पोखरा, सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुने भएका छन् । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
२०३८ भदौं २९ गते बाबु फत्तबहादर पुन, आमा भीम कुमारी पुनको कोखबाट जन्मिएका पुन दीपेन्द्र पुलिस स्कुल, साँगा काठमाण्डौ, लर्ड बुद्ध एकेडेमी, चक्रपथ, काठमाण्डौबाट पढाई सके लगतै विगत डेढ दशक भन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय छन् ।
पुनः हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् भने पोखरा यूनाइटेड दैनिक, अनलाइन खबर डटकम, सिटि पोखरा डटकम लगायतमा काम गर्दै आएका छन् । हाल उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् ।
सहारा क्लव स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लवले यही भदौं ३० गते एक समारोहका बिच उक्त पुरस्कार पुनलाई अर्पण गर्ने भएको महासचिव अधिकारीले बताए । उक्त पुरस्कारको राषि २५ हजार ५ सय ५५ रहेको छ ।
कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आउनु भएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको छ ।
गतबर्ष नारायण शाही सम्मानित भएका थिए भने त्यस अघि दिपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भएका छन् ।