नेपाली अभिनय क्षेत्रमा अनुप बराल उम्दा अभिनेता हुन् । अभिनयमा जति उनको पकड छ, त्यति नै उनको छवि गुरूका रुपमा पनि छ । एक्टर स्टुडियोमार्फत उनी नयाँ पुस्तालाई अभिनय सिकाउँछन् । त्यसो त अनुप अभिनेता र अभिनय सिकाउने गुरु मात्र होइनन्, उनी निर्देशक पनि हुन् । रंगमञ्च हुँदै उनी चलचित्र निर्देशनमा पनि आइसकेका छन् ।
तीन दर्जनभन्दा धेरै नाटक निर्देशन गरेका अनुप अहिले आफ्नो निर्देशनको दोस्रो फिचर फिल्म ‘दोख’ रिलिजको पूर्वसन्ध्यामा छन् । अनुप बक्सअफिसको लोभमा भन्दा पनि कसरी प्रभावकारी रूपमा चाहेको कथा भन्न सक्छु भन्नेमा केन्द्रित हुने निर्देशक हुन् । अनुप किन चलचित्र बनाउँछन् ? उनको नजरमा कस्ता चलचित्र राम्रा हुन् ? राम्रो चलचित्रको मानक के हो ?
बाह्रखरीका नरेश फुयाँलले यी र यस्तै केही प्रश्न उनै अनुपलाई गरेका छन् ।
प्रायः अरूको चलचित्रमा अभिनय गर्ने कलाकार अहिले आफ्नै निर्देशनको चलचित्र रिलिजको पूर्वसन्ध्यामा हुनुहुन्छ, कलाकार र निर्देशकका रूपमा प्रदर्शनपूर्वको अनुभूतिमा के भिन्नता हुँदो रहेछ ?
कलाकारका रूपमा अरूको चलचित्रमा धेरै काम गरिरहेको हुन्छु । अरूको चलचित्रमा मेरो काम कस्तो भयो भन्ने हुन्छ । अरूको काम कस्तो भयोभन्दा पनि मेरो कामलाई दर्शकले कसरी लिइदिनुहुन्छ भन्ने कुराको चिन्ता हुन्छ । फिल्म राम्रो भयो भने मेरो भूमिकालाई पनि दर्शकले रुचाउँछन् भन्ने पनि हुन्छ । किनभने, फिल्म चर्चामा रहेन भने दर्शकको काम पनि देखिँदैन भन्ने हुन्छ । तर, मुख्य त आफ्नै कामको मात्रै चिन्ता हुन्छ ।
आफ्नो निर्देशनमा बनेको चलचित्र रिलिज हुँदा समग्र चलचित्र नै राम्रो होस् भन्ने हुन्छ । पहिलोपटक बियर खाँदा मान्छेले लुकेर पिउँछ, डराइडराइ लुकेर बियर पिउँदा त्यसमा एक प्रकारको रोमान्छ पनि हुन्छ । तर, सँगै कसैले देखेर परिवारलाई भन्दिएला कि भन्ने आतंक पनि हुन्छ । आतंकित बनाउने रोमान्स हुन्छ । आफ्नो निर्देशनको चलचित्र रिलिजको तयारीमा रहेको निर्देशकलाई त्यस्तै अनुभूति हुन्छ । एउटा मनमा मैले भन्ने खोजेको कुरा राम्रोसँग आएको छ कि छैन भन्ने डर हुन्छ । अर्कोतर्फ, मलाई मात्रै लागेको हो कि दर्शकलाई पनि राम्रो लाग्छ भन्ने दोधार हुन्छ । समग्रमा आतंक मिसिएको रोमान्सको अनुभूत भइरहेको छ ।
अभिनय मात्र गरेको ‘पानीफोटो’ पनि रिलिज हुँदै छ । त्यसअघि नै आफ्नै निर्देशनको ‘दोख’ रिलिज हुँदै छ । यसको अर्थ दुवै अनुभव एकैपटक गरिरहनुभएको छ ?
‘पानीफोटो’ नाटक पनि भएकाले म यसमा झन धेरै उत्साही र उत्सुक छु । किनभने, यो साहित्यिक कृतिलाई चलचित्रमा रूपान्तरण गरेर आउँदै छ । चिलचित्रले ल्याउने नयाँ भाषा कसरी आउने हो भन्ने कुराको व्यग्र प्रतीक्षा छ ।
‘दोख’ सुरु गरेको लामो समय भयो, किन यति धेरै ढिलो गर्नुभयो ?
यो चलचित्र ०७२ को भूकम्पअगाडिदेखिको हो । लामो समय मैले धेरै काम गर्न सकिनँ । दिमागमा यही चलचित्र लिएर हिँडिरहेँ । सुरुमा भूकम्पले रोक्यो, पछि नाकाबन्दीले रोक्यो । त्यसपछि विविध कारणले आजसम्म लाग्यो ।
मैले गरेको काम ढिलो आउँदा कतै काम राम्रो भएन र आउन डराइरहेको त छैन भनेर पनि भनियो होला भन्ने लाग्छ । तर, काम ढिलो हुँदाका केही फाइदा पनि छन् । जस्तो, मैले कति कुरा परिमार्जन गर्ने र फरक तरिकाले सोच्ने अवसर पाएँ । लगातार एउटै काम गर्दा त्यसमा सोच्ने फुर्सद हुँदैन र परिमार्जन गर्ने मौका मिल्दैन । यसमा भने मैले अवसर पाएँ, भलै ढिलो गर्ने उद्देश्य थिएन । एउटै काम लामो समय नसकिँदा फ्रस्टेसनजस्तो पनि भयो । अहिले असार २४ मा सिनेमा रिलिज हुँदै छ भन्दा ठूलो भारी बिसाउँदै छु जस्तो पनि लागेको छ ।
समाजमा यति धेरै कथा छन्, त्यसमध्ये तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथा नै रोजाइमा पर्नुको कारण ?
न्यु नेपाली सिनेमा भन्ने ग्रुपले सिनेमासम्बन्धी छलफल चलाइरहेको थियो । करिब आठ वर्ष अगाडि यो समूहले स्क्रिप्ट लेखन प्रतिस्पर्धा आयोजना गरेको थियो । यसमा म निर्णायक थिएँ । मैले आयोजकलाई जिस्काउँदै भनेको थिएँ, छनोट भएका उत्कृष्ट १० मध्ये मैले चाहेको स्क्रिप्टमा म सिनेमा बनाउँछु, हुन्छ ? उनीहरूले भने, हुन्छ । त्यसपछि राजन कठेतले लेखेको कथा मलाई विशेष लाग्यो । मैले उहाँसँग कुरा गरेँ । उहाँको कथाको पृष्ठभूमि जनयुद्ध भए पनि मल्टिलेयरमा कथा थियो । यसले मलाई लोभ्यायो । यो कथा मैले रोजेँ । प्रतियोगितामा पहिलो पनि भयो यो कथा । हाम्रै समाजको कथा भएकाले पनि मेरो रोजाइमा यो कथा पर्यो ।
तपाईं पोखराको मान्छे, कथा खोटाङको, छायांकन भोजपुरमा भयो, त्यहाँको रहनसहन र लवज चित्रणमा कत्तिको जटिलता झेल्नुपर्यो ?
द्वन्द्वको कथा भएकाले धेरै कुरा त मिल्लोजुल्दो हुन्छ । ‘दलन’को छायांकनमा म पनि भएकाले त्यसले पनि मलाई केही अनुभव थियो । एकैछिनमा माओवादी आउँथे, एकैछिमा सेना आइपुग्थ्यो । छिनमै आकाशमा सेनाको हेलिकोप्टरले गस्ती गर्थ्यो । माओवादीसँग हामी गफ गरेर बस्थ्यौँ । मात्रै भूगोलका कारण त्यहाँको भाषा कसरी समात्ने भन्ने थियो । त्यसमा पनि त्यति धेरै गाह्रो भएन । कारण, हामी हिमालको एउटा उचाइमा पुगेपछि करिबकरिब उस्तै हुनेरहेछ सबैतिर । सानोसानो भौगोलिक संरचनामा मात्रै फरक हो । जनजातिको भाषागत कुरामा मात्रै हो फरक हुने ।
गाह्रो भनेको बस्न र खान मात्रै भयो । कारण, सदरमुकामबाट धेरै टाढा थियौँ हामी । एकैखालको ठाउँमा धेरै दिन बस्दा पट्यार लागेको महसुस साथीहरूले गरिरहनुभएको अनुहारमा देखिन्थ्यो ।
अक्सर अरूको मूल्यांकन धेरै गर्ने तपाईं आफ्नै कामको मूल्यांकन अरूलाई गर्न छोड्दिँदा कस्तो लाग्छ ?
आफ्नो सिनेमा बनाएर दर्शकमा पुर्याएपछि निर्देशक मरिदिनुपर्छ भन्ने मेरो बुझाइ छ । चलचित्र रिलिज भएपछि जस्तो प्रतिक्रिया पनि शिरोपर हुन्छ । सकेको जति काम अगाडि नै गर्ने हो । काम सकेपछि निर्देशक बाँच्ने भनेको सिनेमामा उसले छोडेको इमोसनमा हो । दर्शकले राम्रो भने राम्रो, होइन भने फेरि अर्को बनाउँछु भन्नुको विकल्प हुँदैन ।
तपाईंहरूले बनाइरहेका जस्ता चलचित्रले बक्सअफिसमा धेरै कलेक्सन गरिरहेका छैनन्, तर पनि यस्तै चलचित्र बनाइरहनुभएको छ नि ?
हामीले बनाएको चलचित्रले ह्युज कलेक्सन गरोस् भन्ने चाहना त हुन्छ, किनभने सिनेमाको कुनै समय हुँदैन । बनिरहेका भन्दा फरक चलचित्रले बलिउड, हलिउडमा बक्सअफिस कलेक्सन राम्रो गरेका धेरै उदाहरण छन् । कतिपय चलचित्र बनेको धेरै वर्षपछि एप्रिसिएसन भएका छन् । हामीले सोच्ने भनेको मैले गरेको कामले मलाई सर्वकालीक रूपमा बचाओस् भन्ने हो । यो चेत राम्रो हो कि होइन मलाई थाहा छैन । तर, सिनेमा व्यापार पनि भएकाले कमाओस् भन्ने लोभ त हुन्छ नै । कमायो भने निर्मातालाई अर्को चलचित्र बनाउन हौसला पनि हुन्छ ।
तपाईं (निर्देशक)हरूले सोचेजसरी नै प्रोडुसरले सोच्छन् ?
नेपालमा प्रोडुसरप्रतिको बुझाइ नै गलत छ । उहाँहरू फाइनान्स गरेर आफूलाई प्रोडुसर भन्नुहुन्छ । प्रोडुसरको काम त सिर्जनात्मक पनि हो । तर, हाम्रोमा त्यस्तो छैन । प्रि–प्रोडक्सनदेखि रिलिजसम्म उहाँहरूको भूमिका हुन्छ । कार्यकारी निर्माताले त क्रिएटिभ पार्टमा निर्देशकलाई हस्तक्षेप पनि गर्न सक्नुहुन्छ, भलै अन्तिम निर्णय निर्देशककै हो । मैले यो चलचित्र आफ्नै सोच र सिर्जनामा बनाएको हो । लगानी गर्ने व्यक्ति अष्ट्रेलियामा भएकाले सल्लाह भर्चुअल माध्यमबाट हुन्थ्यो । सँगै बसेर काम गर्न पाएको भए अझ सहज हुने थियो ।
यो चलचित्र त भूकम्पअगाडि नै केही सिन खिचेर आजसम्म रहेको हो । त्यो बेला खिचेको सिन काम लागेन । मैले आफूले दुःख गरेको सम्झिएर बनाएको हुँ, नत्र यो प्रोजेक्ट नै फ्रिज भइसक्थ्यो ।
तपाईंको पहिलो फिचर फिल्म ‘फिट्किरी’ त्यति धेरै चलेन । त्यो चलचित्रमा निराश भएर फर्किएका दर्शक यो चलचित्र हेरेर आहा ! भन्न सक्नेछन् ?
त्यो चलचित्र मिश्रित थियो । २२ दिन थिएटरमा चलेको हो । तर, व्यापारिक रूपमा सोचेजस्तो नभएकै हो । अनुप बरालको चलचित्र भनेर अपेक्षा धेरै भयो । अनुप बराल भन्नेबित्तिकै थिएटरकै सोचबाट हेरियो, सायद फिलोसफी धेरै खोजियो । मेरा साथीभाइले नै गाली गरे । अहिले दोहोर्याएर हेर्ने हो भने पनि कति नयाँ कुरा देखिन्छ । त्यही बेला बनेका ‘फिट्किरी’भन्दा कमजोर फिल्मको चर्चा हुन्थ्यो । तर, मबाट धेरै अपेक्षा गरेकाले ठिकै भए पनि अझै राम्रो खोजियो ।
यो चलचित्रबाट अपेक्षा पूरा होला भन्ने कुरा म भन्न सक्तिनँ । अमूर्त कुरा हो यो । मान्छेको दिमागमा कोही प्रश्न सकिँदैन । कहिले सोच्दै नसोचेको चलचित्र चलिरहेको हुन्छ, कहिले राम्रा चलचित्र नै चल्दैनन् । सफलताको मापदण्ड के हो भन्ने नै थाहा छैन ।
चलेका सबै चलचित्र सफल होइनन् ?
चल्नु नै चलचित्र सफल हुनुको मापदण्ड हुँदै होइन । चलचित्र चल्नु व्यापारिक रूपमा सफलता हो, तर सफल चलचित्र होइन ।
कस्तो चलचित्र राम्रो हो ?
मेरो विचारमा चलचित्र हेरेर हलबाट बाहिर निस्किएको दर्शकलाई जुन चलचित्रले लामो समयसम्म छुन्छ, घच्घच्याउँछ, केही कुरा गर्न प्रेरित गर्छ, उत्साहित बनाउँछ वा भ्रम सिर्जना गर्छ त्यो चलचित्र राम्रो हो ।
यसमा चेतनाको स्तरले पनि काम गर्छ । कसैलाई क्लासिकल संगीत मनपर्छ, कसैलाई हिपहप । हिपहप मन पर्नेले क्लासिकल संगीत संगीत नै होइन भनेर भन्दैमा त्यो संगीत नै होइन भनेर भन्न मिल्दैन । फ्रेन्च बोल्न नजान्नले फ्रेन्च भाषै होइन भन्दैमा त्यो भाषा नै नहुने भन्ने हुँदैन । कलाको पनि चेतना हुँदो रहेछ । यसको अर्थ हामीले बनाएको मात्रै राम्रो भन्न खोजेको होइन । फिल्म लिट्रेसीले पनि धेरै कुरा निर्धारण गरिरहेको छ भन्ने हो । पछिल्लो समय जसरी हाम्रोमा सो कल्ड आर्ट हाउस मुभी बनिरहेका छन्, यो सकारात्मक पक्ष हो । यसमा पनि कमजोरी नभएका होइनन् । तर, राम्रो कामको सुरुआत भएको छ भन्ने हो ।
सिनेमा भन्नेबित्तिकै सुरुमा मनोरञ्जन नै हो, बाँकी तपसिलका कुरा भन्नेलाई तपाईंको टिप्पणी के छ ?
मनोरञ्जन हो । तर, मनोरञ्जन धेरै तरिकाले लिन सकिन्छ । कसैले मनोवैज्ञानिक रूपमा मनोरञ्जन लिन्छ होला, कसैले हाँसो ठट्टा गरेर । कसैले अश्लील साहित्य पढेर वा कसैले फन्टुस कविता पढेर पनि मनोरञ्जन लिएला । फिल्म लिट्रेचरको कुरा यहीँ आएर जोडिने हो ।
तपाईंको चलचित्रले राम्रो समीक्षा पायो, तर कलेक्सन राम्रो भएन भने आफूलाई सफल निर्देशक मान्नुहुन्छ ?
समीक्षा राम्रो आयो भने म मेरो काममा आफूलाई सक्सेस मान्छु । निर्देशक स्टोरीटेलर हो । आफूले भन्न खोजेको काम उसले राम्रोसँग भन्दियो भने उसको काम नै त्यही त हो । बक्सअफिसको जिम्मा लिएर मैले काम गर्न थालेँ भने मैले चलाउनका लागि मात्रै मसला हाल्न थाल्छु होला किनकि, कमर्सियल चलचित्र बनाउने प्रेसरमा चलचित्र बनाउन थालियो भने त्यो बाटो नै अर्कै हुन्छ । सिर्जनात्मक काम गर्न निर्देशकलाई छोडिदिनुपर्छ ।
तपाईं किन चलचित्र बनाउनुहुन्छ ?
अरू माध्यमभन्दा यो माध्यमबाट कथा प्रभावकारी रूपमा भन्न सकिन्छ । र, यसले तुलानात्मक रूपमा धेरै प्रभाव पार्छ भनेर चलचित्र बनाउने हो । प्रोडुसरले यो मान्छेले यसरी कथा भन्छ र पैसा उठ्छ भनेर लगानी गर्ने हो, कहिलेकाहीँ बक्सअफिस सोचेजस्तो नहुन पनि सक्छ ।
अहिलेका अधिकांश निर्देशकलाई बजारले निर्देशन गरिरहेको छ ?
हो । देख्दा त्यही देखिरहेको छ । जस्तो चल्छ, त्यस्तै बनाउनुपर्छ भन्ने देखिएको छ । टिकटकमा आउने पनि हिट छन् । टिकटकमा आएर हिट भएको अवस्था छ । टिकटकमा आएर गीत गाउँदैमा कोही नारायणगोपाल हुन्छ र ? यो त क्षणिक कुरा हो । सर्वकालीक कुरा महत्त्वपूर्ण हो ।
समाज डि–फोकस्ड भयो, हामी डि–फोकस्ड भएको समाजलाई फोकस्ड गर्न खोजिरहेका छौँ । समाज जस्तो छ, त्यही ठिक भनेर बस्ने कि यो ठिक होइन भनेर सच्च्याउन खोज्ने भन्ने कुरा महत्त्वको हो ।
थिएटरबाट आएका कलाकार क्रिएटिभ हुन्छन् भन्ने छ । पब्लिसिटी डिजाइन पनि नयाँ तरिकाले हुँदै छ कि पुरानै तौरतरिका भत्काउन सक्नु भएन ?
नेपालमा निर्देशक पनि कन्डक्टरजस्तो हुन्छ । कलर गरेपछि साउन्डका लागि हार्डडिस्क बोकेर स्टुडियो÷स्टुडियो धाउने काम पनि यहाँ निर्देशकले गरिरहेको छ । पोस्टर बनाउने काम मेरो होइन, पब्लिसिटी गर्ने काम निर्देशकको होइन । तर, यहाँ सबै काम निर्देशकले गरिरहेको छ । सकेसम्म राम्रो काम गरौँ भन्ने नै हो । फेस्टिभलमा गएका फिल्ममा काम गरेका साथीहरूसँग काम गरिरहेको छु ।
हाम्रोमा राम्रा काम गर्ने कलाकार छन्, मात्र उनीहरूलाई गाइड गर्ने निर्देशकको कमी छ भनिन्छ, हो ?
यो कुरा म किन मान्छु भने क्यापटेन अफ दी सिप डिरेक्टर नै हो । उसले कास्टिङदेखि नै आफूअनुकूल काम गरिरहेको हुन्छ । उसले चाह्यो भने रि–कास्ट गर्न सक्छ । लोकेसन छान्छ, वर्कसप गर्छ । गर्छु भनेको काम गर्न सकेन भने, चाहेअनुसारको काम गर्न÷निकाल्न सकेन भने त्यो निर्देशकको नै कमजोरी हो ।
यो कमजोरी तपाईंको सिनेमामा छैन भन्ने विश्वास गरौँ ?
सकेसम्म न्यूनीकरण गर्ने प्रयास गरेको छु । कास्टिङमा ध्यान दिएको छु । ६० प्रतिशत सिनेमाको काम उपयुक्त कास्टिङ गर्न सक्यो भने सकिन्छ भनिन्छ । कोसिस गरेको छु ।
चलचित्र चलाउन बजारले रुचाएका कलाकार लिने चलन छ, बक्सअफिसमा फिल्म चलाउने लोभ लागेन ?
लागेन । कहिलेकाहीँ म नजान्ने मान्छे हुँ कि भन्ने पनि लाग्छ । तर, समस्या के हो भने स्टारडमले आफ्नै अनुहार बनाइसकेको हुन्छ । दर्शकको दिमागमा उसको चित्र बनिसकेको हुन्छ । चलचित्रमा जुन पात्र मैले देखाउन खोज्दै छु, त्यसमा उनीहरूले विश्वास नगर्लान् कि भन्ने डर लाग्छ । नयाँ अनुहारमार्फत कथा भनियो भने दर्शकमा विश्वास दिलाउन सहज हुन्छ ।
नेपाली चलचित्रको प्राविधिक पक्षको काम गराउन सकेसम्म बाहिर लैजान पाए हुन्थ्यो भन्ने मेकर धेरै छन्, तपाईंले त्यो प्रयास गर्नु भएन ?
एडिटिङ, सिनेमेटोग्राफी, कलर, साउन्डलगायत धेरै काम गर्न विदेशी प्राविधिकको सहयोग लिने चलन छ । मलाई पनि केही साथीले विदेशी प्राविधिक सजेस्ट गर्नुभएको थियो । तर, मैले सकेसम्म राम्रो काम यहीँका प्राविधिकबाट निकालौँ भनेर यहीँ काम गरेँ । एक लेभलको काम निस्किएको पनि छ । यो काम पनि चित्त बुझेन भने अरू चलचित्रको काम गर्न विदेशी प्राविधिक खोजौँला भनेर काम गरेको छु ।