उमा कार्की
परिवर्तनको नाममा हाम्रै बुइ चढेर
हामी माथी नै शासन गर्न
तिमीलाई पटक्कै सुहाएन कमरेड
हामी हिजो पनि भोकै थियौँ
पाहुना लाग्न आएका तिमी
र तिम्रो जत्थालाई
हाम्रै गाँस कटाएर खुवाएकै हो
तिमीहरुले पेटभरी खाइरहँदा
भोकै निदाएकी मेरी छोरी
अहिले तिमीहरुलाई बुझ्ने भइसकेकी छे ।
तिमीले देखाएको सपना
तिमीले सिकाएको क्रान्ति भन्नु पनि
परिवारवाद र पदलोलुपता मात्रै रहेछ
हिजो हाम्रै भागखाएर
आज हामी माथि नै शासन गरेको
तिमीहरुलाई पटक्कै सुहाएन कमरेड
हामी हिजो पनि कटेरोमै थियौँ
बर्खे झरीमा रुझेर
कर्कलाको पात ओड्दै आइपुगेका
तिमी र तिम्रा साथीहरुलाई
न्यानो मायाले सत्कार गरेको कटेरो उस्तै छ
समयले तिमीहरुलाई महलमा पु¥यायो
हामी कटेरोमै रमाइरहेका छौँ
तिमीले छरेको क्रान्तिको रङ्ग
कालो थियो कि रातो ?
छुट्याउन सक्ने भएका छौँ
आलिशान महलको छतबाट
कटेराहरु भत्काउने उर्दी जारी गरेको
तिमीलाई पटक्कै सुहाएन कमरेड
रुपान्तरणको ललीपपमा लोभिएर
कति आमाहरुको काख रित्तो भयो
कति सन्तान टुहुरा भए ?
कतिको सिउँदो पखालियो ?
कतिको घरबार उजाडियो ?
कति छन् अपांग ?
कति छन् बेपत्ता ?
खोज्दै जाने हो भने अनगिन्ती छन
सवालहरु
तर जवाफ एउटै भेटिँदैन
हाम्रै रगतले लतपतिएको बाटो हुँदै
टाकुरामा पुगेपछि
हाम्रो बाटो फरक भयो भनेको
तिमीहरुलाई पटक्कै सुहाएन कमरेड
हो कमरेड
मनमा कुण्ठाको घडा
मस्तिष्कमा कलुषित सोच बोकेर
मुखले आर्दशको प्रवचन दिँदै हिँडेको
तिमीहरुलाई पटक्कै सुहाएन
अहँ सुहाउँदै सुहाएन कमरेड !