हाम्रो राजनीतिक नेतृत्व अत्याधिक भ्रष्ट छ । सत्तामा पुग्नका लागि उसले सामदाम दण्डभेदजस्ता सबैखाले कुकृत्य प्रयोग गर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गर्ने शासकको भ्रष्ट प्रवृत्तिका कारण शासन व्यवस्था नै धरापमा पर्न सक्ने खतरासमेत बढेको छ । तर, पनि शासकहरूलाई केही मतलब छैन ।
भर्खरै मात्रै केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनबाट जितेर आएकाहरूको अनुहार हेर्दा देश फेरि पनि विकृतिको चंगुलमा फस्न सक्ने देखिन्छ । अहिलेकै शासकहरूको पुनरागमन हुने खालको जनादेश प्राप्त भएको छ । त्यसैले पनि समग्र मुलुकमा कुनै प्रकारको उत्साह र उमंग छाउन सकेको छैन ।
नेताहरू भ्रष्ट भइरहँदा उनीहरूको सल्लाहकारका रूपमा रहेको प्रशासन संयन्त्रले केही हदसम्म नेताहरूको भ्रष्ट चरित्रलाई सुधार गर्न सक्छन् । तर, विडम्बना हामीकहाँ प्रशासन संयन्त्र आफंै भ्रष्टाचारमा लिप्त हुन पुग्दा समस्या झनै बढेर गएको देखिन्छ । प्रशासकहरू आफैं भ्रष्ट राजनीतिक नेतृत्वको सहयोगी भइरहेका छन् । प्रशासन क्षेत्र चाकडीतन्त्रमा चलिरहेको छ । दक्षता, योग्यता र क्षमताले प्रशासन संयन्त्रमा प्रवेश गरेका प्रशासक तथा कर्मचारीहरू नेताको चाकडी चाप्लुसीमा लाग्नु र एसम्यान बन्नु आफैंमा ठूलो विडम्बना भएको छ ।
निजामती सेवामा प्रवेश गरेका सबै कर्मचारी आफ्नै क्षमता र बलबुताले आएका हुन् । उनीहरू लोकसेवाको परीक्षामा सबैलाई उछिनेर छनोट भएका दक्ष व्यक्ति हुन् । त्यसैले यस्ता दक्ष व्यक्तिले जागिर खाने क्रममा कसैको खुट्टा मोल्न र चाकडी चाप्लुसी गर्न जरुरी छैन । त्यसैले सम्पूर्ण कर्मचारीवर्गले अब इमानदारीतापूर्वक काम गर्नेबेला आएको छ ।
राजनीतिक नेतृत्व भ्रष्टाचारको चंगुलमा फस्न पुग्दा देशको आर्थिक अवस्थासमेत डामाडोल हुन पुगेको छ । आर्थिक परिसूचक नकारात्मक बनेका छन् । तर, पनि नेताहरूमा देशको समग्र अवस्था र आर्थिक अवस्था सुधारका लागि सोच्ने फुर्सद नै छैन । कसरी हुन्छ आफ्नै स्वार्थपूर्ति गर्ने र अकुत सम्पति आर्जन गर्ने ध्याउन्नमा देखिन्छन् उनीहरू ।
राजनीतिक नेतृत्वले गर्ने खराब कामलाई प्रशासकले चेक गर्न सक्ने हैसियत राख्न सक्नुपर्छ । नेतृत्वले गर्ने नीतिगतदेखि अन्य जुनसुकै भ्रष्टचारजन्य काममा प्रशासनिक नेतृत्वले कहिल्यै पनि सहयोग गर्नुहुँदैन । कर्मचारीहरूले यही हो मौका भनेर राष्ट्रिय सम्पत्तिको दोहन गर्नुहँुदैन ।
आमनेपालीको औसत आम्दानी र जीवनस्तर तुलना गर्ने हो भने सबै कर्मचारीलाई राज्यले दिएको सेवा सुविधा र तलबमा चित्त बुझाउने ठाउँ छ । त्यसैले असन्तोषी पुण्टेजस्तो बन्न कर्मचारीलाई किमार्थ पनि शोभनीय हुँदैन ।
अहिले निर्वाचन भएर नयाँ सरकार बन्ने क्रममा छ । तर, कामचलाउन सरकारका हरुवा मन्त्रीहरूले अहिले पनि सिंहदरबारमा रहेर गलत काम गरिरहेका छन् । नीतिगत भ्रष्टाचार गर्ने र त्यसका लागि कर्मचारी संयन्त्रलाई समेत प्रयोग गरिरहेका छन् । निर्वाचनमा हारेकाहरू अहिले पनि बिना लाजसरम मन्त्रीका रूपमा बसिरहेका छन् । उनीहरूको यस्तो क्रियाकलापले लोकतन्त्रलाई नै विरुप बनाउँछ भन्ने उनीहरूको कुनै ध्यान नै पुगेको देखिँदैन ।
अहिले पनि सिंहदरबारका बन्द कोठामा विभिन्न खाले जाली तमसुक बनिरहेका छन् । त्यस्ता, तमसुक बनाउने कार्यको साक्षीका रूपमा प्रशासक कर्मचारी किमार्थ पनि बस्नुहँुदैन । जाली तमसुक बनाउन तपाईंहरूले सहयोग गर्नुभयो भने पक्कै पनि तपाईहरूलाई इतिहासले क्षमा दिनेछैन । कुनै न कुनै दिन तपाईंहरू इतिहासको कठघरामा उभिनुपर्नेछ । तपाईंहरूको त्यस्तो कृत्यले तपाईंको क्षमता र व्यावसायिकतालाई समेत ध्वस्त पार्नेछ र तपाईंहरू मात्रै रोबोटजस्तो यान्त्रिक मानव बन्नुहुनेछ ।
राजनीतिक नेतृत्वको बद्मासीमा साक्षी बन्नु ठूलो अपराध हो । कर्मचारीले जागिरमा प्रवेश गर्दा देश र जनताको हितमा समर्पित हुने भन्दै सोहीअनुसारको शपथ पनि खाने गरेका छन् । तर, राजनीतिक नेतृत्वको अगाडि त्यसरी खाएको शपथ भुल्नु कर्मचारीतन्त्रको ठूलो बदमासी हो ।
राजनीतिक नेतृत्वले जस्तासुकै बदमासी र फट्र्याँ गर्दै जादा पनि त्यसमा कर्मचारीले होस्टेमा हैसै गर्दै आइरहेका छन् । यो रोग आज मात्रै होइन, हिजो पनि थियो । त्यसैले त प्रशासन संयन्त्र पनि जनताको नजरमा दिन प्रतिदिन पंगु र अविश्वसनीय बन्दै आइरहेको छ । कर्मचारीतन्त्र माथि नांगो हस्तक्षेप भइरहेको छ । यसमा कर्मचारी आफंै पनि दोषी छन् ।
हस्तक्षेप उनीहरू आफैंले निम्त्याइरहेका छन् । राजनीतिक नेतृत्वको ढोकाचोकामा पुगेर चाकडी गर्ने र आफ्नो स्वार्थपूर्ति गर्ने कार्यले प्रशासनको साख गिर्दै गइरहेको छ । राजनीतिक नेतृत्वले जस्तासुकै गैरकानुनी र खराब काम गर्न निर्देशन दिए पनि त्यसलाई हवस् हजुर भन्दै कानुनका लुप होल खोज्दै त्यस्तो गलत कार्य सम्पन्न गराइदिने प्रवृत्ति रोक्नुपर्छ ।
हाम्रा अधिकांश राजनीतिक नेतृत्व भ्रष्टाचार र कमिसनतन्त्रमा डुबुल्की मार्न पुग्दा ढुङढुङ्ती गन्हाइसकेका छन् । उनीहरूमा न क्षमता छ न त व्यावसायिकता नै । त्यसैले क्षमता र व्यावसायिकताका धनी प्रशासक र कर्मचारीहरूले त्यस्ता खराब नेताहरूको चाकडी गर्नु र उनीहरूको एसम्यान बन्नु जरुरी छैन ।
यदि कुनै मन्त्रीहरूले सचिव सहसचिवलाई गैरकानुनी धन्दा सञ्चालन गर्ने खालका अनैतिक कार्य गर्न दबाब दिन्छ भने अब प्रशासकहरूले नेताको त्यस्ता गलत धन्दालाई जनतासमक्ष उजागर गराइदिने हिम्मत गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहका सबै प्रशासकले यस्तो गर्ने हिम्मत देखाउनसके भने साँच्चै नै नेपालको निजामती प्रशासनको भूमिका अतुलनीय मानिनेछ र त्यसलाई सुनौलो अक्षरले लेखिनेछ ।
यदि राजनीतिक नेतृत्व र दलहरू एउटा व्यवस्थित प्रणाली, पारदर्शिता, नैतिकता र इमानदारिताका आधारमा सञ्चालन भएको भए उनीहरूले भनेका सबै कुरा प्रशासनले मान्दा पनि केही फरक पर्दैनथ्यो राम्रै हुन्थ्यो तर हामीकहाँ राजनीति भ्रष्टीकरण र अपराधीकरणको जालोमा कैद छ । त्यसैले राजनीतिक नेतृत्वले जे भन्छ प्रशासनले त्यही मान्न जरुरी छैन । फेरि प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको एउटा कुशल सल्लाहकार हुन् न कि आदेशपालक कारिन्दा ।
कतिपय अमेरिकी तथा युरोपियन देशहरूमा राजनीतिक नेतृत्वले गर्ने बद्मासीलाई त्यहाँको ब्युरोक्रेसीले जनतासमक्ष ल्याएर राजनीतिक नेतृत्वलाई सबक सिकाउने काम गर्न थालेका छन् । अब हामीकहाँ पनि त्यस्तै खालको प्रशासन जरुरी देखिन्छ । मन्त्रीका रूपमा आएका नेताहरूले नीतिगत भ्रष्टचार गर्न खोजेमा त्यसको भण्डाफोर गर्ने हिम्मत अबका नेपाली प्रशासकले पनि देखाउन सक्नुपर्छ । त्यसो गर्न सकेमा नेताहरूले भ्रष्टचार गर्ने क्रममा निकै कमी भएर आउन सक्छ ।
जुन देशको प्रशासन बलियो र शक्तिशाली हुन्छ त्यो देशको राजनीतिक प्रणाली पनि शक्तिशाली हुन्छ तर प्रशासन कमजोर भएको देशमा राजनीतिक प्रणाली पनि कमजोर हुन्छ । त्यसैले सरकारले राजनीतिक प्रणालीलाई बलियो बनाउने हो भने यहाँको प्रशासनलाई पनि व्यापक सुधार गर्दै बलियो बनाउनु अहिलेको अहं आवश्यकता हो ।
यसका लागि प्रशासनमा हुने सबै खाले हस्तक्षेपको अन्त हुनुपर्छ । प्रशासकहरू पनि एकजुट हँुदै आफ्नो जिम्मेवारीमा रहेका सबै काम आफंैले गर्न सक्नुपर्छ । अनावश्यक रूपमा राजनीतिक नेतृत्व कहाँ दौडने गलत चरित्रमा सुधार गर्नैपर्छ ।