Play

अर्थ मन्त्री डा महत पोखराका विभिन्न कार्यक्रममा सहभागी, सोसल मिडियाको भ्रममा नपर्न, सकारात्मक र संगठित बन्न आग्रह

उधोगी, व्यवसायी, पार्टी कार्यकर्ता, कर्मचारी र पत्रकार संग भेटघाट,


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका प्रवक्ता एवं नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाश शरण महत शनिवार पोखरामा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुभयो । शुक्रवार साँझ पोखरा आउनुभएका मन्त्री महतले शनिवार बिहान नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी बन्नुभएको थियो भने त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको राष्ट्रिय समन्वय परिषदको बैठकमा सहभागी बन्नुभयो ।

त्यसपछि वहाँ आन्तरिक राजस्व कार्यालय पोखरामा पुगेर कर्मचारीहरुलाई निर्देशन दिनुको साथै कार्यालयको निरीक्षण समेत गर्नुभयो । त्यस लगत्तै वहाँ पोखराको निजी क्षेत्रसंग सम्बन्धित उधोगी व्यवसायीहरुको संस्था उधोग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्नुभयो ।

आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गर्ने क्रममा मन्त्री महतले भने, “जो करको दायराभित्र पर्छन् उनीहरू भ्याट नलगाइदिए हुन्थ्यो भन्छन् ।”

“हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ, यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनले हिसाब राख्नुपर्छ” मन्त्री महतले आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै भने, “धेरैजसो करदाता यो भ्याट नलाग्दिए हुन्थ्यो भन्छन् । तर, जो करको दायराभित्र पर्छन् उनीहरूलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला ।”

“आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुनेछ, अर्थतन्त्र चलायमान हुन थालेको छ । पर्यटन क्षेत्र पनि चलायमान हुँदै छ, यसले राजस्व बढाउन मद्दत गर्छ । तपाईँहरूले यो जिम्मेवारीलाई उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ” मन्त्री महतले भने ।

“देशमा जति पनि खर्च हुन्छ, त्यो खर्च जुटाउने काम अर्थ मन्त्रालयको हो । खर्च जुटाउने तीन वटा श्रोतहरू छन् । राजस्व महत्त्वपूर्ण आधार हो, यसलाई जति विस्तार गर्न सकियो, त्यत्ति बढी हामी आत्मनिर्भर हुन्छौ” उनले भने, “दोस्रो श्रोत आन्तरिक ऋण हो, यसको हामीले साउ ब्याजसहित तिर्नुपर्छ । तेस्रो श्रोत भनेको बहुराष्ट्रिय सङ्घसंस्था र देशहरूसँग लिइने ऋण र अनुदान हो । अनुदानको प्रतिशत थोरै छ, धेरै ऋण नै हुन्छ, त्यस कारण त्यो ऋण पनि फिर्ता गर्नुपर्छ । आन्तरिक र विदेशबाट प्राप्त ऋण हाम्रो आन्तरिक आम्दानीबाटै फिर्ता गर्नुपर्छ ।”

“ऋण लिँदै गर्‍यो, त्यसको साउ ब्याज तिर्दै गरेर हामीले चलाइरहेका छौँ । त्यसैले हामीले राजस्वको दायरा बढाउँदै लैजानु आवश्यक छ । बढाउने नाममा कागती निचोरेजस्तो गर्न मिल्दैन, मन्त्री महतले भने, “जति धेरै उत्पादन भयो, हामी सहज रूपमा कर उठाउन सक्छौँ । जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ । जति धेरै राजस्व उठ्यो, उति बढी विकास निर्माणमा बजेट विनियोजन गर्न सक्छौँ, त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ ।”

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको उदाहरण दिँदै उनले भने, “पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि हामीले ऋण लियौ, अहिले चलिरहेको छैन । साउ ब्याज तिर्न मुस्किल छ, लुम्बिनी एयरपोर्टको अवस्था पनि त्यस्तै छ । कतिपय आयोजनाबाट प्रतिफल आउन सकेको छैन । विकास निर्माणमा विनियोजित बजेटभन्दा बढी ऋणको साउ व्याज तिर्नुपर्ने अवस्था छ । ३ खर्ब ७ अर्ब हामीले साउ ब्याज तिर्नुपर्छ । हाम्रो पुँजीगत खर्च ३ खर्ब २ अर्ब मात्र छ । अब हामीले राजस्व बढाउनुपर्छ, यसमा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिवार भएको भेटघाट कार्यक्रममा मन्त्री महतले भने, “मध्यम खालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ । यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौँ ।”

कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा पोखराका साना र मझौला उद्योग वृद्धि हुने मन्त्री महतको भनाइ थियो । उनले भने, “पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरूले सकारात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ ।”

व्यवसायीहरूले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री महतले भने, “सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।”

“ट्राभल्समा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो । नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ । व्यवसायीहरूले ट्याक्स तिर्नुपर्ने होइन” उनले भने, “नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो । साप्टाको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन पाइँदैन । सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ । महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ ।”

१६ असार २०८०, शनिबार २१:०४ मा प्रकाशित
Nabintech