काठमाडौँ, यूएनएफपीए नेपाल र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच कर्णाली प्रदेशको जाजरकोटका साथै मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १ सय ९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को बढ्दो जोखिममा रहेका समुदायहरूमा आपतकालीन समयमा पनि जीवनरक्षक स्वास्थ्य स्वयमसेविकाहरूको निरन्तरता सुनिश्चित गर्नेछ।
स्वास्थ्य स्वयमसेविकालाइ दिईने प्यानासोनिक सोलार लालटिनहरूले छानिएका स्वास्थ्य संस्थाहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई बिना अवरोध सञ्चालन गर्न सहयोग पुर्याउनेछन्, जसबाट वार्षिक रूपमा करिब ५० हजार महिला र नवजात शिशुहरू लाभान्वित हुने अनुमान गरिएको छ ।
सन् २०२२ देखि प्यानासोनिकले अफ्रिका र एसियाका विद्युतको पहुँच नभएका समुदायहरूमा सोलार लालटिन वितरण गर्न यूएनएफपीएसँग साझेदारी गर्दै आएको छ। सन् २०१३ मा सुरु भएको प्यानासोनिकको “लाइट अप द फ्युचर” पहलको उद्देश्य बिजुलीको अभावले दैनिक जीवनमा ठूला बाधाहरू सिर्जना गरेका क्षेत्रहरूमा उज्यालो पुर्याउनु हो।
गैरसरकारी संस्था, गैरनाफामूलक संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू सहित करिब १६० साझेदारहरूसँगको सहकार्यमा प्यानासोनिकले हालसम्म ३६ देशहरूमा करिब १ लाख ३० हजार सोलार लालटिनहरू वितरण गरिसकेको छ।
यूएनएफपीए नेपालका संचार विश्लेषक अदिति अर्यालका अनुसार काठमाडौँ र टोकियोका प्रतिनिधिहरूलाई जोड्दै उक्त हस्ताक्षर समारोह अनलाइन माध्यमबाट सम्पन्न भएको थियो। यो पहल जापान सरकारको आर्थिक सहयोग र यूएनएफपीएद्वारा सञ्चालित “नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार” परियोजनाको परिपूरकका रूपमा रहेको छ।
यस परियोजनाले पहिरोदेखि अत्यधिक चिसो जस्ता चरम मौसमी घटनाहरूको उच्च जोखिममा रहेका गर्भवती महिला र नवजात शिशुहरूलाई सेवा दिने स्वास्थ्य संस्थाहरूमा रहेका गम्भीर अभावहरूलाई सम्बोधन गर्ने भएको छ ।
समारोहमा बोल्दै यूएनएफपीए नेपालका प्रतिनिधि श्री श्रीराम हरिदासले समय सान्दर्भिक सहयोगका लागि प्यानासोनिकप्रति आभार व्यक्त गर्दै
दुर्गम र विपद्को जोखिममा रहेका समुदायहरूमा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता प्रायः सरल तर भरपर्दो उपायहरूमा निर्भर रहने बताए।
‘यी सोलार लालटिनहरूले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई बिजुली अवरुद्ध भएको अवस्था र आपतकालीन समयमा पनि सुरक्षित मातृ तथा नवजात शिशु हेरचाह सेवा प्रदान गर्न मद्दत गर्नेछन्। यो साझेदारीले सहकार्यको शक्तिलाई झल्काउँछ, र नेपालका महिला तथा परिवारहरूका लागि थप उत्थानशील स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग गरेकोमा हामी प्यानासोनिकप्रति कृतज्ञ छौँ।’ उनले भने
प्यानासोनिकको तर्फबाट संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले वैश्विक संस्थागत नागरिकताप्रति कम्पनीको प्रतिबद्धतामाथि पार्दै ‘लाइट अफ द फ्युचर’ पहल मार्फत प्यानासोनिक विश्वभरका विद्युतको पहुँच नभएका समुदायहरूमा दिगो विकासको प्रवर्द्धन गर्न तथा शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरहरू विस्तार गर्न समर्पित रहेको जानकारी गराए ।
‘यूएनएफपीएसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन पाउँदा हामीलाई गर्व लागेको छ। नेपालका यी अग्रपंक्तिका स्वास्थ्य संस्थाहरूमा स्वच्छ र भरपर्दो उज्यालो पुर्याएर, हामी स्थानीय समुदायहरूलाई सशक्त बनाउन र जलवायु परिवर्तनका बढ्दो चुनौतीहरू विरुद्ध स्थायी उत्थानशीलता निर्माण गर्न चाहन्छौँ’ उनको भनाई थियो
स्वास्थ्य संस्थाहरू भित्रको उज्यालोमा सुधार गर्नुका साथै यिनीहरूले रात्रिकालीन स्वास्थ्य प्रेषण र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू द्वारा गरिने गृहभेट कार्यमा पनि सहयोग पुर्याउनेछन्। यो सहयोग एक बृहत्तर पहलमा आधारित छ, जस अन्तर्गत हालसम्म २० वटा स्वास्थ्य संस्थाहरूको सफलतापूर्वक मूल्याङ्कन गरिएको छ, जलवायु उत्थानशीलता सुधार गर्न १० वटा स्वास्थ्य संस्थाहरूको जीर्णोद्धार गरिएको छ र नौ वटा जलवायु-अनुकूलन अनुकूल पालिका योजनाहरूको निर्माणमा सहयोग गरिएको छ।
नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार परियोजना जापान सरकारद्वारा वित्तीय सहयोग प्राप्त र यूएनएफपीए नेपालद्वारा जाजरकोट र रौतहट जिल्लाहरूमा कार्यान्वयन गरिएको परियोजना हो। यूएनएफपीए संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी हो, जसले प्रत्येक गर्भावस्था अपेक्षित होस्, प्रत्येक जन्म सुरक्षित होस् र प्रत्येक युवाको सम्भाव्यता पूरा होस् भन्ने सुनिश्चित गर्न काम गर्दछ।
















