Play

ठाउं ठाउंमा गोली चल्दै , कस्तो होला चुनावी सुरक्षा व्यवस्था ?

गुरुकुल खबर


असोज ३ गते कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई गोली हानेर हत्या गरियो । साँझ करीब साढे ६ बजे मोटरसाइकलमा आएका व्यक्तिको समूहले गोली प्रहार गरेर घाइते भएका उनको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

उनको टाउकोमा २ वटा गोली, दायाँ कोखमा एउटा गोली र दायाँ तिघ्रामा एउटा गोली लागेको थियो ।

रातो सर्ट र जिन्स पाइन्ट लगाएर आएका व्यक्तिले उनलाई गोली प्रहार गरेर भागेको सीसीटीभीको दृश्यमा देखिएको छ । घटनास्थलमा प्रहरीले ‘मेड इन अमेरिका’ लेखेको भारतीय होम मेड पेस्तोल समेत फेला पारेको थियो ।

गोली हानेर फरार भएका व्यक्तिलाई प्रहरीले खोजिरहेको छ तर अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

गत भदौ १० गते कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवामा अज्ञात समूहले गोली हान्दा १ जनाको मृत्यु भयो । स्थानीयका अनुसार गोली लागेर ५५ वर्षीय रामसमुज पार्सीको मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बस्नेतका अनुसार मोटरसाइकलमा आएका व्यक्तिको समूहले गोली प्रहार गरेको र उनीहरू फरार भएका थिए । ‘गोली हानेर फरार भएका छन्, प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ,’ एसपी बस्नेतले भने । गोली लागेका पार्सीलाई अस्पताल लगिएको थियो ।

एसपी बस्नेतका अनुसार फरार भएका व्यक्तिहरूको खोजी भइरहेको छ तर अहिलेसम्म पक्राउ परेका छैनन् ।

बारा, पर्सा, धनुषा लगायतका ठाउँहरूमा प्रहरी र तस्करबीच झपड भएका छन् । त्यसले गर्दा पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा चुनौती देखिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

स्थानीय तहको सुरक्षाको विश्लेषण गर्दै सुरक्षा निकायहरूले केन्द्रीय सुरक्षा परिषद्मा एकैचोटी निर्वाचन नगर्न सल्लाह दिएका थिए तर सरकारले स्थानीय तहमा सफल भएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि समस्या नआउने बताएको थियो ।

‘हामी (सुरक्षा निकाय)हरूले एकैचोटीभन्दा पनि दुईचोटी निर्वाचन गर्दा सुरक्षामा सहज हुन्छ भनेर सल्लाह दिएका थियौं तर सरकारले स्थानीय तहमा भएको अनुभवका आधारमा गर्न सकिने भन्दै एकैदिन गर्ने निर्णय गर्‍यो,’ सुरक्षा स्रोतले  भन्यो।

पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भने गोली प्रहारको विषयले निर्वाचनको सुरक्षामा असर नपर्ने बताउँछन् । ‘निर्वाचनको सुरक्षामा गोली प्रहार र प्रहरीसँगको दोहोरो भिडन्तले खासै असर पर्दैन तर यसले जनमानसमा भने केही असर पर्छ,’ डीआईजी ठकुरीले भने।

निर्वाचनको समयमा खुला सीमा भएकाले केही थ्रेट भने हुने पूर्व डीआईजी ठकुरीले बताए । स्थानीय तहमा देखिएका केही सुरक्षा चुनौतीलाई विश्लेषण गरेर संघ र प्रदेशको चुनावका लागि प्रहरीले सुरक्षा योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए ।

‘हामीले स्थानीय तहमा भएका घटनालाई विश्लेषण गरेर आगामी चुनावी सुरक्षा योजना बनाएका छौं,’ डीआईजी राईले भने, ‘आगामी चुनावमा त्यस्तो ठाउँलाई बलियो बनाउने तयारीमा छौं ।’

स्थानीय तह निर्वाचनमा देखिएका समस्याहरू प्रहरीका कारणभन्दा पनि राजनीतिक पार्टी भित्रको समन्वय, निर्वाचन आयोगका कर्मचारीसहित सबैका कारणले समस्या देखिएको डीआईजी राईले दाबी गरे ।

आगामी निर्वाचनमा प्रहरीले भयरहित चुनाव सम्पन्न गर्ने दाबी प्रहरीले गरेको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा कमजोर भयो : निवार्चन आयोग

देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि यसपालि दोस्रोपटक निर्वाचन भएको हो । यसअघि २०७४ सालमा पहिलोपटक स्थानीय चुनाव भएको थियो । यो वैशाख ३० गते स्थानीय तहको एकैपटक निर्वाचन सम्पन्न भएको थियो ।

सरकारले स्थानीय तह चुनाव शान्तिपूर्ण सम्पन्न भएको दाबी गर्दै मंसिर ४ गते चुनावको मिति तोकेको छ तर सुरक्षाको हिसाबले भने सरकार चुकेको निर्वाचन आयोगले बताउँदै आएको छ ।

निर्वाचन अगाडि सुरक्षाका हिसाबले एकै पटकमा निर्वाचन सम्पन्न गर्न नसकिने निर्वाचन आयोगले बताउँदै आएको थियो तर सरकारले निर्वाचन एकैपटक गर्ने अडान राखेपछि निर्वाचन आयोगले एउटै मितिमा ७५३ वटा स्थानीय तहको निर्वाचन गराएको थियो तर सुरक्षाका हिसाबले भने सफल देखिएन ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले सुरक्षा प्रबन्ध राम्रो नगराएको आरोप लगाएका छन् ।

‘पुनः निर्वाचन गर्नुपर्ने ठाउँमा निर्वाचन आयोगका कारणले भन्दा पनि सुरक्षाका कारणले पुनः निर्वाचन भएका हुन्,’ प्रमुख आयुक्त थपलियाले  बताए, ‘सुरक्षाका कारणले, विवाद समाधान गर्न नसकेका कारणले पुनः निर्वाचन भएका हुन् ।’

सुरक्षाका हिसाबले तुलनात्मक रूपमा केही ठाउँ संवेदनशील देखिए, जसलाई सुरक्षा निकायले ध्यान दिएनन् । आगामी चुनावमा पनि ती ठाउँहरू संवेदनशील देखिएका छन्, फेरि अरु ठाउँमा कम संवेदनशील भन्न नमिल्ने प्रमुख आयुक्तको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनमा अहिले सुरक्षाका हिसाबले चूनौती देखिएका क्षेत्रको सुरक्षा अवस्था मजबुत नबनाएको खण्डमा फेरि अप्ठ्यारो पर्न सक्ने प्रमुख आयुक्त थपलियाको बुझाइ छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बुढीगंगा नगरपालिकाका १० वटा मतदान केन्द्रसहित देशभरमा ८२ ठाउँमा सुरक्षा कमजोर भएको देखिएको छ । तर गृह मन्त्रालयले सुरक्षाका कारणले कुनै पनि ठाउँमा निर्वाचनलाई असर नपुर्‍याएको बताएको थियो ।

‘सुरक्षा ल्याप्सेसले गर्दा कुनै ठाउँमा निर्वाचनमा समस्या आएको होइन,’ गृह मन्त्रालयका प्रवक्ता सहप्रवक्ता फणिन्द्रमणि पोखरेलेले भने, ‘गृह मन्त्रालयले सुरक्षा दिन नसकेका कारणले त्यस्तो कुनै समस्या आएको होइन ।’

त्यो बेलामा झडप भएका ठाउँहरूमा तत्कालै समस्या समाधान भएको र निर्वाचन पनि भइसकेकाले सुरक्षा ल्याप्सेस भएको भन्न नमिल्ने उनको भनाइ छ ।

विगतको अनुभवबाट सिकेर तथा यसपालि झडप भएका क्षेत्रलाई आधार बनाएर आसन्न निर्वाचनका लागि सुरक्षा योजना बनाउने गृह मन्त्रालयको तयारी छ ।

‘अहिले झडप भएका क्षेत्रलाई विश्लेषण गरेर आगामी निर्वाचनमा सुरक्षा योजना बनाउँदा निश्चय नै ध्यान जान्छ,’ प्रवक्ता पोखरेलले लोकान्तरसँग भने ।

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनमा आफ्नो पार्टी लगायत गठबन्धनलाई जिताउनका लागि सुरक्षा निकायलाई अप्रत्यक्ष रूपमा निर्देशन दिएको भन्ने आरोप लागेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सुरक्षा निकायको दुरुपयोग गरेको आरोप लगाएका थिए ।

चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरू निर्वाचनको अघिल्लो दिन सुरक्षाकर्मीसहित सडकमा देखिनुले पनि सुरक्षा कति फितलो थियो भन्ने देखाएको थियो ।

स्थानीय निर्वाचनको दिन कहाँ–कहाँ हवाइफायर र मतपेटिका फुटाइए ?

स्थानीय निर्वाचनको दिन देशभर विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले हवाई फायर गरेका थिए । हिमाली जिल्ला डोल्पा, गोरखा, अर्घाखाँची, दोलखा, रामेछाप लगायतका पहाडी जिल्ला र तराईका अधिकांश जिल्लामा प्रहरीले हवाइफायर गर्नुपरेको थियो । निर्वाचनको समयमा झडप, मतपेटिका तोडफोडका घटना भएका थिए ।

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको थियो । काभ्रेको चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली मतदान केन्द्रमा एमाले र गठबन्धनबीच चर्किएको विवादका कारण झडप भएको थियो । झडपपछि मतपेटिका फुटाइएको थियो भने निर्वाचनमा आवश्यक पर्ने सामग्रीमा क्षति भएको थियो ।

विजयपुर नगरपालिका–३ शीतलपुर मतदान केन्द्रमा २ पक्षबीच विवाद हुँदा हवाई फायर गरिएको थियो । मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो ।

धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवार्ई फायर भएको थियो । ७० वर्षीय दुखी साह सोनारको मतदानमा सघाउँदा सहायक मतदान अधिकृतले उनको इच्छाविपरीत अन्य पार्टीमा स्वस्तिक छाप लगाइदिएको भन्ने विषयमा विपक्षीले विवाद गरेपछि प्रहरीले १ राउन्ड हवार्ई फायर गरेको थियो ।

महोत्तरीको बलवा नगरपालिकामा प्रहरीले हवार्ई फायर गरेको थियो । बलवा नगरपालिका–५ मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा हवार्ई फायर गरिएको थियो ।

बझाङको जयपृथ्वी नगरपालिका–७ मतदानस्थलमा सुनिपीपलचौर माविको मतदान केन्द्रमा झडप भएको थियो । त्यहाँ पनि प्रहरीले दर्जनौ हवाइफायर गरेको थियो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका थिए । डाक्नेश्वरी नगरपालिका–२ हरिरबा जनता मावि मतदानस्थलमा एक ज्येष्ठ नागरिक महिलाको मत खसाल्न गएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत फुटाइएको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मतदानस्थल तोडफोड भएपछि रणमैदान बनेको थियो । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको थियो ।

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउन्ड हवार्ई फायर गरेको थियो । मतदानस्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले बैतेश्वरमा ११ राउन्ड र मैलुङमा २ राउन्ड हवार्ई फायर गरेको थियो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको २ नम्बर वडा, जुम्लाको गुठीचौर गाउँपालिकाको ३ नम्बर वडा, कालिकोट रास्कोट गाउँपालिकाको ४ नम्बर र पचालझरनाको ३ नम्बर वडा, बझाङको जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडा, धनकुटाको शहीदभूमि गाउँपालिको ६ नम्बर वडा, सप्तरीको रुपमनी गाउँपालिकाको ५ नम्बरसहित देशभरमा ८२ ठाउँमा समस्या आएर पुनः मतदान गर्नुपरेको थियो ।

गगन अर्याल / लोकान्तर

२१ आश्विन २०७९, शुक्रबार १२:२५ मा प्रकाशित
Nabintech