♦दीपक शर्मा
काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विषयमा गृहमन्त्रालयले गोप्य रिपोर्ट निकालेको र सो गोप्य रिपोर्ट गृहमन्त्रीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको बुझिएको छ ।
आगामी मंसिरमा गर्न लागिएको प्रतिनिधिसभा निर्वाचनमा कुन दलले के –कति सीटमा चुनाव जित्लान् ? अहिले प्रायः सबै दलहरु आन्तरिक हिसाब–किताबमा जुटेका छन् । एक्लै चुनाव लड्दा कुन दलले कति जित्न सक्लान् , गठबन्धन बनाएर लड्दा कुन दलको अवस्था कस्तो होला र, गठबन्धनमा पनि कुन कुन दल मिल्दा कस्तो परिणाम आउँला भन्नेमा दलहरुले आन्तरिक सर्वे गरिरहेकै छन् ।
केही दिन पहिले केन्द्रीय समिति बैठकमा राजनीतिक दलहरुले एक्लाएक्लै चुनाव लड्ँदा र दलहरुका बीचमा गठबन्धन गरेर चुनाव लड्ँदा कुन दलको अवस्था कस्तो हुनसक्छ भन्ने विषयमा केन्द्रीत रहेर गृहमन्त्रीले देउवालाई रिपोर्ट पेश गरेकाे बताइएकाे छ ।
एक्लाएक्लै चुनाव लड्दा दलहरुको अवस्था र गठबन्धन गरेर लड्दा कुन खालको गठबन्धन बन्दा कुन दलको हैसियत के हुनसक्छ भन्नेमा केन्द्रीत रहेर ३ खालको रिपोर्ट डाटासहित पार्टी बैठकमा प्रस्तुत गरेकाे कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ′कांग्रेस एक्लै लड्दा १६५ सीटमध्ये ७७ सीटमा चुनाव जित्ने रिर्पोट गृहमन्त्रीले बैठकमा पेश गरेका थिए ।
कांग्रेसकै कतिपय नेताहरुले पार्टी एक्लै चुनावमा जानुपर्ने मत बैठकमा राखेपछि गृहमन्त्री खाँण तथ्यांकसहित केन्द्रीय समिति बैठकमा पेश भएका हुन् । उनले एक्लै चुनाव लड्ने तर माओवादीलाई अन्य दलसँग मिल्न नदिएमात्र कांग्रेसका लागि सहज हुने र त्यसो गर्दा पनि कांग्रेस र एमालेका बीचमा बराबरीको पोजिसन आउन सक्ने, एकदुई सीटले मात्र तलमाथि हुनसक्ने सम्भावनाको प्रत्यक्ष निर्वाचनतर्फको चित्र बैठकमा पेश गरेका छन् ।
एक्लाएक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी हुने दावी गृहमन्त्रीको पनि छ । कांग्रेसले जम्मा ७७ स्थानमा जित निकाल्न सक्ने उनको हिसाबकिताबको तथ्यांक छ । एमालेले ७०, माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादीले १, राप्रपाले शुन्य, जनता समाजवादी पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र बाँकी ३ सीट भन्न नसकिने स्थितिको रिपोर्ट गृहमन्त्रीको छ । उनले भन्न नसकिने ३ मध्येमा एक सीट नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा जित्ने बताएका छन् । साथै उनले गठबन्धन पहिलो आवश्यक भएको बताउँदै स्थानीय तहको नतिजाले निकालेको अवस्थालाई पनि सोच्नुपर्ने बताएको छलफलमा सहभागी नेताको भनाई रहेको छ ।
अलग अलग लडदा काग्रेस पहिलो भएपनि सत्ता गठबन्धन दललाई छोडन नमिल्ने भएका कारण कांग्रेसलाई समस्या आइपरेको हो ।कार्यकर्ताहरुले एक्लाएक्लै निर्वाचनमा जान सुझाव दिएपनि त्यो सफल हुन सकेन । अब आगामी मंसिर ४ गते गृहमन्त्रीको रिपोर्टको नतिजा कुर्नु बाहेका अर्काे विकल्प नभएको कांग्रेस नेताहरुको भनाई रहेको छ ।