पोखरा । स्थानीय तहको निर्वाचनको समय छोटिदै गर्दा चुनावी मैदानमा प्रतिष्पर्धि राजनीतिक दलका कार्यकर्ताहरु हात हालाहाल गरी भिडन्तमा उत्रिएका छन् । मतदातालाई आफ्नो पक्षम पार्ने उद्देश्यले फरक दलका कार्यकर्ताहरु एकापसमा ढुंगा र मुक्का हानाहान मात्र होइन हत्या गर्ने अपराधसम्म गर्न पुगेका छन् ।
मुलुकको विभिन्न ठाउँमा दलहरुका कार्यकर्ताहरुवीच गालीगलौज र आरोप प्रत्यारोपवाट शुरु भएको चुनावी अभियान खुकुरी हानाहान, कुटपीट,हत्यासम्म पुगेको छ ।
स्याङ्जामा कांग्रेस एमाले झडप
स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप भएको छ ।
झडपमा एमालेका कार्यकर्ताको खुकु्री प्रहारबाट नेपाली काँग्रेसका पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन । घाईतेहरुको पोखराको फेवासिटि हस्पिटलको आइसियुमा उपचार भईरहेको छ । खुकुरी बोकेर अपराधीक मानसिकता सहित ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने एमाले कार्यकर्ताहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउन काँग्रेसी कार्यकर्ताहरुले माग गरेका छन् ।
दोलखामा एमाले उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई खुकुरी हाने
कालिञ्चोक गाउँपालिकामा मंगलबार राति एमाले पक्षका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी हानेर गम्भिर घाईते बनाई दिएका छन । कालिञ्चोक गाउँपालिका ४ को नर्मीमा राति १०ः३० दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
कांग्रेसका वडा सदस्य पदका उम्मेदवार छत्रबहादुर कार्कीलाई एमालेका वडा सदस्य उम्मेदवार राजेन्द्र कार्की र सरोज ठकुरीले खुकुरी हानेका प्रत्यक्षदर्शीले वताएका छन । टाउकोमा गम्भिर चोट लागेका छत्रको चरिकोटमा उपचार भइरहेको छ । सरोज कृषि विकास बैंकका इन्जिनियरसमेत हुन्। राजेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि ठकुरी भने फरार भएका छन्।
रोल्पामा कांग्रेस कार्यकर्तालाई खुकुरी हान्ने माओवादी पक्राउ
कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएको हो । खुकुरी हानेर भाग्दै गरेका केसीलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले वताए ।
झडपमा एमाले सहित चार प्रहरी घाईते
सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।
झडपमा एमालेका ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडपमा दुई जना घाइते भएका छन्। ।
चुनावी प्रचारको विषयलाई लिएर बकैया गाउँपालिका–७ कत्लेखोलामा दुवै पार्टीका कार्यकर्ताबीच भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको दुवै पक्षका स्थानीय नेताले बताएका छन्।
खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ
गोरखा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न गोरखाको गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरीसहित पुगेका कांग्रेस कार्यकर्ता मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बिहानका लागि बोलाइएको बैठकमा उनी कांग्रेसको प्रतिनिधित्व गर्दै पुगेका थिए । बैठकमा प्रवेशअघि झोला चेकजाँच गर्दा खुकुरी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको गोरखाका डीएसपी लीलाराज लामिछानेले बताए।
एमाले महिलाको बलात्कारपछि हत्या अभियोगमा माओवादी केन्द्रका उम्मेदवारसहित तीन पक्राउ
चुनाव प्रचारको बेला भएको विवाद सल्टाउन पुगेकी एमालेकी एक महिला कार्यकर्ताको अपहरण गरेर बलात्कारपछि हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले एक जनप्रतिनिधिसहित माओवादी केन्द्रका तीन कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका -११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी प्रकाश डाँगीले अभियुक्तहरुका बिरुद्ध रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डाँगीले बताए ।