पोखरा , नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माण गर्ने पहल शुरु गरेको छ । यसै क्रममा सोमवार पोखरामा एक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।
गोष्ठीमा कास्की कांग्रेसको जिल्ला समितिका पदाधिकारी र सदस्यहरु. क्षेत्रीय समितिका सभापतिहरु , प्रदेश कार्यसमितिका अध्यक्षहरुका साथै कास्की जिल्लाका पाचवटा पालिकाका सभापतिहरु र पोखरा महानगरमा कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षहरु सहभागि रहेको बताईएको छ ।
गोष्ठीमा सहभागीहरुले कांग्रेसको संगठन सुदृढ़ीकरणका लागि आआफ्नो भनाई राख्नुका साथै समूह बनाएर छलफल समेत गरेका थिए । गोष्ठीबाट प्राप्त सुझावका आधारमा कास्की कांग्रेसले पहिलो चरणमा ६ महिने कार्ययोजना तयार गर्ने भएको छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पार्टीको संगठनलाई सुदृढ़ बनाउन योजनाका साथ अगाडी बढ्नुपर्ने भएकोले सांगठनिक योजना तयार गर्न कार्यशाला गोष्ठी गरिएको जानकारी गुरुकुल खवरलाई दिनुभयो ।
गोष्ठीमा आएका सुझावका आधारमा कास्की कांग्रेसले आगामी माघ महिनासम्म टोल कार्यसमितिहरु गठन गर्ने , माघ महिना सम्ममा नै तल्लो तहसम्म पुगेर नेतृत्व विकास एवं राजनीतिक प्रशिक्षण दिनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट योग्य उमेदवार चयन गर्नको लागि व्यवस्थित र वैज्ञानिक पद्दती अपनाउने प्रयासमा कास्की कांग्रेस रहेको छ ।
पार्टीबाट चुनाब लड्नका लागि पैसा र अन्य विभिन्न हथकण्डा प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्दै पार्टीमा निरन्तर क्रियाशील, अनुभवी , सामाजिक रुपमा पहिचान बनाएका र सम्भव भएसम्म टेष्टेड नभएका तर चुनाव जित्न सक्ने व्यक्तित्व छनौट गर्नका लागि पार्टीले विशेष मापदण्ड तयार गर्ने विषयमा पनि गोष्ठीमा छलफल भएको बुझिएको छ ।
गोष्ठीमा समुहगत छलफलको निष्कर्ष शंकर ढुंगाना , भानु ढकाल , देवेन्द्र भाट , दिपक सुबेदी लगायतले प्रस्तुत गरेका थिए । कार्यक्रममा सभापति बराल र उप सभापति युवराज कुंवर सहित डा इन्द्र तिवारी , चन्द्रकृष्ण कर्माचार्य , शिक्षासेवी विष्णु अधिकारी, डा कृष्ण पौडेल , व्यवसायीहरु गणेश बहादुर भट्टराई, बाबुराम गिरी , देवेन्द्र केसी ,बिमल वसेल र रविरमण तिवारी, राजु क्षेत्री लगायतकाले आआफ्नो अनुभव राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका विभिन्न वडामा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुलाई बोलाईएको भएपनि अन्य पालिकाका वडाध्यक्षहरु ,बिभिन्न भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराईएको थिएन ।
१९ पुष २०७८, सोमबार २१:५२ मा प्रकाशित