पोखरा २५ वैशाख ।स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहदा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं १० ले आज गठबन्धनका तर्फबाट पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवारसंगै घरदैलो र चुनावी सभा कार्यक्रमको आयोजना गर्यो ।
चुनावी सभामा बोल्दै पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले वडा नं १० मा रहेको अव्यवस्थित घरबस्ती हटाएर व्यवस्थित बनाउने र लालपूर्जा विहिनलाई लालपूर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवस्थित पोखरा बनाउन आफ्नो पहिलो पहल रहने बताउँदै आचार्यले कुशल नेतृत्वको अभावले पोखरा महानगरले विकासमा फड्को मार्न नसकेको बताए । उम्मेदवार आचार्यले पोखरामा प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसक्नुका साथै विकासमा अगाडि बढ्न नसकेको बताएका हुन् ।
सोही चुनावी सभामा बोल्दै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले अव्यवस्थित बस्ती र स्तरोन्नति नभएका सडकहरुको स्तर बढाउनुका साथै पोखरा महानगरमा पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले काम गर्ने बताईन् । महिलामैत्री वडा बढाउन आफ्नो पहिलो प्रयास रहने बताउँदै रानाभाटले महानगरलाई नै महिला मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको बताउँदै मतदातालाई मताधिकार प्रयोग गर्न र विवेकपुर्वक मत नेपाली काँग्रेसलाई दिन आग्रह गरे । आफ्नो प्यानलको जीतसंगै वडाबासीको शिक्षा, स्वास्थ्य, जिवीकोपार्जन जस्ता पक्षलाई प्राथमिकता राखिने विश्वास दिलाए ।
नेपाली काँग्रेस वडा ईकाई समितिका कार्यवाहक सभापति दिपकबहादुर थापाको अध्यक्षतामा सम्पन्न चुनावी सभाको संचालन सचिव उदिम गुरुङले गरेका थिए ।
नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका राजेश गुरुङ नेतृत्वमा सदस्य पदका उम्मेदवारहरुमा परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली रहेका छन् ।