पोखरा, गगन थापाले नेतृत्व गरेको नेपाली काँग्रेसको केन्द्रीय महाधिबेशन सम्पन्न भएपनि जिल्ला र प्रदेश अधिबेशन हुन बाँकी रहेको अबस्थामा कास्कीका कांग्रेस नेताहरु आसन्न जिल्ला र प्रदेश अधिबेशनबाट बिभिन्न जिम्मेवारीमा पुग्न दौड धुप शुरु गर्न थालेका छन । पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले जिल्ला र प्रदेश अधिबेशनको मिति तोक्ने अनुमान गरिएको थियो तर बैठकले अधिबेशनको मिति नतोकेपनि पुष महिनाको शुरुवातमा जिल्ला र त्यसलगत्तै प्रदेशको अधिबेशन हुने सम्भावनालाई आधार मानेर कांग्रेस नेताहरुको दौडधुप शुरु भएको छ। कतिपयले भने अब कांग्रेसको जिल्ला र प्रदेश अधिबेशनहरु स्थानीय र प्रदेश तहको निर्बाचन भन्दा पछाडी गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।
नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमितिको सभापति बन्नको लागि यसपटक पनि धेरैको चाहना देखिएको छ। अघिल्लो अधिबेशनमा जस्तो छुट्टाछुट्टै केन्द्रीय गुटको प्रभाव नदेखिएपनि आँफुलाई गगन थापाको निकट बताउंदै स्थानीयस्तरमा गुट र समुह बनाउने प्रयासमा सबैजसो आकांक्षीहरु देखिएका छन। अघिल्लो महाधिबेशनमा नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल,डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको साथै गगन थापाको नाममा बन्ने गरेको गुट यसपटक देखिने छैन। गगन थापा बाहेकका अन्य नेताहरु हाल अर्को समुहमा पुगेको वा केहि निष्क्रिय जस्तै बनेकोले यस पटक कास्कीमा गगन थापालाई नै नेता मान्नेहरुको बिचमा स्थानीय गुट निर्माण हुने पक्का छ।
यस पटक कास्कीको नेतृत्व लिनका लागि दिनेश आचार्य देखि राजेन्द्रमणी लामिछाने, सुदिपमोहन भट्टराई, बिरेन्द्र नारायण बिजुक्छे, माधव प्रसाद बाँस्तोला, युबराज कुँवर र मनोज गुरुङ र दिपक गुरुङको नामलाई लिएर चर्चा हुने थालेको छ। कांग्रेसका आम कार्यकर्ताहरुमा पार्टीलाई नयाँ विचार र उर्जा दिने अनि प्रतिपक्षीहरुसंग राजनीतिक रुपमा एबम बैचारिक रुपमा प्रतिष्पर्धा गर्ने किसिमको पात्रको अभाव रहेको महशुश पनि हुन थालेको छ। तर कास्कीलाई नै राजनीतिक रुपमा कर्मस्थल बनाएका उल्लिखित आकांक्षीहरु मध्येबाट नै कांग्रेसको जिल्ला नेतृत्व स्वीकार्नुपर्ने अबस्था नकार्न सकिन्न।
यसपटक जिल्ला सभापतिको आकांक्षा राख्नेहरुमध्ये क्षेत्रगत रुपमा हेर्ने हो भने कास्की -१ बाट सुदिप मोहन भट्टराई, राजेन्द्रमणी लामिछाने र दिपक गुरुङ, कास्की -२ बाट माधव प्रसाद बाँस्तोला मधु, बिरेन्द्रनारायण बिजुक्छे र दिनेश आचार्य तथा कास्की -३ बाट युवराज कुँवर र मनोज गुरुङको चर्चा हुन थालेको छ। तर, सभापतिको उमेदवार बन्न पार्टीको महाधिबेशन प्रतिनिधि बनेको हुनुपर्ने प्राबधान रहेको कारण जिल्लाको ३ वटा क्षेत्रबाट महाधिबेशन प्रतिनिधि निर्बाचित अन्यले पनि सभापतिमा पदमा प्रतिष्पर्धा गर्न सक्नेछन।
कास्कीको क्षेत्र न. २ अन्तर्गत पोखरा -३३ घर भएका आचार्य नेविसंघको राजनीतिमा क्रियाशील हुँदै वडा र प्रदेश सभा निर्बाचन क्षेत्रको सभापतिको जिम्मेवारी सम्हालिसकेका युवा हुन। उनले कास्की क्षेत्र न.२ को सभापति बन्ने चाहना राखेकोमा गुटगत राजनीतिको कारण उनले उक्त पदमा प्रतिष्पर्धा नगरी महाधिबेशन प्रतिनिधि बनेर जिल्ला सभापतिको दौडमा लागेका छन। अहिले अधिकांशको चाहना पार्टी नेतृत्वमा युवालाई स्थापित गर्ने भन्ने कुरा बुझेर आचार्यले सभापति पदको आकांक्षा राखेको हुन। उनि कानुन ब्यबसायको साथै प्राध्यापन पेशामा समेत संलग्न छन।
कास्की क्षेत्र न. २ अन्तर्गत पोखरा -८ घर भएका बिरेन्द्र नारायण बिजुक्छे लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन। पोखरा महानगरपालिका – ८ को पुर्व वडाध्यक्ष एबम कास्की क्षेत्र न. २ को सभापतिको रुपमा काम गरिसकेका बिजुक्छेले पटक पटक प्रदेश र प्रतिनिधि सभा सदस्य लगायत बिभिन्न पदमा चुनाब लड्ने चाहना राख्दै आएको भएपनी उनले उमेदवार बन्ने अवसर पाउन सकेनन। यसपटक उनि पार्टीको जिल्ला सभापतिको दौडमा सक्रियता पूर्वका लागेका छन। पोखराको नेवार समुदायबाट कांग्रेसको सक्रिय राजनीतिमा कायम रहेका सिमित नेताहरुमध्ये बिजुक्छे पनि एक हुन।
कास्की क्षेत्र न. २ बाट नै सभापतिको आकांक्षी बनेका माधवप्रसाद बाँस्तोला पनि निरन्तर राज्नितिमा क्रियाशील छन। पोखरा -११ को वडाध्यक्ष रहेर काम गरिसकेका बाँस्तोला कांग्रेसको १२ औं महाधिबेशन सकेर काठमाडौँबाट पोखरा फर्किने समयमा गम्भीर दुर्घटनामा परेका थिए। उनिसंगै निजि गाडीमा यात्रा गरेका चारजना कांग्रेस नेताहरु कृष्णप्रसाद पराजुली, तेजप्रसाद गौतम, जोगेन्द्र बाटाजु र युवराज पहारीको सोही दुर्घटनामा परेर ज्यान गएको थियो। गम्भीर घाइते भएका बाँस्तोला र पोखर -१९ का मदनबहादुर केसी भने लामो स्वास्थ्य उपचारपछि सामान्य बनेर कांग्रेसको राजनीतिमा फर्किएका हुन। बाँस्तोलाले कास्की क्षेत्र न. २ को क्षेत्रिय सभापतिको रुपमा लामो समय काम गरेका थिए। हाल पार्टीको गण्डकी प्रदेश समितिको सदस्य रहेका बाँस्तोला अघिल्लो प्रतिनिधिसभाको निर्बाचनमा कास्की -२ मा उमेदवार बनेको भएपनी रास्वपाका उमेदवार उत्तमप्रसाद पौडेलसंग फराकिलो मतान्तरमा पराजित बनेका थिए।
कास्की -३ बाट उमेदवार बन्ने चर्चामा रहेका युवराज कुँवर हाल जिल्ला कार्यसमितिको उपसभापति हुन। कास्कीको अन्नपुर्ण गाउँपालिका घर भएका कुँवरले यस अगाडी पार्टीको जिल्ला समितिको सचिब समेत रहेर काम गरिसकेका छन। एक कार्यकाल कास्कीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष निर्बाचित भएर काम गरेका उनले अघिल्लो स्थानीय तहको निर्बाचनमा समेत सोही पदमा उमेदवार बनेका थिए। तर उनि पराजित बन्न पुगेका थिए। जिल्ला समितिमा रहेर लामो समय काम गरेका उनि यसपटक उपसभापति रहेकोले सभापति पदमा आंफ्नो स्वाभाविक दाबी रहेको भन्दै उमेदवार बन्नेहरुको सूचीमा छन। कुँवरलाई पार्टीको बिगतमा नेता कृष्णप्रसाद सिटौलासंग जोड्ने गरिएकोमा पछिल्लो समय पनि गगन समूहमा नै सक्रिय रहेको बताइन्छ।
कास्की -३ बाट सभापतिको चाहन गरेका अर्का हुन्, कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका मनोज गुरुङ। बिगतमा आँफुलाई देउवा समुहको भनेर स्थापित गरेका गुरुङले यसपटक बिशेष महाधिबेशनबाट गगन थापा सभापति बनेपछि कास्की -३ को प्रतिनिधि सभाको सदस्यको उमेदवार बन्ने अवसर पाएपछि गगन थापाको समुहमा जोडिएका हुन। रास्वपाकी उमेदवार बिना गुरुङबाट प्रतिनिधि सभा सदस्यमा पराजित गुरुङले यस अगाडी कास्की क्षेत्र न. ३ को सभापति र नेपाल तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन। उनिसंग निकट रहेका पुराना तथा देउवा समुहका अधिकांश नेताहरु नियमित १५ औं महाधिबेशनको पक्षमा अर्थात देउवा समुहमा जोडिएको कारण गुरुङले गगनको समुहमा जोडिएका अन्य क्षेत्रका कांग्रेसजनसंग सम्बन्ध जोड्ने प्रयासमा देखिन्छन।
कास्की क्षेत्र न. १ बाट सभापतिको चर्चामा रहेका अर्का युवा हुन, पोखरा -२६ घर भएका सुदिपमोहन भट्टराई। पार्टीको १४ औं महाधिबेशनमा पनि सभापति पदमा प्रतिष्पर्धा गरेका भट्टराई दोश्रो चरणको मतदानमा अर्का प्रत्याशी किशोरदत्त बरालसंग पराजित हुन पुगेका थिए। अघिल्लो पटक उनलाई सोही क्षेत्रका कृष्ण केसी लगायतले अन्तिम अवस्थामा असहयोग गरेको कारण पराजित हुनुपरेकोमा यस पटक उनीहरु एकअर्कासंग नजिक रहेको बताउने गरेका छन। नेविसंघको राजनीतिबाट आएका भट्टराईले आँफुलाई डा. शेखर कोइराला समूहसंग निकट रहेको बताउने गरेको भएपानी यसपटक कोइराला समेत गगन नेतृत्वको काँग्रेस भन्दा बाहिर रहेको अबस्था छ। भट्टराईले यस अगाडी सम्पन्न पार्टीको १३ औं महाधिबेशनमा जिल्लाको सचिब पदमा निर्बाचित भएर काम गर्ने अवसर पाएका थिए।
यसैगरी कास्की कांग्रेसको सभापति बन्ने चाहना राखेका अर्का आकांक्षी पोखरा -२७ घर भएका राजेन्द्रमणी लामिछाने हुन लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन । उनले पार्टीको तत्कालिन लेखनाथ नगर समितिको सभापति र कास्की क्षेत्र न. १ को क्षेत्रिय सभापति समेत बनेर काम गरिसकेका छन। कहिले तत्कालिन लेखनाथको मेयरको लागि त कहिले अन्य जिम्मेवारीको लागि प्रयास गरेको भएपनि उनले चुनाब लड्ने अवसर भने पाउन सकेनन। यस पटक जिल्ला सभापतिको दौडमा लागिरहेका उनले आंफ्नो भूगोलका र नाता सम्बन्ध कायम रहेका नेता सहित अन्य साथीभाईको सहयोगको अपेक्षा गरिरहेका छन।
यसैगरी अर्का आकांक्षी हुन्, कास्की -१ को पोखरा -१३ घर भएका दिपक गुरुङ ‘माइला’ । पोखरामा गगन थापाको निकट भनेर चिनिने गुरुङले यस अघिको निर्बाचनमा सोही क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्यको उमेदवार बन्ने अवसर पाएका थिए। उनलाई गगन थापाकै कारण उमेदवार बन्ने अवसर मिलेको चर्चा त्यसबेला चलेको थियो तर कांग्रेसको आन्तरिक राजनीतिको शिकार बनेर चुनाब हार्नुपरेको भन्दै उनि र प्रतिनिधि सभाको उमेदवार बनेका कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले केहि कांग्रेस नेतालाई कारबाही गर्नुपर्ने भन्दि केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए । गगन थापाको पोखरा भ्रमणको बेला गुरुङ नै थापाको समन्वयमा खटेको देखिन्छन।
अघिल्लो पटक अर्थात १४ औं महाधिबेशनमा पार्टीको कास्की जिल्ला सभापति पदमा प्रतिष्पर्धा गरेकाहरुमध्ये यसपटक प्रतिष्पर्धा गर्ने सुदिप मोहन एक्ला उमेदवार बन्ने सम्भवना देखिएको छ। जसका कारण उनले सहानुभुतीको मत समेत पाउने अपेक्षा राखेका छन। अघिल्लो पटकका प्रत्याशी मध्ये कास्की कांग्रेसको सभापतिमा बिजयी किशोरदत्त बरालले आगामी दिनमा सक्रिय राजनीति नगर्ने संकेत गरेका छन भने आइबहादुर गुरुङ स्वतन्त्र कांग्रेस बनेर बसेका छन। उनले यसपटक महाधिबेशन प्रतिनिधि बन्ने चाहना समेत राखेनन यसैगरी अर्का प्रत्याशी गिरिराज गौतम पनि यसपटक सभापतिको उमेदवार बन्ने मुडमा देखिएका छैनन। अर्का प्रत्याशी पोषनाथ शर्मा भने गगन नेतृत्वको कांग्रेस छोडेर देउवा कांग्रेसमा पुगेका छन।
यसपटकको अधिबेशनमा उक्त पार्टीभित्रको राजनीतिमा केहि प्रभाव भएका नेताहरु शुक्रराज शर्मा, कृष्ण केसीहरुको समर्थन कसलाई होला भन्दै बिभिन्न किसिमले अड्कल र अनुमान शुरु भएको छ। शर्मा र केसी एकैठाउँमा रहेमा त्यो शक्ति केहि बलियो बन्ने अपेक्षा गरिएको भएपानी उनीहरु एकैठाउँमा रहने सम्भावना समेत कम रहेको बताइन्छ। यसबाहेक नेताले चाहेको उमेदवारको सट्टा कार्यकर्ताको चाहना अर्को तिर देखिने अबस्था समेत त्यत्तिकै छ तसर्थ अहिले नै कुन उमेदवार बलियो वा यसले नै जित्नसक्ला भनेर अनुमान गर्न कठिन छ। तर, पहिलो चरणको मतदान सकिएर दुई जनाको बिचमा मतदान हुने बेला भने जिल्लाका नेता देखि अन्य समीकरणलाई आधार मानेर चुनाबको नतिजा अनुमान गर्न सहज हुने देखिन्छ।














