पोखरा, लागुऔषध दुर्व्यसन नियन्त्रण गर्नुपर्ने आबश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरी सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले लागुऔषधको जालो तोड्न र युवा पुस्तालाई दुर्व्यसनबाट बचाउन समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा पोखरा महानगरपालिका–१३ वडा कार्यालयको समन्वयमा नेपाल मुस्लिम युवा समिति कास्की, वडा प्रहरी कार्यालय रामबजार, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा कार्यक्रम गरिएको थियो ।
मुस्लिम समुदाय युवा क्लब पोखरा–१३ का अध्यक्ष अबासअलि मियाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१३ का वडा अध्यक्ष किरण बराल र वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद कँडेलले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै लागुऔषधमुक्त समाज निर्माण सम्भव हुनेमा जोड दिए । कार्यक्रममा नेपाल मुस्लिम युवा समिति कास्कीका संस्थापक अध्यक्ष हाजीअब्दुल रहिम, समाजसेवी जमिल अहमदले बोलेका थिए ।
यसैबीच, मियाँपाटन क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी र सीआरभी भद्रकालीको संयुक्त आयोजनामा मियाँपाटन क्षेत्रमा टोलस्तरमै पुगेर लघु सचेतनामुलक अभियान समेत सञ्चालन गरिएको छ । विगत केही समयदेखि पोखराका विभिन्न वडामा प्रशासन र प्रहरीले स्थानीय युवा क्लब र आमा समूहहरूसँग मिलेर लागुऔषध विरुद्धको यो विशेष अभियानलाई निरन्तरता दिँदै आएका छन् ।
















