Play

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाईने 

गुरुकुल खबर


पोखरा । पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ ।

औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ ।

पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिए । “आजको मुख्य कन्सर्न भनेको पोखरा औद्योगिक क्षेत्रमा रहेका सम्बन्धित उद्योगहरूबाट हुने वातावरणीय प्रदूषणको मूल्याङ्कन र निराकरणका उपायहरू नै हो, प्रमुख आचार्यले भने यसका लागि सबैभन्दा पहिले प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नु पर्दछ ।“ उपयुक्त स्थानमा जग्गाको प्रबन्ध गरी प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नुको विकल्प नभएको उनले भने ।

कुनै पनि हालतमा औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थ र पानीलाई बाहिर ढलमा मिसिनुभन्दा पहिले नै प्रशोधन गर्नुपर्ने बताए। प्लास्टिक जलाउने जो कोहीलाई महानगरपालिकाले तत्कालै कारबाही गर्ने प्रमुख आचार्यले भने ।

छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताए। वातावरणीय स्वच्छताप्रति उद्योगी व्यवसायीहरू पनि उत्ति कै इमानदार रहेको बताउँदै औद्योगिक क्षेत्रमा इन्धनको सट्टा कतिपय उद्योगहरूले बिजुलीको उपयोग गर्न थालेको जानकारी दिँदै यसले पनि वातावरणमा हुने प्रदूषण रोक्न मद्दत गर्ने बताए। “औद्योगिक क्षेत्रभित्रका उद्योगहरुले हक्सको प्रयोग गर्ने र कुनै उद्योगमा विजुलीबाट मेसिन चलाउने हुनाले पनि विगतको तुलनामा प्रदुषण कम छ“अध्यक्ष श्रेष्ठले भने ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख किशोर कुमार पाण्डेले वातावरण सुधारका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका द्धितिय उपाध्यक्ष दिपेन्द्रराज बस्ताकोटीले उद्योगीहरुका विशेष सक्रियताका कारण वातावरणीय प्रदूषण न्यूनिकरणमा पोखरा औद्योगिक क्षेत्र सुधारोन्मुख रहेको जानकारी दिए । उनले भने- “उद्योगहरुबाट निस्कने फोहोरमात्रै नभई औद्योगिक क्षेत्रलाई हरियाली बनाउन पनि उ्रद्योगीहरु सक्रिय छन्, समय परिवर्तनसंगै उद्योग संचालनमा पनि परिवर्तन आईसकेको छ ।“

फुड्स पार्टिकल सफाई तथा विभिन्न मेसिनको सफाईका क्रममा निस्कने फोहोरका सन्दर्भमा द्धितिय उपाध्यक्ष बस्ताकोटीले भने – “फुड्स पार्टिकल सफाई तथा विभिन्न मेसिनको सफाईका क्रममा निस्कने फोहोरमा हानीकारक केमिकल हुदैन  ।“ पोखरा महानगरले पोखरा औद्योगिक क्षेत्रको सरसफाई र पोखराको वातावरिणय प्रदुषणको बारेमा चासो दिनु सराहनीय काम भएको बताउँदै बास्तोकोटीले महानगरलाई पोखरामा सचालनमा रहेका विभिन्न सवारी साधनबाट निस्किने धुँवा र त्यसले वातावरणमा पार्ने असरका बारेमा पनि सोच्न आग्रह गरे ।

पछिल्लो समय वर्षौँ पुराना यातायातका साधनहरू वातावरण प्रदूषणका प्रमुख कारक बनिरहेका छन् । इन्धनबाट चल्ने ती पुराना सवारी साधनहरूले फाल्ने कालो धुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरूको भनाई छ । सन्ततिहरूको सुरक्षित भविष्यका लागि पनि वातावरण स्वच्छताको अभियान थाल्न विलम्ब गर्न नहुने सरोकारवालाहरूको तर्क छ ।

 

१ फाल्गुन २०७९, सोमबार २२:२४ मा प्रकाशित
Nabintech