Play

कास्कीमा उमेदवारको सवल पक्षभन्दा पनि प्रतिस्पर्धी दलका नेता कार्यकर्ताहरुको असन्तुष्टी नै चुनाव जित्ने आधार बन्ने

गुरुकुल खबर


पोखरा , कास्की जिल्लामा आसन्न मंसिर ४ को निर्वाचन पेचिलो बन्दै गएको छ । कास्कीका ३ निर्वाचन क्षेत्रबाट र ९ प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित हुन सबै जसो उमेदवारहरु यतिबेला मतदाताको घर दैलोमा पुग्ने प्रयासमा छन । कतै घर दैलो त कतै कोण सभा निरन्तर चलिरहेका छन ।

उमेदवार स्वयं र तिनका अगाडी पछाडी हिंड्ने समर्थक र शुभचिन्तक अर्थात पार्टीका अगुवा कार्यकर्ताहरु बाहेक सर्वसाधारण मतदाताहरुलाई अझै पनि चुनावी रौनकले छुन नसकेको अनुभव अधिकांशले गरिरहेको छन । अब मतदान गर्ने दिन १० दिन मात्र बाँकी छ तर आम सर्वसाधारणलाई अझै पनि चुनावी गतिविधिले तान्न नसक्नुमा यस अगाडीका जनप्रतिनिधी र राजनीतिक दलका क्रियाकलाप नै प्रमुख कारक रहेको बताईन्छ ।

विशेष गरि राजनीतिक दलका क्रियाकलाप र जनप्रतिनिधीहरुको भुमिका आम सर्वसाधारण प्रति सकारात्मक देखिन नसक्दा पनि निर्वाचन प्रति मतदाताको उत्साह नदेखिएको समेत बताईन्छ । जसलाई जिताएपनि वा जसले जितेपनि मतदाता र स्थानीय समस्याबारेमा गम्भिरता देखाएको महशुस नभएकै कारण मतदाताहरुमा पहिले जस्तो उत्साह नदेखिएको हुन सक्ने अनुमान धेरैले गरेका छन ।

एकातिर पार्टीमा गुट उपगुटको प्रभावका कारण योग्य र क्षमतावान एवं मतदाताले आशा र विश्वास गर्ने उमेदवार नहुनु र अर्को तिर पुरानै अनुहारले निरन्तरता पाउने अवस्थाले पनि प्रमुख दल प्रति आम मतदाता र सर्वसाधारणको आकर्षण घटेको बताईन्छ । कास्कीमा यस पटक कसले चुनाब जित्ला भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

उमेदवार वा दलको प्रभाव , संगठन, उमेदवारको व्यक्तित्व र एजेण्डाका कारण चुनाव जित्ने कुरा भन्दा पनि प्रतिस्पर्धी दलका नेता कार्यकर्ताहरुको द्वन्द र असन्तुष्टी नै चुनाव जित्ने आधार बन्ने देखिन्छ । प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले सहित नेकपा माओवादी केन्द्र र नेकपा एस समेत आन्तरिक रुपमा गुट उपगुटको कारण द्वन्दमा फसेका छन ।

यस बाहेक कांग्रेस भीत्र करिव एक वर्ष अगाडी सम्पन्न पार्टीको १४ औं महाधिवेशन र केही महिना अगाडी सम्पन्न स्थानीय तहको चुनावका कारण उत्पन्न असन्तुष्टी कायम छ भने एमालेमा पनि स्थानीय तहको चुनावको घाउ अझै मेटिएको छैन । यस्ता विविध कारणले यस पटकको चुनावमा कुनै दल वा उमेदवारले चुनाब जित्छ भनेर ठोकुवा गर्न सकिने स्थिति छैन ।

तर पनि कास्की १ मा नया अनुहार र बोल्न लेख्न सक्ने व्यक्तित्वको रुपमा कांग्रेस उमेदवार किशोर दत्त बराललाई लिईनु र ५ दलिय गठबन्धन समेत उनका पक्षमा रहनुले बराल बलियो बन्दै गएको अनुमान गरिएको छ । पार्टी भीत्रको आन्तरिक द्वन्दको मारमा भने बराल पनि पर्न सक्ने देखिन्छ ।

क्षेत्र नं २ मा एमालेका उमेदवार विधा भट्टराईको तुलनामा नेकपा एसका उमेदवार श्रीनाथ बरालले सहानुभूति पाएपनि गठबन्धनको मत स्वतन्त्र उमेदवार महादेव गुरुडं सहित अरु तिर जाने भएकोले श्रीनाथको यात्रा कठिन देखिएको छ ।

क्षेत्र नं ३ मा गठबन्धनका उमेदवार राम्जी बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री समेत भएको र यस अगाडी पनि प्रदेशमा चुनाव जितेको कारण करिव ढुक्क जस्तै देखिएका छन तर एमालेका उमेदवार दामोदर बैरागी आंफ्नो क्षेत्रमा एमालेको संगठन बलियो रहेकोले एमालेकै पक्षमा नतिजा आउने बताउंछन ।

कास्कीमा यस अगाडीको निर्वाचनमा पालै पालो एमाले र कांग्रेस बिजयी भएको अवस्था छ । कतिपय नेताहरु २०४८ साल देखि निरन्तर चुनावमा छन । कुनै चुनावमा टिकट नपाएको भएपनि चुनावी रेस छाड्न नचाहेका हरु मध्ये यस पटक पनि कांग्रेसका शुक्रराज शर्माले सुरक्षित रुपमा समानुपातिक तर्फबाट प्रदेश सांसद बन्ने दाउमा छन भने एमालेका खगराजअधिकारी मुख्य मन्त्रीको दौडमा लागेर प्रदेश सांसद बन्न खोज्दै छन ।

कास्कीबाट पटक पटक चुनाब लड्ने टिकट पाएपनि अधिकांश नेताले आफ्नो पक्षमा निरन्तर नतिजा निकाल्न सकेको छैनन । ३/४ पटक सम्म टिकट पाउने तर जित हात पार्न भने तारानाथ रानाभाट , तुल बहादुर गुरुडं र रविन्द्र अधिकारी लगायतका मात्र छन ।अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्राेपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन ।

यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मेद्वारबीच प्रतिस्पर्धा छ । उम्मेद्वार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै महत्वका साथ हेरिएको छ । साँच्चै कास्कीमा ब्रेक थ्रु हुन्छ क पुरानै निरन्तरता ?

२०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी २०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।

२०६४ मा माओवादीका देव गुरुङ विजयी भए भने २०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा २०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।

प्रदेशसभा (क) मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । २०७४ मा (क) मा माओवादीका दीपक र (ख) मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।

कास्की २ मा २०४८ र २०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भए । दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । २०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । २०६४ मा माओवादीका राजकाजी गुरुङ र २०७० मा कांग्रेसकी शारदा पौडेल तथा २०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भए।

रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ (क) मा एमालेका कृष्ण थापा र (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा (ख) मा कांग्रेसका थापा र एमालेकी मिना गुरुङबीच प्रतिस्पर्धा हुने छ ।

कास्की ३ मा २०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा २०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । २०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । २०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने २०७० मा उनैले दोहोर्‍याए ।

२०६४ र २०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको ४ अर्थात् हालको ३ नम्बर क्षेत्र रहेको निर्वाचन क्षेत्रमा २०६४ मा माओवादीकी दुर्गा विक र २०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रदेशसभा (क) मा माओवादीका रामजी बराल र (ख) मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी उम्मेदवार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् ।

क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा (क) मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा (ख) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुने छ ।

कास्की १ मा १३ जना , प्रदेश क मा ८ जना र प्रदेश ख मा ७ जना तथा क्षेत्र नं २ मा १७ जना , २ क प्रदेशमा ८ जना , र प्रदेश ख मा ९ जना एवं कास्की ३ प्रतिनिधि सभाका लागि १५ जना तथा सोही क्षेत्रको प्रदेश क मा ७ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन ।

२३ कार्तिक २०७९, बुधबार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा