पोखरा, महिलाहरुद्धारा सञ्चालित गणेश योग साधना केन्द्र, पोखरा–४ गणेश टोलको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ । मङ्गलवार योग केन्द्रमा आयोजित एक कार्यक्रमका बिच पतञ्जलि योग समिति कास्की अन्तरगत उक्त केन्द्रको नवौँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्वास्थ्यका लागि योग साधना आवश्यक रहेकोले सबै वडावासीहरूलाई जोड्दै जानुपर्ने बताए । योग केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सामाग्रीहरू सहयोग गर्न वडा कार्यालय प्रतिबद्ध रहेको पराजुलीले बताए ।
महिलाहरूको आर्थिक सशक्तीकरण तथा सीप विकासका लागि वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै वडाध्यक्ष पराजुलीले वडाका कार्यक्रमहरूमा सहभागी बन्न समेत आग्रह गरे ।
कार्यक्रममा पतञ्जलि योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दीपक सिग्देल, महामन्त्री विश्वमणि तिवारी, महानगर प्रभारी शेषकान्त ढकाल, कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोला, भीमसेन योग केन्द्रकी अध्यक्ष मैया बाटाजु र गणेश गुठीका सचिव जय मुल्मी लगायतले योग साधना मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको बताए ।
पतञ्जलि महिला महानगर समितिकी महिला प्रभारी एवं गणेश योग केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु वन्दना पालिखेले स्वागत एवं सचिव कमला श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिईन । कार्यक्रममा नृत्य एवं भजन सहित विभिन्न मनोरञ्जनात्मक प्रस्तुती गरिएको थियो । योग केन्द्रले विगतमा धेरै सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहायता समेत गरेको जनाएको छ ।
३ चैत्र २०८२, मंगलवार २०:०० मा प्रकाशित














