पोखरा, २९ चैत । निशुल्क प्रवेश सहित खुल्ला सडकमा बुधबारबाट पोखराको लेकसाइडमा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटल संघ पोखरा नेपालले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा सहभागी भई नयाँ बर्षलाई स्वागत गर्न अव्हान गरेको छ । दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव संचालन हुने छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्रापत कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिबहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुती रहने छ ।
यसैगरी लाइभ ब्याण्ड तर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुती रहेन पनि अवगत गराउन चाहान्छौं । नयाँ बर्षको दिन बैशाख १ गते प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षत्री, माया गुरुङ, लक्ष्मी नेपाली र तुसा क्षत्रीले मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ । यस दिन पनि लाइभ ब्याण्डको प्रस्तुती रहने छ । महोत्सव उद्घाटन सँगै दोहोरी र अन्य कार्यक्रम संचालन हुने र साँझपछि राति १२ बजेसम्म पप कन्सर्टका कार्यक्रम समेट्ने योजना संघको छ । दोश्रो तथा अन्तिम दिन पनि त्यसैगरी कार्यक्रम अगाडि बढ्ने छन् ।
महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्यक्रमहरु संचालन गरिने संघले जनाएको छ । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने छ । अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । होटलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ बर्ष लक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको पनि उनले बताए । होटलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यस अघि नै गरिसकेको छ । महोत्सवका अवसरमा रात्रीकालिन वस तथा ट्याक्सी सेवा उपलब्ध हुने जानकारी पनि संघले दिएको छ । सो अवसरमा संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पर्यटनमा विस्तारै सुधार हुँदै गएको र गण्डकी प्रदेशका पोखरा बाहेक अन्य क्षेत्रमा समेत पर्यटकहरु पुग्ने क्रम देखिएको जानकारी दिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
फ़ोटो – तिर्थ केसी