पोखरा, गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको गाडी दुर्घटनामा परेर ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। सहिद लखन थापा गाउँपालिका- ३ कनटारमा भएको दुर्घटनामा अन्य ८ जना घाइते भएको बताइएको छ ।
घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो । उद्धार गरिएका ८ जनामध्ये ७ जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
उक्त दुर्घटना शनिबार बेलुका करिब ८ बजे भएको हो । दुर्घटनामा परेको ईभी गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको उद्वार टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ‘बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ, बाटो निकै ठाडो र अप्ठ्यारो छ,’ वडाध्यक्ष पाण्डेले भने, ‘त्यसमाथि पानी पनि परिरहेको छ, ब्रेक नलागेर गाडी खसेजस्तो लाग्छ ।’ नियमित रुट बाहिरको गाडी भएका कारण चालकलाई बाटोबारे राम्रो ज्ञान नहुँदा पनि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।















