्छ ।

हाइ क्याम्पबाट विहान चार बजे टर्च बालेर हिंडेपछि करिव दुई घण्टामा चार हजार दुई सय मिटर उचाईको मर्दी भ्यू प्वाइन्ट पुगिन्छ । भ्यू प्वाइन्ट पुग्ने बाटो साँघुरो र भिरालो खालको छ । यहाँका केही अस्थायी छाप्रामा एक कप तातो पानीकै एक सय रुपैयाँ पर्छ । भ्यू प्वाइन्टबाट माछापुच्छ«े हिमाल निकै सुन्दर र नजिक देखिन्छ । सँगै रहेको छ– मर्दी हिमाल । अन्नपूर्ण साउथ र गंगापूर्ण जस्ता हिमाल पनि यो यात्रामा अवलोकन गर्न सकिन्छ । भारि हिमपात हुँदा मर्दी भ्यू प्वाइन्ट र वरपरको दृष्य मनमोहक हुन्छ ।

हाइक्याम्पबाट दुई घण्टामा पुगिने चार हजार पाँच सय मिटर उचाईमा रहेको मर्दी हिमाल बेसक्याम्पसम्म सबै पदयात्री जाँदैनन् । बेसक्याम्पमा खानपानको व्यवस्था नभएको, उचाई बढ्दै जाने र दृष्य पनि भ्यू प्यवाइन्टबाटै राम्रो देखिने कारण सीमित पदयात्री मात्र बेसक्याम्प जाने गर्छन् । अहिले आधुनिक नामले चिनिने भए पनि यहाँका स्थलका आफ्नै मौलिक नाम पनि छन् । अष्ट्रेलियन क्याम्पको पुरानो नाम ठूलाखर्क हो । फरेस्ट क्याम्पलाई कोकर, रेष्ट क्याम्पलाई चुपरुङ डाँडा, लो क्याम्पलाई हुमल, मिडल क्याम्पलाई बादल डाँडा, हाइ क्याम्पलाई क्हयु र भ्यू प्वाइन्टलाई एक्ले देउराली वा बगाले देउराली पनि भन्ने गरिन्छ ।

नेपालीका लागि यो पदयात्रा दुई रात तीन दिनको उपयुक्त हुन्छ । दुई वटा रात क्रमशः दुई हजार एक सय मिटरमा पर्ने फरेष्ट क्याम्प र तीन हजार पाँच सय ५० मिटर उचाईमा पर्ने हाइ क्याम्पमा बिताउनु उपयुक्त हुन्छ । फर्कँदा भने एकै दिनमा लो क्याम्पबाट सिदिङ हुँदै त्यहाँबाट जीप चढेर पोखरा पुग्न सकिन्छ । हिंड्न सक्नेका लागि पोखराबाट सिदिङ हुँदै एक दिनमै हाइक्याम्प पुगेर भोलिपल्टै पोखरा फर्कन सक्ने विकल्प पनि रहेको छ ।


तस्वीरहरु : रुपनारायण ढकाल

 

 

 

 

 

४ मंसिर २०८०, सोमबार १४:३२ मा प्रकाशित
Nabintech