Play

१८ औं फेवा नबवर्ष महोत्सवको तयारी तिब्र

गुरुकुल खबर


पोखरा । नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ ।

कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजकहरु तोक्ने काम सम्पन्न गरेको बताए ।

कार्यक्रममा बोल्दै सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटलललाई संचालन खर्च धान्न पनि मुश्किल परेको बताए ।

गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्धेश्य भएको बताए ।

संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनिया संस्कृति सम्बन्धि कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव राखे ।

अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशिल उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने सुझाव राखे ।

सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुःखेसो पोखे ।

अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि भनाई राखेका थिए ।

१० चैत्र २०७९, शुक्रबार १३:१२ मा प्रकाशित
Nabintech