पोखरा , नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले पार्टीका भातृ संस्थाहरुलाई यथाशीघ्र पुर्णता दिने बताउनुभएको छ । पोखरामा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा पार्टी उपसभापति खड्काले यथाशीघ्र भातृ संस्थाहरुलाई पूर्णता दिई तदर्थ समिति बनाईने तर अब हुने प्रदेश र संघको निर्वाचन सकिएको तिन महिनाभित्र ति संस्थाको महाधिवेशन गरिसक्नुपर्ने भन्ने शर्त राखिने कुरा स्पष्ट पार्नुभयो ।
स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेस लोकप्रिय मतको आधारमा पनि र पदको आधारमा पनि मुलुकको पहिलो पार्टी बन्न सफल भएको बताउंदै वहांले अन्य पार्टी संगको गठबन्धनले पनि कांग्रेसलाई फाईदा पुगेको दावी गर्नुभयो । आसन्न संसदीय निर्वाचनमा पनि गठबन्धन हुन सक्ने संकेत गर्दै खड्काले भन्नुभयो “ अहिले कांग्रेसले गठबन्धन ठिक छैन, हामीले गर्नुहुन्न भनेर भन्नु जरुरी छैन , किनभने कम्युनिस्ट जोगाउने र एक बनाउने ठुला र बलशाली शक्तिहरु गठबन्धन टुटाउने पक्षमा सक्रियता पुर्वक लागेका छन ।”
खड्काले स्थानीय तहमा गठबन्धन गर्दा पोखरामा पनि कांग्रेसका धेरै नेताहरु अवसरबाट बन्चित हुनुपरेको चर्चा गर्दै पोखराको मेयर अर्को पार्टीलाई परेपछि उपमेयरमा महिलालाई नै अगाडी सारिएको तर नतिजा अनुकुल आउन नसक्नुको पछाड़ी सबैको कमजोरी रहेको स्पष्ट पार्नुभयो ।
वहांले कांग्रेस भित्र विगतमा हुने गरेको अन्तरघात आजकल आएर खुला घातमा परिणत भएको बताउंदै आफुले टिकट नपाए पार्टी र आधिकारिक उमेदवारलाई देखाईदिन्छु भन्ने प्रवृती हावी भैरहेको उल्लेख गर्नुभयो । यस पटकको स्थानीय तहको निर्वाचनमा ६०/६५ स्थानमा यस्तै खुला घातको शिकार आधिकारिक उमेदवार बन्न पुगेको वहांको भनाई थियो ।
अब हुने निर्वाचनमा नया अनुहारलाई अगाडी सार्नुपर्ने आवाज़ कार्यकर्ता तहबाट उठिरहेको प्रसंग उल्लेख गर्दै वहांले भन्नुभयो “ पार्टीको क्षेत्र जिल्ला समितिले बिधान पल्टाएर हेर्नुस र सोही अनुसार तिन जनाको निर्णय गर्नुस र केन्द्रमा सिफारिस गर्नुस , त्यसपछि केन्द्रले पनि त्यो बाहेक अर्को निर्णय गर्न सक्दैन “ । वहांले केन्द्रले राम्रो गर्न सकेन भनेर सुधार खोज्ने तल्लो तहले पनि बिधान अनुसार काम गर्नुपर्ने खांचो औल्याउनुभयो।
कोही रिसाउंछ भनेर धेरै जनाको नाम सिफ़ारिश गर्ने अनि केन्द्रले नया अनुहारलाई उमेदवार बनाएन भनेर चिन्ता गर्नु उपयुक्त नहुने वहांको भनाई थियो । केन्द्रीय वा अन्य समितिको तर्फबाट समयमै उमेदवार तय नगर्दा भएको कमजोरी स्विकार गर्दै पार्टी उपसभापति खड्काले भन्नुभयो “ अबको निर्वाचनमा विधानमा भनिए झै एक महिना अगाडी उमेदवार तय गरिने , अन्य आकांक्षी समेतलाई काठमाडौ बोलाएर सम्झाईने र सबैलाई एकजुट बनाएर चुनावमा सक्रिय हुने बातावरण तयार गरिने छ “
बाग्लुगं र पर्वतमा विभिन्न कार्यक्रममा सहभागी भएर कास्कीमा आउनुभएका खड्का आईतबार सांझ शहिद हरि प्रसाद गुरुड्को गाउं ल्वाड्ंग पुगेर बास बस्नुभएको थियो । सोही ठाउंको चर्चा गर्दै वहांले गाउंमा शहिद गुरुगंको शालिक निर्माण गर्न र त्यहा सम्म पुग्ने बाटो राम्रो बनाउन गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीलाई आफुले आग्रह गरेको जानकारी दिनुभयो ।
कार्यकर्ता भेटघाट कार्यक्रमको शुरुआतमा बोल्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले स्थानीय तहको चुनाव पछि जिल्लाको सबै तहका साथीहरु बिच चुनावी समिक्षा कार्यक्रम गर्ने र सभापति सहित सबै तहबाट भएगरेका कमजोरी सुधारेर अगाडी बढ्नुपर्ने खाँचों औल्याउनभयो । बरालले केही दिन काठमाडौ बसेर सबै तहका नेताहरु संग भेटघाट गरि पार्टीको अहिलेको मत संसदीय निर्वाचनमा पनि सुरक्षित राख्न भातृ संस्थाहरुको गठन लगायत विधानले व्यवस्था गरे बमोजिम पार्टीका सबै संरचनालाई पुर्णता दिन आग्रह गरेको बताउनुभयो ।
कार्यक्रमको संचालन कास्की कांग्रेसका सचिव भानु ढकालले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरु बराल , नेताहरु खेमराज पौडेल , यज्ञ बहादुर थापा , शोभियत बहादुर अधिकारी लगायत जिल्ला समिति , क्षेत्रीय समिति र पालिका स्तरबाट पनि नेता कार्यकर्ताहरु सहभागी बनेका थिए ।