Play

बैकहरुको ज्यादती र चर्को ब्याज बिरुद्द पोखराबाट आन्दोलनको तयारी, कास्की कांग्रेसको पनि ऐक्यबद्दता

गुरुकुल खबर


पोखरा, बैंक तथा बित्तिय संस्थाहरुको चर्को ब्याज दरका कारण आत्तिएका पोखराका उधोगी व्यवसायीहरुले चर्को ब्याज घटाउनुपर्ने माग सहित आन्दोलन गर्ने भएका छन ।

यस अगाडी पनि आन्दोलन गर्ने तयारी गरिएको तर देशमा निर्वाचन हुने समय भए पछि आन्दोलन रोकेका पोखरेली उधोगी व्यवसायीहरु यस पटक निर्णायक आन्दोलनको तयारीमा पुगेका छन ।

पोखरेली उधोगी व्यवसायीको आन्दोलनलाई नेपाली कांग्रेस कास्कीले समेत ऐक्यबद्दता जनाउने र आवश्यकता अनुसार नेपाल सरकार, प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र बैंक वा पार्टीको जिम्मेवारीमा रहेका नेताहरुलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

बिभिन्न बैंकबाट ऋण लिएका व्यवसायीहरुमाथी बैकले चर्को ब्याज लगाउने मात्र नभएर धितो राखेको जग्गा लिलामी गर्ने धम्की दिने, तारन्तार टेलिफोन गरेर वा भेटेर किस्ता बुझाउन दवाव दिने गर्दा मानसिक तनाव भोग्नुपरेको गुनासो व्यवसायीको छ ।

पोखरामा नेपाली कांग्रेस कास्कीको तर्फबाट आयोजना गरिएका छलफल कार्यक्रममा उधोगी व्यवसायीका नेताहरुले मात्र नभएर नेपाली कांग्रेसका नेताहरुले पनि बैंकले पछिल्लो समयमा ऋणी र व्यवसायीहरुमाथी दिएको दवावको खुलेर बिरोध गरे ।  कास्की कांग्रेसको तर्फबाट आयोजित दुई वटा छुट्टाछुट्टै छलफल कार्यक्रममा बोल्ने  ब्यवसायीहरुले कास्की कांग्रेसले ब्यवसायीको समस्या सुनेर सम्बोधन गर्न पहल गर्न लागेकोमा ख़ुशी समेत प्रकट गरेका थिए

बैकहरुको ग़लत कदम बिरुद्द पोखरा उधोग वाणिज्य संघ संयोजक र लेखनाथ उधोग वाणिज्य संघ सहसंयोजक रहेर साथै अन्य व्यवसायिक संस्थाहरु समेतको संलग्नतामा धर्ना सहित आन्दोलनका कार्यक्रम गर्न लागिएको र त्यसमा राजनीतिक दलको समेत ऐक्यबद्दता र सहभागिताको अपेक्षा गरिएको बताए ।

उधोगी व्यवसायीका विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले अप्ठेरो अवस्थामा रहेका व्यवसायी र ऋणीहरुको समस्या समाधानको पहल गर्न कास्की कांग्रेस प्रतिबद्ध रहेको बताउंदै पार्टीका नेताहरुलाई मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर सामु पुगेर आवश्यक दवाव दिन कांग्रेस तयार रहेको जानकारी दिए ।

बरालले कांग्रेस पार्टी जनताको पार्टी भएकोले आम व्यवसायीहरुका समस्या सम्बोधन गर्न कांग्रेस गम्भीर बन्ने स्पष्ट पारे ।

नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले बैंकर र नेपाल राष्ट्र बैक बिचको कार्टेलिगं र सिण्डिकेट अन्त्य गर्न नसक्दा सम्म यस्तो पिडा भोगिरहनुपर्ने बताए ।

बिभिन्न बैंकहरुमा राष्ट्र बैकका वर्तमान वा पुर्व कर्मचारीका परिवारको लगानी र नेतृत्व छ अनि तिनिहरुले बैंकका ग़लत क्रियाकलाप संरक्षण गर्ने खालको नीति बनाउंछन र त्यही मारमा न्युन र मध्यमवर्गीय व्यवसायीहरु पर्ने गरेको मुल्मीले सुनाए ।

उनका अनुसार राष्ट्र बैंकको संचालक समितिमा पनि पुर्व कर्मचारी र बहालवाला कर्मचारीको मात्रै बर्चस्व हुने गरेको छ भने २२ वटा वाणिज्य बैंकको नाम फरक रहेपनि स्वामित्व भने सिमित व्यक्तिहरुमा नै रहंदा आम व्यवसायी र ऋणीलाई राहत नमिलेको हो ।

नेपाल राष्ट्र बैंक र बैंकर्स एशोसियसन बिचको चलखेल र सिण्डिकेट तोड्न आम उधोगी व्यवसायी आन्दोलनमा लाग्नुपर्नेमा मुल्मीको जोड थियो । नेपाली कांग्रेस खुला अर्थतन्त्रको पक्षमा रहेपनि बैंकर्स र राष्ट्रबैक बिचको कार्टेलिगंबारेमा कांग्रेस समेत चुप बसेको भन्दै उनले आपत्ति प्रकट गरे ।

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माईकल कर्माचार्यले पनि नेपाल राष्ट्र बैंक र बैंकर्स एशोसियसन बिचको सेटिंग तोड्न सबै लाग्नुपर्ने बताए ।

उनले नेपाल उधोग बाणिज्य महासंघ. नेपाल उधोग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरु उधोगी व्यवसायीको पक्षमा दर्हो गरेर भिम सक्नुपर्नेमा समेत जोड़ दिए ।

पोखरा उधोग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले ७ प्रतिशत ब्याज तिर्ने गरि ऋण लिएका व्यवसायीहरुबाट २/३ गुणा बढाएर ब्याज लिने प्रवृतीका बिरुद्द आन्दोलन गर्ने अवस्था आएको स्पष्ट पारे।

छलफल कार्यक्रममा सहभागी ब्यवसायी एवं कांग्रेस नेताहरु सबैले बैंकले अप्रत्याशित रुपमा ब्याज दर बढाउने र चर्को दवाव ऋणीहरुलाई दिने कुराप्रती तिब्र असन्तुष्टी जनाएका थिए ।बैंकको गलत रवैयाका कारण केही दिन अगाडी सिहंदरबार अगाडी व्यवसायीले गरेको जस्तो आत्मदाह वा त्यस्तै प्रकृतीका घटना बढ्ने सम्भावना रहेको भन्दै चिन्ता समेत प्रकट गरेका थिए ।

नेपाल उधोग वाणिज्य महासंघका पुर्व सदस्य समेत रहेका नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघका गण्डकी प्रदेश अध्यक्ष चन्द्र कृष्ण कर्माचार्यले माछा पालेको पोखरीमा पानी सुकेपछि माछाको जस्तो गति हुन्छ, त्यस्तै अवस्थामा नेपालका उधोगी व्यवसायी पुगेको भन्दै पिडा पोखे ।

एकातिर आर्थिक संकट बढ्दै जांदा ऋणीहरुले बैकको ब्याज र किस्ता तिर्न समस्या भैरहेको छ तर अर्कोतिर बैंकहरुले ब्याज दर बढाउने, पेनाल्टी लगाउने र अनावश्यक दवाव दिने गरेका छन- कर्माचार्यको भनाई थियो ।

उनले बैंकको आधार दर बाहेक न्युन प्रतिशत मात्र प्रिमियम रेट क़ायम गर्नुपर्नेमा ६ प्रतिशत सम्म बढाएर ऋणीहरुलाई ब्याज दर चर्को बनाउने गरेको भन्दै आपत्ति प्रकट गरे ।

नेपाल उधोग वाणिज्य महासंघका सदस्य समेत रहेका नेपाली कांग्रेस कास्कीका सदस्य बाबुराम गिरीले कांग्रेस निजी क्षेत्र मैत्री हुनुपर्ने भन्दै पोखरेली उधोगी व्यवसायीको आन्दोलनलाई पार्टीले अपनत्व लिएर अगाडी बढ्नेमा जोड़ दिए ।

पोखराका होटल व्यवसायी गणेश थापाले बैकले ऋण लगानी गर्दा लिने सेवा शुल्क, रजिष्ट्रेशन शुल्क र धितो मुल्यांकन शुल्क मात्र घटाइए सके पनि ब्याज दर कम हुने बताए ।

केही ठुला व्यवसायीलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गरेर साना र मझौला व्यवसायीहरुमाथी चर्को ब्याज लगाउनुको पछाड़ी पनि पक्कै चलखेल छ भन्दै थापाले अन्तर बैंकिंग ऋण ५/६ प्रतिशत ब्याजमा मिल्ने तर पव्लिकलाई भने १८ प्रतिशत सम्म ब्याज लगाउने प्रवृति बिरुद्द सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिए ।

टान पोखराका अध्यक्ष धर्मराज पन्थीले बैंकहरुले अरबों नाफा गर्ने तर ब्यवसायीहरु पलायन हुंदै जाने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए ।

होटल व्यवसायी रामचन्द्र भट्टराईले बैकहरुले लालपुर्जा समातेर सुरक्षित महसूस गर्नु पनि दुर्भाग्य हो भन्दै सबै ऋणीहरुबाट लालपुर्जा संकलन गर्दै गए बैंक पनि डुब्ने र देश पनि डुब्ने भएकोले अब बैंकलाई ठिक ठाउंमा राख्न सरकारलाई दवाव दिनुपर्ने बताए ।

अर्का पर्यटन व्यवसायी हरी भुजेलले बैंकहरुले ब्याज बढाउंदै जाने तर लगानी नथप्दा व्यवसायी हरु व्यवसायिक जिवन संगै मानव जिवनबाट समेत पलायन हुनुपर्ने अवस्थामा पुग्न बाध्य भएको भन्दै बैंकले आम व्यवसायी र ऋणीहरुको गर्धनमा तरबार राखेर मर्नु न बांच्नुको अवस्थामा पुर्याएको भन्दै पिडा पोखे ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले २० करोडको सम्पत्ति धितोमा राखेर २ करोड मात्र ऋण लिंदा समेत व्यवसायीहरुमाथी विभिन्न खाले दवाव दिईनु तर बैकरहरुले झोलामा पैसा बोकेर राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई बुझाईनु बिडम्बना रहेको गुनासो गरे ।

अर्का पर्यटन व्यवसायी, पोखरा पर्यटन परिषदका पुर्व सदस्य गणेश बहादुर भट्टराईले गरिवी संगै रोज़गारीको अभाव बढ्दै जाने, युवाहरुको विदेश पलायन बढ्दै जाने अवस्था संगै पर्यटन क्षेत्रका मज़दूरहरु समेत ५० प्रतिशत बाहिर गैसकेको र करिव ३५ प्रतिशत व्यवसायीहरु व्यवसाय बाट बाहिरिएको कारण यस्तै अवस्था क़ायम रहे पर्यटन समेत चौपट हुने बताए ।

कार्यक्रममा संचार व्यवसायी समेत रहेका नेपाली कांग्रेस कास्की जिल्ला सदस्य गंगाधर पराजुलीले बैंकहरुले शुरुमा ऋण दिंदा बेस रेटमा १/२ प्रतिशत मात्र प्रिमियम रेट लगाएर ऋण दिने गरेको तर केही समयको अन्तरालमा नै प्रिमियम रेट ६ प्रतिशत सम्म पुर्यांएर जवर्जस्ती ब्याज असुल गर्ने गरेको बताए ।

रेष्टुरेन्टको सर्विस चार्ज हटाएजस्तै बैंकले लिने सर्विस चार्ज र प्रिपेड चार्ज मात्र हटाउन सकेपनि ऋणीहरुले महँगो ब्याज लिने बैंक छोडेर अर्कोमा जान सक्ने अवस्था हुन्थ्यो तर सर्विस चार्ज र प्रिपेड चार्ज तिर्नुपर्ने बाध्यताका कारण बैंक परिवर्तन गर्न समेत ऋणीलाई कठिन हुने पराजुलीले बताए ।

बैंकर्स एशोसियशनले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई प्रभावमा पार्न कुल नाफाको केही रकम छुट्याउने गरेको गुनासो आउने गरेको भन्दै पराजुलीले बैंकहरुलाई राष्ट्र बैकका अधिकारीहरुलाई अनावश्यक रक़म खर्च गर्न भन्दा ऋणीहरुलाई राहत दिन आग्रह गरे ।

नेपालमा हाल रहेका २२ वटा बाणिज्य बैंकहरुको वार्षिक मुनाफ़ा झण्डै ३४ अर्ब रहेको र त्यस मध्ये १ अर्ब रुपैया बैंकर्स एसोसिएशनले आंफ्नो अनुकुल नीति बनाउन राष्ट्र बैंकका अधिकारीहरु सहित अरुको लागि खर्च गर्ने हुंदा गलत गर्ने बैंकहरुले समेत राष्ट्र बैंकबाट संरक्षण पाउने गरेको भन्दै केही व्यवसायीले  चिन्ता प्रकट गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य विश्व शंकर पालिखेले पार्टीहरुले चुनावको बेला व्यवसायीहरु खोज्ने तर व्यवसायीलाई समस्या परेको बेला चुप लाग्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा पोखरा पर्यटन परिषदका महासचिव संजय कान्त सिग्देल,उपाध्यक्ष तारानाथ पहारी, नाटाका हरिराम अधिकारी, पर्यटन बोर्डका पुर्व सदस्य बासु त्रिपाठी, विदेशी मुद्रा सटही व्यवसायी संघका अध्यक्ष रुपक राज मिश्र, पर्यटन बोर्डका पुर्व सदस्य टिकाराम सापकोटा, कांग्रेस निकट पर्यटन व्यवसायीको संस्थाका अध्यक्ष सोम थापा लगायतले आआफ्नो भनाई राख्दै बैंकको ज्यादती बिरुद्द एकजुट हुन र आवश्यक परे काठमाडौ केन्द्रित आन्दोलन गर्न समेत जोड़ दिएका थिए ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुंवर र रामबाबु भण्डारी, सचिव भानु ढकाल र देवेन्द्र रानाभाट, सहसचिव शंकर ढुंगाना लगायतले पनि आआफ्नो भनाई राखेका थिए ।

९ फाल्गुन २०७९, मंगलवार २२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा