पोखरा, गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो ।
उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्न सफल भयो भने फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो ।

यसैगरी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे ।
सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे ।
पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।















