Play

संसद्को पहिलो बैठक : बिपक्षी दलका सांसदहरुद्वारा सरकारको कार्यशैलीको आलोचना

गुरुकुल खबर


काठमाडौँ, प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठक सोमबार देखि शुरु भएको छ। बैठकको शुरुवातमा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको कार्यशैलीको आलोचना गर्नुको साथै सरकारको कार्यशैलीप्रति बिभिन्न प्रश्न उठाएर विरोध जनाएका छन । उनीहरूले सरकारले ल्याएको अध्यादेश र अव्यवस्थित–सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यप्रति असन्तुष्टि जनाए ।

बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने गरी प्रतिनिधिसभा नियमावली मस्यौदा अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाए ।  उनले अख्तियार र भ्रष्टाचार निवारण ऐनसँग बाझिने गरी नियमावलीको विवादित प्रावधान हटाउन माग गरे । सांसद राईले दुई तिहाइ नजिकको शक्तिशाली सरकारले अध्यादेश ल्याएर संसदलाई नै कमजोर बनाउन खोजिएको बताए । उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उल्लेख प्रावधानप्रति समेत आपत्ति जनाए ।

बैठकमा नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले रास्वपा नेतृत्वको सरकारको नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास हो ?  भन्दै प्रश्न गरिन् । उनले संसद आह्वान भइसकेपछि अध्यादेश ल्याउन बैठक स्थगित गर्ने र आफूमाथि उठ्ने प्रश्नबाट सरकार भाग्न खोजेको बताइन् । उनले प्रधानन्यायाधीश सिफारिसमा सरकारले न्यायपालिकाको घाटी निमोठ्ने काम गरेको धारणा राखिन् । सांसद अर्यालले राजनीतिक आस्थालाई बन्देज गर्नेगरि विद्यार्थी र कर्मचारीको अधिकार हनन गर्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको बताइन् ।

त्यस्तै बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए । उनले अध्यादेश ल्याएर संवैधानिक परिषद्लाई बहुमतको खेलमा अल्झाएर सहमतिको औचित्यलाई खिल्ली उठाएको धारणा राखे । सांसद दुलालले डोजर आतङ्क देखाएर सरकारले नागरिकलाई नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप समेत लगाए ।

सुकुम्बासी बस्ति हटाउन सेना पठाउने सरकारले लिपुलेकको बारेमा किन चुप ? – हर्क

यसैगरी श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप छ भन्दै प्रश्न गरे । सांसद राईले सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन भन्ने प्रश्न समेत गरे ।  ‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कुटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?,’ साम्पाङले प्रश्न गरे ।

सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैकलाउनुको कारण के हो ? भनेर उनले जवाफ मागे । सरकार असफल भइसकेको पनि आफूहरूको बुझाइ रहेको उनले बताए । नागरिकको आवासको हक सरकारले नै उल्लंघन गरेको उनले बताए । संसद छलेर अध्यादेश ल्याउने प्रवृतिको पनि उनले विरोध गरे । ‘यो सरकारलाई लोकतन्त्रको याद दिलाउनुपर्ने भयो ।’ उनले भने, ‘नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ । यसकारण संसद् छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो । यो सरकारले विधि र थिति बसाउन किन सकेन ? सरकार आफैं लोकतन्त्रलाई कमजोर बनाउने दिशामा गयो ?’

संवैधानिक परिषद्का ६ जनामध्ये ३ जना कसरी बहुमत भयो ? भन्ने पनि उनको प्रश्न छ । बजेट बनाउँदा प्रतिपक्ष दलसँग सल्लाह गर्न पनि उनले आग्रह गरे। १०० रुपैयाँमा समेत भन्सार माग्ने सरकारले चोरी पैठारी भने रोक्न नसकेको उनले आरोप लगाए ।

प्रतिनिधिसभा सरकारको कठपुतली हैन -ओली 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद खुश्वु ओलीले सुकुम्बासीलाई उचित व्यवस्थित नगरी घर टहरा सरकारले भत्काएकोमा विरोध जनाइन् ।  मृत्युमा पनि वर्ग हुने रहेछ भन्दै उनले सुकुम्बासीको उद्धार गरिएको भन्ने शब्दमा समेत विरोध जनाइन् ।

राप्रपाकी प्रमुख सचेतक ओलीले संविधानको धारा ११४ ले कस्तो अवस्थामा अध्यादेश ल्याउन सकिने भनेर प्रष्ट भनेको तर, सरकारले त्यसको मर्म ख्याल नगरी धमाधम अध्यादेश ल्याएको आरोप लगाइन । उनले भनिन, ‘प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौं प्रतिनिधिसभालाई छायामा पारेको हो कि भन्ने भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।’

२८ बैशाख २०८३, सोमबार १६:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा