पोखरा, राष्ट्रियसभामा रिक्त रहेका १८ जना सदस्य अर्थात सांसद पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन अन्तर्गत आज विभिन्न दलका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यको लागि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।
राष्ट्रियसभामा रिक्त हुने कूल १८ जना सदस्यका लागि हुन लागेको निर्बाचन अन्तर्गत आज बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्बाचन आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।निर्बाचन आयोगले यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतले तालमेलको आधारमा उमेदवारी दर्ता गर्ने सहमति भएपनि कुन क्लस्टरमा कसलाई उमेदवार बनाउने भन्ने टुंगो लाग्न अझै बाँकि रहेकोले अझै सम्म उमेदवारको नाम सार्बजनिक हुन् सकेको छैन ।














