Play

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध व्यवसायीहरू फेरि सडक संघर्षमा

गुरुकुल खबर


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम राखेको चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडक संघर्षमा उत्रिएका छन् । उद्योगी व्यवसायीका विभिन्न संगठन शुक्रबार काठमाडौंको सडकमा फेरि चर्को बैंक ब्याजदरविरुद्ध यस्तो सडक संघर्ष तथा प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार उद्योगी व्यवसायीका विभिन्न नौवटा महासंघ र ३८ वटा संघले संयुक्त रूपमा सडक संघर्षका कार्यक्रम गरेका हुन् । व्यवसायीले हाल बैंकले बढाएको चर्को ब्याजदरविरुद्ध यसअघि धेरैपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि अझै आफूहरूको माग सम्बोधन नभएको भन्दै बाध्यतावस आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

उद्योगी व्यवसायीमा रहेको सिन्डिकेटको अन्त्य र बैंकको ज्यादतीविरुद्ध अहिले आफूहरू पुनः सडक आन्दोलन गर्न बाध्य भएको उनीहरूले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकहरूको चर्को ब्याजदरलगायत ऋण असुल्न गरिएको धरपकडको आतंकलाई बन्द गर्न र व्यवसायीलाई गरिखान दिन आवाज उठाइरहेको बताए ।

उनले देशका उद्योगी व्यवसायीको माग सम्बोधन हुन व्यवसायी आत्मदाह नै गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट बचाइदिन माग गरे । यसैगरी, नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले साना लगानीमा व्यवसाय गर्नेले स्वदेशमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन माग गरे ।

उनले व्यापारीले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत सरकार चूप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए ।

अहिले बैंक र वित्तीय संस्था सामन्ती बनिरहेको आरोप लगाउँदै उनले सरकार यसरी मौन बस्न नहुने जिकिर गरे । यसैगरी, उनले सरकारले उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको बताए ।

पछिल्लो समय कोभिड महामारीलगायतका कारण नेपालका उद्योग धन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको आरोप प्रदर्शनमा उत्रिएका व्यवसायीको छ ।

उनीहरूले अझै आफूहरूको माग सम्बोधन नभए अब बैंकहरूविरुद्ध थप सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि पनि व्यवसायीले धेरैपटक काठमाडौंको माइतीघरमा सडक आन्दोलनका कार्यक्रम गरेका थिए ।

यसअघिका आन्दोलन स्थगित गर्नेक्रममा आफूहरूलाई सरकारले दिएको आश्वासन अझै पूरा नभएकाले अहिले पुनः यसरी सडक संघर्षमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।

७ फाल्गुन २०७९, आईतवार २१:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा