पोखरा, पोखरा महानगरपालिकाले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा निरन्तर श्रममा आबद्ध श्रमिकहरू, स्वरोजगार उद्यमीहरू र सीपमूलक
तालिम पश्चात् रोजगारीमा आबद्ध विभिन्न १२ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । महानगरपालिकाले स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र
शर्मालाई र रोजगारतर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जुु लामिछानेलाई सम्मान गरेको व्यवसाय प्रबर्द्दन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
कार्यकम्रमा मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुुप्रसाद पौडेल र बालकुमार खवास सम्मानित भएका छन । सम्मानित मध्ये छजना विभिन्न क्षेत्रमा १० वर्ष भन्दा बढी एउटै व्यावसायिक प्रतिष्ठानमा निरन्तर काम गरेका कर्मचारी र मजदुर तथा अन्य छ जनामध्ये तीनजना
महानगरले तालिम दिएर जागिरमा जोडिएका र तीन जना तालिमपछि स्वरोजगार भएर अरुलाई पनि रोजगार दिनेहरु रहेका छन ।
उनीहरुलाई जनही पाँच हजार एक सय रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो। उक्त अवसरमा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगत व्यवसाय प्रबर्द्दन केन्द्रमार्फत विभिन्न प्रकारको सीपमूलक तालिम प्राप्त गरेका दुईसय जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सम्मान गरिने व्यक्ति छनौटका लागि आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको संयोजकत्वमा गोकर्र्ण कार्की, जानुका पराजुली, रुद्र खत्री, मुरारी
शर्मा, रुद्र गौतम, विष्णु दाहाल र नबराज अधिकारी सदस्य रहेको छनौट समिति गठन गरिएको थियो ।
सम्मान कार्यक्रमममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यक्तिलाई व्यवहारिक ज्ञान र दक्षता अभिवृद्धि गर्दै रोजगारीका अवसरहरू बढाउन तालिमहरूको ठूलो महत्व हुने बताउँदै यसले बेरोजगारी घटाउन, आत्मनिर्भर बन्न र आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुर्याउने बताए । तालिम मार्फत बजारको माग अनुसार सीप विकास हुने भएकाले शीघ्र रोजगारीमा प्रवेश गर्न व्यक्तिलाई सक्षमता प्राप्त हुने उनको भनाई थियो।
पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बजारको माग अनुसार दक्ष जनशक्ति तयार गर्नु आजको प्रमुख चुनौती भएको
बताउँदै यस्ता प्रकारका सीपमूलक कार्यक्रमहरू प्रभावकारी हुने जानकारी दिए ।
आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न व्यवसायिक प्रतिष्ठान तथा तालिम केन्द्रहरूसँगको साझेदारीमा व्यवसाय प्रबर्द्दन केन्द्र मार्फत नगरवासीहरूलाई आर्य आर्जन तथा जीविकोपार्जनका गतिविधिहरूमा सहभागी बनाउने प्रयास भैरहेको बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी बास्तोला, मन्टेश्वरी एशोसिएसन कास्कीका
अध्यक्ष रिता पौडेल, मजदुरका तर्फबाट केशवराज भट्टराई र रोजगारतर्फबाट मञ्जु लामिछाने र स्वरोजगारतर्फ चन्द्र शर्माले महानगरले संचालन गरेका तालिमको औचित्य बारेमा चर्चा गरेका थिए ।














