Play

दशैं लागेसँगै हिमाली जिल्लाका भेडाच्यांग्रा पोखरामा

गुरुकुल खबर


पोखरा, दशैं लागेसँगै पोखरामा हिमाली जिल्लाबाट भेडाच्यांग्रा आइपुगेका छन् । अहिले पोखराको उत्तरी भागमा च्यांग्रा व्यापारी र ग्राहकहरु भेडाच्यांग्राको मोलमोलाईमा व्यस्त रहेका छन् ।

दशैंका लागि साइपाल हिमालतिरका भेडाच्यांग्रा पोखरा ल्याइएको हो । बझाङ, बाजुराका व्यापारीहरुले घटस्थापनाको अघिल्लो दिनदेखि नै च्यांग्रा ल्याइपुर्याएका हुन् । यसपटक च्यांग्रा प्रतिगोटा ४० देखि ४५ हजार रुपैयाँका दरमा विक्री भइरहेको देख्न सकिन्छ । रोज्जा च्यांग्राको मूल्य भने व्यापारीले ५० हजार रुपैयाँ हाराहारी भनेका छन् ।

विगतमा हिंडाएर भेडा च्यांग्रा पोखरा ल्याउने गरिएकोमा यसपटक ट्रकमा राखेर पनि तिनलाई ल्याइएको छ । दसैंमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै रुचाइने भनेको च्यांग्रा हो । च्यांग्रा मुस्ताङबाटै पोखरा बढी मात्रामा झार्ने गरिए छ । पहिलापहिला तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे । महिनादिनसम्म हिँडाएर च्यांग्रा पोखरा ल्याउने र बेच्ने गरिन्थ्यो ।

यसपालि भने हिमाली जिल्ला बझाङ र बाजुराबाट पनि भेडाच्यांग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट करिब २ हजारभन्दा धेरै भेडाच्यांग्रा पोखरा भित्रिएका हुन् । पोखरामा भेडाच्यांग्रा भित्रिएकासँगै दसैंको चहलपहल सुरु भएको छ ।

बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब १ महिना लगाएर भेडाच्यांग्रा पोखरा ल्याएको बताए । चीनको तिब्बतबाट खोजेर उनले भेडाच्यांग्रा पोखरा ल्याएका हुन् । ‘खोज्न जादा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । खोज्दाखोज्दा समय लाग्यो । २६÷२७ दिनमा बाजुरा ल्याएका थियौं,’ उनले भने, ‘त्यसपछि ३ दिन ३ रातमा गाडीमा पोखरा आयौं ।’

बाजुराका सर्पलालले अघिल्लो वर्ष पनि भेडाच्यांग्रा ल्याएर पोखरा आएका थिए । ७२ वटा भेडाच्यांग्रा लिएर शनिबार पोखरा आइपुगेका सर्पलालले आइतबार बिहानसम्म ५ वटा बेचिसकेका छन् । मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् । गत वर्ष पोखरामा भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्म कायम गरेका थिए ।

३० आश्विन २०८०, मंगलवार १२:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा