Play

एमाले विभाजनमा ओलीलाई साथ दिएका १० भाई संकटमा, ओली दाहिना नभएपछि चिन्तामा

गुरुकुल खबर


खिला कार्की / नेपाल समय

काठमाडौं- नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकै बेला एमालेका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता खुबै चर्चामा थिए। नेता नेपालको साथमा रहे पनि नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेला केपी ओलीले १० बुँदे सहमति गरेर एमालेमै फर्किएका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता यतिबेला पाखा परेका छन्।

पार्टी विभाजनको अन्तिम अवस्थामा नेता नेपालको साथ छाडेर ओलीलाई साथ दिने १० भाइमा भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। यी १० भाइ एमालेमा सधैं नेता नेपालको पक्षमै रहे। तर एमाले विभाजनका बेला नेता नेपाललाई साथ नदिएर एमालेमै बसे। यी १० भाइ एमालेमा बसे पनि अध्यक्ष ओली भने अझै दाहिना भएका छैनन्।

महाधिवेशनमै अपमान

१० भाइप्रति ओलीको नजर नपरेको गत १०–१२ मंसिरमा चितवनमा पार्टीको १०औं महाधिवेशनमै देखिएको थियो। १० भाइले ओलीसँगको प्रतिस्पर्धामा अत्यन्तै न्यून भोट ल्याएका थिए। कुल खसेको २,०९६ भोटमा रावलको पक्षमा २२३ मत खसेको थियो। ओलीले १,८३७ मत ल्याएका थिए।

त्यस्तै १० भाइमध्येका घनश्याम भुसाल र सचिवमा भीम आचार्य पराजित भए। १० भाइमध्ये उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अहिले एमाले केन्द्रीय समितिमा छन्। सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराई छन्। पदाधिकारीमा निर्वाचित नभए पनि भुसाल, आचार्य, रघुजी पन्तलाई स्थायी समितिमा समावेश गरेका छन्। अमृत बोहरालाई सल्लाहाकार परिषद्को अध्यक्ष बनाइएको छ।

गोकर्णलाई सहज 

आउँदो चुनावमा १० भाइमध्येका गोकर्ण विष्टलाई बढी सहज देखिन्छ। विगतमा पनि ओलीविरुद्धमा त्यति धेरै आक्रामक नभएका विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। अन्य नेताहरूलाई भन्दा विष्टलाई एमालेको उम्मेदवार बन्न सहज भएको उक्त पार्टीभित्र चर्चा छ।

विष्टको क्षेत्रमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालको दाबी रहेको छ। अर्यालको दाबी रहँदा उनलाई अन्यत्र व्यवस्थापन गरेर पनि विष्टले टिकट लिने सम्भावना बलियो छ। विष्टले २०७४ मा ३४,६१८ मतसहित कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेका थिए। स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा एमाले अगाडि छ।

एमाले अगाडि भए पनि गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्ने देखिन्छ। स्थानीय तह चुनावमा एमालेको ३१,२५३, कांग्रेसको २९,८२१, माओवादीको १८,०४१ र नेकपा एसको ६५८ मत छ। यो क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य केसी उम्मेदवार बन्ने दाउमा छन्। गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीको पनि दाबी रहेको छ।

उम्मेदवारी नै दाबी नगर्नेहरू 

एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली यो पटक उम्मेदवारी नै दाबी गर्ने अवस्थामा छैनन्। ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए। त्यसबेला पार्टीले चुनाव लड्न सुझाए पनि निर्वाचन महँगो हुने भन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि इच्छा देखाएका छैनन्। ज्ञवालीले चुनाव जितेर पदमा पुग्नेभन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै आएका छन्। ज्ञवालीको दाङ क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली वा तुलसीपुर उप–महानगरका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार बन्ने सम्भावना छ।

दाङ क्षेत्र नम्बर ३ मा २०७४ को चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हिराचन्द्र केसी अहिले नेकपा एसमा छन्। गत स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मत हेर्ने हो भने एमाले नै पहिलो पार्टी देखिन्छ। तर गठबन्धन हुँदा उसकै पल्ला भारी छ। यो क्षेत्रमा एमालेको ३८,६५८, कांग्रेसको ३०,९८९, माओवादीको १२,८८० र नेकपा एसको १००० मत छ।

त्यस्तै, अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि यो पटक प्रदेश र संघ कतै पनि निर्वाचन नलड्ने मनस्थितिमा छन्। उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटहरूसँग बताउने गरेकी छन्। उनी निकट नेताहरूका अनुसार प्रदेशसभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन्। २०७४ को निर्वाचनमा उनी काठमाडौं ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन्। त्यसबेला शाक्यले ५,१६९ मत ल्याउँदै कांग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन्। अष्टलक्ष्मी प्रदेशसभा सदस्य भएका बेला सो क्षेत्रबाट एमालेका जीवनराम श्रेष्ठ उम्मेदवार बनेर जित हात पारेका थिए।

जीवनरामले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। अहिले श्रेष्ठ नेकपा एसमा छन्। गठबन्धनका तर्फबाट श्रेष्ठ सशक्त उम्मेदवार हुन्। यो क्षेत्रमा अहिले एमालेले प्रदेशसभा सदस्य राजेश शाक्यलाई उम्मेदवार बनाउने सम्भावना रहेको सो पार्टीका नेताहरूको भनाइ छ। काठमाडौं ८ मा स्थानीय तहको मतलाई हेर्दा कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २५३, नेकपा एसको ५,१४२, राप्रपाको  ३,१६० र माओवादीको १८९ छ। गठबन्धनसँग झन्डै दोब्बर मतान्तर भएपछि शाक्यले यो क्षेत्रमा चुनावमा उम्मेदवार बन्ने दाबी छाडेको बताइन्छ।

अमृत बोहराले पनि चुनाव लड्ने इच्छा देखाएका छैनन्। उनको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ हो। अघिल्लो पटक पनि उनको क्षेत्रमा वाम गठबन्धनबाट अग्नि सापकोटा चुनावी मैदानमा थिए। उनको क्षेत्रमा अब एमालेबाट अरुण नेपाल र सरेश नेपाल चुनावी मैदानमा आउने सम्भावना छ।

यो क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको पनि सशक्त दाबी छ। सापकोटा र बस्नेतमध्ये टिकट कसको भागमा पार्ने भन्ने टुंगो लगाउन गठबन्धनमा पनि ठूलै सकस पर्ने देखिन्छ। स्थानीय चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पनि एमालेभन्दा गठबन्धन धेरै मतले अगाडि देखिन्छ। यो क्षेत्रमा कांग्रेसको ३४,७६१, एमालेको २७,०५९, माओवादीको १९,३४४ र नेकपा एसको २,३११ मत छ।

जित होइन, टिकट हात पार्नै समस्या

एमालेमा १० भाइको नेतृत्व गर्ने भीम रावल, घनश्याम भुसाल र भीम आचार्यले भने सहजै टिकट पाउने सम्भावना नरहेको एमाले नेताहरूले बताएका छन्। रावल अछाम क्षेत्र नम्बर १ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। उनी यो पटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। तर उनको उम्मेदवार बन्ने दाबीलाई कृष्णप्रसाद जैसीले चुनौती दिइरहेका छन्। उनी जिल्लामा माधव नेपालहरूले एमाले विभाजन नगर्दा नै ओली निकट मानिन्थे।

अछामको पूर्वजिविस सभापति रहेका जैसी २०७० देखि नै प्रतिनिधिसभा सदस्यको दाबेदार थिए। रावलले यो पटक टिकट हात पारेपछि पनि जित हात पार्न धौ–धौ पर्ने देखिन्छ। अछामका एक जिल्ला नेताका अनुसार त्यहाँ भीमको राजनीति जोगाइदिएका शेरबहादुर कुँवर अहिले रावलसँग छैनन्। उनी रावलसँगै प्रतिनिधिसभा सदस्य भिड्ने तयारीमा छन्। ती नेताले भने, ‘एमाले विभाजनको कहीँ असर परेको छ भने त्यो अछाममै हो।

रावल संसद् विघटनदेखि नै ओलीविरुद्धमा लागे अनि उनका कार्यकर्ता जति सबै नेता नेपालतिर लागे। रावल अहिले एक्लै भएका छन्।’ कांग्रेसका भागमा यो क्षेत्र परे गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर र मेघराज खडकामध्ये एक जना उम्मेदवार बन्ने देखिन्छ। स्थानीय तह निर्वाचनको मत परिणामसमेत गठबन्धनको पक्षमा बढी देखिएको छ। अछाम क्षेत्र नम्बर १ मा  कांग्रेसको १६,७२८, एमालेको १६,५६७, माओवादीको ६,७९० र नेकपा एसको २,७५२ मत छ। गठबन्धनमा रहेका दलहरूको मत एमालेभन्दा झन्डै १० हजार बढी देखिन्छ।

त्यस्तै, भुसाललाई पनि टिकट फुत्काउन र जित हात पार्न दुवै समस्या रहेको रूपन्देहीका एमाले नेताहरूले बताउने गरेका छन्। भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ बाट कांग्रेस नेता एंव गृहमन्त्री बालकृष्ण खाण चुनावी प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसको ३४,१५३, एमालेको २९,०४८, राप्रपाको १३,३९७, जसपाको ६,१८३, माओवादीको २,८८१, लोसपाको २,१७४ र नेकपा एसको ९७७ मत छ। यो क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल भए गठबन्धनलाई टक्कर दिने अवस्था छ।

तर अघिल्लो पटक यो क्षेत्र राप्रपालाई कांग्रेसले सहयोग गरेको थियो। अघिल्लो पटक कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेकाले आफूले पाउनुपर्ने राप्रपाको दाबी हुन्छ। त्यसो भए घनश्याम आफैं उम्मेदवार बन्नबाट रोकिनेछन्। रूपन्देही एमालेका एक नेताका अनुसार यसपालि भुसाललाई रोक्न पार्टीभित्रैबाट प्रयास भइरहेको छ। एमालेका ती नेताले रूपन्देही क्षेत्र नम्बर ३ बाट एमालेको महिला उम्मेदवार हुने बताए। एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायलाई अगाडि सार्ने अनुमान छ। उनी ओली र विष्णु पौडेल नजिक मानिन्छन्।

एमाले नेता भीम आचार्य अहिले सुनसरी-१ बाट प्रदेशसभा सदस्य छन्। छोटो समय प्रदेश १ को मुख्यमन्त्री भएका आचार्यलाई मुख्यमन्त्रीमा गठनबन्धनका तर्फबाट नेकपा एसका नेता राजेन्द्र राईले विस्थापित गरेका हुन्। आचार्यलाई पनि टिकट पाउन र जित हात पार्न उत्तिकै समस्या छ। आचार्यको विकल्पमा वर्तमान सांसद जयकुमार राई र वर्तमान प्रदेशसभा सदस्य प्रदीप भण्डारी संघ र प्रदेशसभा सदस्य प्रकाश राईलाई सो क्षेत्रमा उम्मेदवार बनाउने एमालेको तयारी छ।

सुनसरी-१ एमालेको बाहुल्य रहेको र धरानलगायतका स्थानमा जनजाति मतदाताको संख्या उल्लेख्य भएकाले एमालेका प्रकाश राईले टिकटका लागि लबिइङ थालेका छन्। यो क्षेत्रमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अशोक राई उम्मेदवार बन्ने सम्भावना बढी छ। अघिल्लो संसदीय निर्वाचनमा पनि कांग्रेसले उनैलाई सघाएको थियो। तर एमालेका जयकुमार राई विजयी भएकउा थिए। उक्त क्षेत्रमा कांग्रेसबाट कांग्रेस संघीय संसदीय दलका सचेतक मीन विश्वकर्माले दाबी गर्दै आएका छन्। गत निर्वाचनमा कांग्रेसले राईलाई सघाउने भएपछि विश्वकर्मा समानुपातिकबाट सांसद बनेर सचेतक बनेका छन्।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री स्व मनमोहन अधिकारीले पनि यही स्थानबाट चुनाव जितेका थिए। २०४६ पछि यो क्षेत्रमा हालसम्म गैरकम्युनिस्ट उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका छैनन्। वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८ र राप्रपाको ४ हजार ७४ मत देखिन्छ। राप्रपा र एमालेबीच तालमेल भए यो क्षेत्रमा सत्तारुढ गठबन्धनलाई जित निकाल्न सहज देखिँदैन।

त्यस्तै, १० भाइमध्येका अध्यक्ष ओलीको चेपुवाका पर्ने नेता सुरेन्द्र पाण्डे पनि हुन्। उनी चितवन क्षेत्र नम्बर १ बाट २०७४ को चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर यो पटक सुरेन्द्रलाई चुनौती दिँदै एमाले चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलिया मैदानमा आएका छन्। थपलिया ओली निकट मानिन्छन्। चितवन क्षेत्र नम्बर १ बाट २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर पाण्डेले ५० हजार ८९६ मतका साथ विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र  बुर्लाकोटीले ३६,४५४ मत प्राप्त गरेका थिए। गत स्थानीय तह चुनावमा पनि यो क्षेत्रमा एमालेको मत नै अगाडि देखिन्छ। स्थानीय तह चुनावमा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत छ। यो क्षेत्रमा पाँचदलीय गठबन्धन भएको अवस्था र एमाले–राप्रपाबीच पनि चुनावी तालमेल भएको अवस्थामा गठबन्धनको मत थोरै मात्र अगाडि देखिन्छ। तर टिकट वितरणमै झमेलामा पर्ने अवस्थामा रहेका पाण्डेलाई चुनौती दिन कांग्रेसका तर्फबाट योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले वा अघिल्लो पटक पाण्डेसँग प्रतिस्पर्धामा रहेका बुर्लाकोटी उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेस नेताहरूले जनाएका छन्।

योगेशलाई पनि अप्ठेरो

२०६४ र २०७० को चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। अघिल्लो पटक माओवादीसहितको वाम गठबन्धनबाट विजयी योगेशलाई यस पटक भने टिकट पाउन ठूलो कसरत गर्नुपर्ने देखिन्छ। उनलाई एमालेकै पोलिटब्युरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन्।

मेयाङ्बो अध्यक्ष ओली निकट मानिन्छन्। उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञासमेत दिने गरेका छन्। मेयाङ्बोले अघिल्लो पटक र योगेशले यस पटक आफूलाई छाड्ने गरी सहमति गरेको बताउँदै आएका छन्। योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन्। पार्टी अध्यक्ष ओली निकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्बाङलाई लिएर ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहाल, लीला बोखिम एवं टीका गुरुङमध्ये एकलाई उम्मेदवार बनाउनेछ। कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले भने प्रदेशमा उठ्ने इच्छा जताएका छन्।

ताप्लेजुङमा अघिल्लो पटक भट्टराई २९,४७९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव दाहालले १६,८८८ मत प्राप्त गरेका थिए। गत ४ वैशाखको स्थानीय तह निर्वाचनले ताप्लेजुङमा एमालेलाई बलियो देखाएको छ। गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५,०१२ हुन्छ, जबकि एमाले एक्लैको २४,२९५ मत छ।

झन्डै-झन्डै रिटायर्ड रघुजी 

पत्रकारिताको पृष्ठभूमिबाट एमाले राजनीतिमा होमिएका रघुजी पन्त नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन् । ललितपुर क्षेत्र नम्बर ३ उनको निर्वाचन क्षेत्र हो। पन्त सो क्षेत्रबाट २०५६ मा प्रतिनिधिसभा सदस्य भएका थिए। २०६४ को चुनावमा भने पन्तले जित निकाल्न सकेनन्।

त्यसपछि राजनीतिको यात्रा ओरालो लागेको थियो, पन्तको। सधैं नेता नेपालको विश्वास पात्रका रूपमा काम गरेका पन्तले पछिल्लो पटक एमाले विभाजनमा नेता नेपाललाई साथ दिएनन्। यसपछि झन्डै–झन्डै संसदीय राजनीतिमा पन्त रिटायर्डजस्तै भएको एमाले नेताहरूले बताउने गरेका छन्। २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार पम्फा भुसाललाई टिकट दिइएको थियो। भुसालले कांग्रेसका तत्कालीन ललिपुर जिल्ला अध्यक्ष मदन अमात्यलाई पराजित गरेकी थिइन्। यो क्षेत्रमा अहिले एमालेबाट प्रदेश सांसद जीवन खड्काको दाबी रहेको छ।

स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेसको १८,५४५, एमालेको १७,७०९, माओवादीको ७,७२७, नेकपा एसको ५,१२९ र राप्रपाको ४,३४२ मत छ। यस्तो अवस्थामा गठबन्धन स्पष्ट रूपमा बहुमतमा देखिन्छ।

३१ श्रावण २०७९, मंगलवार २१:३८ मा प्रकाशित
Nabintech