Play

पन्जाब र हरियाणाको प्रदूषण नेपाल भित्रिने सम्भावना

गुरुकुल खबर


काठमाडौँ — मनसुन बाहिरिएसँगै बदलिएको मौसमी प्रणालीका कारण काठमाडौंसहित देशका विभिन्न भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार स्थानीयस्तरमा देखा परेको बदली र वायु स्थिर भएपछि वायुमण्डल प्रदूषित बन्न पुगेको हो ।

‘सामान्यतया मनसुनपछि सुक्खा हुन्छ, स्थानीयस्तरमा बदली पनि हुन्छ र यही बेला हावा नचल्ने भएकाले प्रदूषण तैरिएर बसेको हुन्छ,’ पौडेलले भने, ‘अहिले काठमाडौंसहित देशका धेरै भागमा यस्तो देखिन्छ । यो अझै बढ्दै जाने देखिन्छ ।’ अघिल्ला वर्षहरूमा पनि नोभेम्बरपछि मौसमी प्रणालीमा बदली आएसँगै प्रदूषणको मात्रा बढ्ने गरेको थियो ।

त्रिवि जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम विश्लेषक विनोद पोखरेल भारतको पन्जाब र हरियाणा राज्यबाट प्रदूषण पूर्व–दक्षिणतिर सरिरहेको र हावा उत्तरतिर आएमा नेपालतिर भित्रिएर विकराल मच्चाउन सक्ने आकलन गर्छन् । पन्जाब र हरियाणामा धान काटेर बाँकी रहेका ठूटा किसानले खेतमै डढाउन थालेपछि त्यसबाट निस्किएको धूवाँ भारतको दिल्लीसम्मै फैलिएको छ । ‘त्यसरी जलाइएको परालबाट निस्किने धूवाँ हावासँगै काठमाडौं भित्रिने सम्भावना छ,’ पोखरेलले भने, ‘विगतमा जस्तै त्यो प्रदूषणले समस्या निम्त्याउन सक्ने भएकाले अहिलेदेखि सावधानी अपनाउनुपर्छ ।’ दुई दिनअघि भू–उपग्रहले खिचेको तस्बिरले भारतको पन्जाब र हरियाणा राज्यमा पराल डढाएपछि प्रदूषित वायुको प्रभाव उत्तर भारतमा राम्रैसँग फैलिएको देखाएको छ ।

मौसमविद् पौडेल वर्षाको कुनै संकेत नदेखिएकाले आगामी साता अझै प्रदूषण बढेर वायुमण्डल धुम्मिन सक्ने आकलन गर्छन् । अहिले ‘पोस्ट मनसुन’ को अवस्था भएकाले तत्काल पानी पार्ने प्रणाली भित्रिने संकेत छैन । गत बिहीबारसम्म स्वच्छ रहेको काठमाडौंको वायुमण्डल शुक्रबारदेखि धुम्मिन थालेको हो । काठमाडौंसहित देशभर वायुको गुणस्तर सूचकांक (एक्यूआई) केही दिनयता बढ्दै गएको छ । वायुको सूचकांक बढेपछि प्रदूषणको मात्रा पनि बढ्छ ।

शुक्रबार प्रतिघण्टा ११३ रहेको काठमाडौंको एक्यूआई शनिबार १२६ पुगेको छ, यो आँकडा संवेदनशील समूहका लागि अस्वस्थकर हो । यो हरेक घण्टामा फेरबदल भइरहन्छ । प्रदूषण नियामक निकाय वातावरण विभागको ‘पोलुसन डट जीओभी डटकम’मा भने उपत्यकाको खुमलटारको शनिबारको एक्यूआई १५३ छ । जबकि बुधबार काठमाडौंको एक्यूआई प्रतिघण्टा ९१ मात्र थियो । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको एयरक्वालिटी टेक्नोलोजी कम्पनी ‘आईक्यू एयर’ ले शनिबार काठमाडौंलाई विश्वका ९२ सहरमध्ये एक्यूआई बढी भएको १२ औं सहरभित्र राखेको छ । पहिलो नम्बरमा भारतको दिल्ली छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई ३५ लाई स्वस्थ, २०१–३०० लाई अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानेको छ । सरकारले २०७६ सालमा स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्यूआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । गत वर्ष काठमाडौंमा एक्यूआई प्रतिघण्टा ४ सयसम्म पुगेको थियो ।

दुई दिनदेखि काठमाडौंसहित तराईका विभिन्न स्थानमा भिजिबिलिटीसमेत घट्दो छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्मा मनसुनपछि चिसो बढ्ने र हावाको गति कमजोर हुने भएकाले प्रदूषण वायुमण्डलमै तैरिएर रहने बताउँछन् । ‘तापक्रम घट्ने, वर्षा पनि नहुने र वायु पनि नचल्ने हुनाले प्रदूषण वायुमण्डलमै तैरिएको हुन्छ,’ शर्माले भने, ‘त्यसो हुँदा भिजिबिलिटी पनि घट्छ र प्रदूषण पनि तल्लो तहसम्मै फैलिन्छ ।’ फेब्रुअरीपछि मात्र तापक्रम बढ्दै जाने, वर्षा हुने र हावा चल्ने हुनाले प्रदूषण कमजोर बन्दै जाने उनी बताउँछन् ।

वातावरण विभागका प्रवक्ता उपसचिव शंकरप्रसाद पौडेल हरेक वर्ष मनसुनपछि चिसो बढेसँगै प्रदूषण बढ्दै जाने बताउँछन् । ‘खासगरी यस्तो समस्या पहाडहरूले घेरिएको उपत्यकाहरूमा बढ्ता हुन्छ,’ पौडेलले भने, ‘काठमाडौं कचौरा आकारको भएकाले चिसो दिनमा हावा नचल्ने भएकाले पनि प्रदूषण जहाँको तहीं तैरिएर बसेको हुन्छ ।’ हिउँदयाममा अन्तरदेशीय प्रदूषणसमेत भित्रिने भएकाले काठमाडौंजस्ता उपत्यकामा प्रदूषणको मात्रा झनै बढ्दै जाने उनी बताउँछन् । ‘छोटा दिन र हावाको गति बन्द भएका बेला प्रदूषण बढी हुन्छ,’ उनले भने, ‘यही बेला कृषिजन्य प्रयोजनका लागि आगो बाल्दा झनै समस्या हुन्छ ।’

काठमाडौंमा हावामा हिउँदका बेला हानिकारक कणको मात्रा पनि अत्यधिक हुने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । जाडो महिनामा मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा उच्चस्तरमा पुग्ने गरेको छ । काठमाडौंमा सरकारले तोकेको पीएम १० को मापदण्डभन्दा पाँच गुणासम्म बढी पाइएको छ ।

हरेक वर्षको हिउँदमा प्रदूषण बढ्न थालेसँगै विभागले आफ्नो वेबपोर्टलमार्फत प्रदूषण र त्यसबाट बच्न सावधानी अपनाउन सूचना प्रवाह गर्ने गरेको छ । दुई वर्षअघि प्रदूषणले जनजीवन प्रभावित बनेको थियो । प्रदूषणले आँखा पोल्ने समस्या बढेपछि सरकारले विद्यालय नै बन्द गर्नुपरेको थियो ।

डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्काघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । प्रदूषणकै कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

 

१३ कार्तिक २०७९, आईतवार ०८:३५ मा प्रकाशित
Nabintech